छलफल त भयो, तर धुवाँ जस्तै..
न देखिने, न समातिने!
के यो राज्य साँच्चै सत्ताधारीहरूको मात्रै हो?
शिक्षा मन्त्रीका वाक्यहरू
मन्त्रीपरिषद् भित्रै हराए,
र हामी, चक र मार्कर बोकेर
गणितको सूत्र होइन,
अब न्यायको समीकरण लेख्न बसेका छौं।
हाम्रा हातहरूमा शान्तिको झण्डा छ,
ढुंगा होइन,
मन्त्रीहरूको अनुहारमा
दायित्व छैन,
अहंकारको चस्मा लाएर हेर्छन्
हाम्रो आन्दोलन।
शिक्षकको स्वर
अब पठनपाठनको ताल होइन,
यो शैक्षिक लडाइँ हो।
माइक खोसिएको छ,
तर आवाज थामिएको छैन।
आन्दोलनमा छौं,
किनभने हामी सपना बेच्दैनौं।
हामी राष्ट्रको भविष्य घुसपैठमा बेच्दैनौं।
तर हामीलाई थिच्ने
प्रत्येक कूटनीति,
प्रत्येक विलम्ब,
प्रत्येक अवज्ञा….
हामीभित्र बिध्वंशको बीउ रोप्छ।
हामी उठेका छौं..
न्यायको खातीर,
र यसपटक हामी
फर्किने छैनौं।
हामी माग्दछौं..
पेसाको इज्जत नगदमा होइन,
नीतिमा पाइयोस्।
सत्ता घटकहरू,तपाईंको हस्ताक्षर
राष्ट्रिय अनुशासन बनोस्।
फगत रद्दीको टोकरिमा मिल्काउने कागजको खोस्टो नबनोस्!
त्यसको गरिमामा आच आउन नदिनु,
यो शिक्षकको तिमीलाई सुझाव छ।
शिक्षा ऐन,
कागजको दस्तावेज होइन,
हाम्रो भविष्यको मन्त्र हो।
हाम्रो भन्दा अझ बढी देशको भविस्य हो!
त्यो तयार नहुँदासम्म,
हामी सुत्दैनौं, हामी थाक्दैनौं।
हामी शिक्षक हौं,
हामी निर्माण हौं,
बिध्वंश हामी मच्चाउनौं !!
तर सम्झनुहोस्…
बिध्वंश सधैँ ध्वंस मात्र होइन,
कहिलेकाहीँ त्यो
पुण:निर्माण पनि हुन्छ ।