क्लबले विगत १७ वर्षदेखि जुम्लामा खेलकूद विकास, सामाजिक उत्थान र बालबालिकाको हितमा काम गर्दै आएको छ। क्लबका संरक्षक तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त ओलम्पियन र गिनिज बुक अफ वल्र्ड रेकर्ड धारक हरि बहादुर रोकायको नेतृत्वमा यो प्रतियोगिता नयाँ उचाइमा पुग्नेछ।
कर्णाली खेलकुद क्लब जुम्लाले आगामी बैशाख २७ गते छैटौँ संस्करणको जुम्ला रारा अल्ट्रा म्याराथन दौडको आयोजनाको घोषणा गरेको छ। यो प्रतियोगिता जुम्ला रारा क्षेत्रको साहसिक खेलकूद र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। क्लबले विगत १७ वर्षदेखि जुम्लामा खेलकूद विकास, सामाजिक उत्थान र बालबालिकाको हितमा काम गर्दै आएको छ। क्लबका संरक्षक तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त ओलम्पियन र गिनिज बुक अफ वल्र्ड रेकर्ड धारक हरि बहादुर रोकायको नेतृत्वमा यो प्रतियोगिता नयाँ उचाइमा पुग्नेछ।
यो वर्षको अल्ट्रा म्याराथनमा केही परिवर्तनहरू गरिएको क्लबका अध्यक्ष सरोज शाहीले बताए। उनका अनुसार दूरी ५१ किलोमिटर तोकिएको छ, जुन अघिल्ला संस्करणहरूमा ४९ किलोमिटर थियो। दौडको रुट पनि परिवर्तन गरिएको छ, जसमा खालीदेखि न्याउरीघाटसम्मको नयाँ पदमार्ग निर्माण भइरहेको छ।
“यो परिवर्तनले दौडका साथै जुम्लादेखि रारासम्मको पदयात्रा प्रवद्र्धनमा समेत योगदान पुर्याउने क्लबले विश्वास लिएको छ। यस परियोजनाका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र डिभिजन वन कार्यालय जुम्लाबाट बजेट व्यवस्थापन भएको छ,” उनले भने, “नयाँ रुट माथिल्लो मिलीचौरदेखि राराताल किनार, ठाकुर बाबाको मन्दिर हुँदै हुटुमा समापन हुने गरी तयार पारिएको हो।”
बुधबार होटेल कान्जिरोवामा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिँदै अध्यक्ष शाहीले नयाँ पदमार्गले भेडा, गाईजस्ता पशुचरन, घाँस दाउरा संकलन र दैनिक जीवन सहज बनाउन मद्दत गर्नेछ। साथै, दौडमा सहभागी खेलाडीहरूले तिरेको दर्ता शुल्कको १० प्रतिशत उच्च पर्वतीय प्रशिक्षण भवन निर्माणका लागि छुट्याइने निर्णय गरिएको छ, जुन क्लबका संरक्षक हरि बहादुर रोकायले प्रदान गरेको जग्गामा निर्माण हुने बताए।
क्लबका सहसचिव धनराज सुनारका अनुसार जुम्ला रारा अल्ट्रा म्याराथनले अन्तर्राष्ट्रिय मान्यता पाइसकेको छ र इन्टरनेशनल ट्रेल रनिङ एशोसिएशन (आईटीआरए) र युटिएमबीबाट प्रमाणित प्रतियोगिता हो। दौड पूरा गर्ने सहभागीले आईटीआरएबाट ३ अङ्क र युटिएमबी अङ्क प्राप्त गर्नेछन्, जसले अन्तर्राष्ट्रिय ट्रेल रेसमा भाग लिन योग्यता गणना गर्नेछ।
“यो वर्षको प्रतियोगिता एसिया ट्रेल मास्टर्सका लागि नेपालबाट दोस्रो तथा अन्तिम छनोट प्रतियोगिता पनि हो,” उनले भने, “पहिलो छनोट मञ्जुश्री ट्रेल रेस काठमाडौंमा भइसकेको छ र विजयी खेलाडीहरू सेप्टेम्बरमा भियतनाममा हुने फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।”
प्रतियोगितामा तीन विभिन्न विधा रहेको क्लबका सचिव मधुराज न्यौपानेले बताए। जसमा ५१ किलोमिटर अल्ट्रा दौड, ५ किलोमिटर खुल्ला दौड (उद्योगी, व्यापारी, कर्मचारी) र १० किलोमिटर विद्यार्थी दौड (१९ वर्ष मुनी)। करिब १,००० सहभागीको लक्ष्य राखिएको यस दौडमा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय धावकहरूको सहभागिता रहनेछ। विगतमा बेलायत, नेदरल्याण्ड, भारत, इटाली र अमेरिकाबाट समेत धावकहरूले भाग लिएका थिए। दौड चन्दननाथ भैरवनाथको आँगन, खलंगा बजार, जुम्लाबाट शुरु भई मुगुको रारा तालको हुटुमा समापन हुने उनको भनाई छ।
दर्ता शुल्क र पुरस्कार राशी पनि आकर्षक रहेको न्यौपानेको भनाइ छ। उनका अनुसार ५१ किलोमिटर अल्ट्रा दौडका लागि सार्क राष्ट्रका धावकहरूले १४,५०० र अन्य देशका धावकहरूले २०,००० रूपैयाँ तिर्नुपर्नेछ भने नेपाली र स्थानीय धावकहरूका लागि शुल्क ५,००० रूपैयाँ तोकिएको छ। कुल पुरस्कार राशी ५ लाख ९४ हजार रूपैयाँ रहेको छ, जसमा ४९ किलोमिटर, ५ किलोमिटर र १० किलोमिटरका विजेताहरूलाई नगद, पदक र प्रमाणपत्र प्रदान गरिनेछ।
प्रतियोगिताको सफलताका लागि कर्णाली खेलकुद क्लबले चारवटा चेकपोइन्ट, विभिन्न उपसमिति र रुटका गाउँबस्तीमा स्वागत समितिहरू गठन गरेको छ। सबै सहभागी र व्यवस्थापनमा खटिने कर्मचारीहरूको दुई लाख रूपैयाँ बराबरको दुर्घटना बीमा पनि गरिएको छ। कुल अनुमानित खर्च २५ लाख ७४ हजार रूपैयाँ रहेको छ, जसका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय जुम्ला, राष्ट्रिय खेलकूद विकास परिषद र चन्दननाथ नगरपालिकाबाट आर्थिक सहयोग प्राप्त भएको छ।
जुम्ला रारा अल्ट्रा म्याराथनले कर्णालीको साहसिक खेलकूद र पर्यटनलाई नयाँ उचाइमा पुर्याउने क्लबका अध्यक्ष शाहीको विश्वास छ। “हामीले स्थानीय समुदाय, खेलाडी र पर्यटकहरूबीचको सम्बन्ध मजबुत बनाउन यो प्रतियोगिता आयोजना गरिरहेका छौं। सबैको सहयोगले हामी यो सपना साकार पार्नेछौं,” उनले भने, “यो दौड केवल प्रतियोगिता होइन, कर्णालीको पहिचान र सम्भावनालाई विश्वसामु देखाउने अवसर हो। म आफ्नो अनुभव र नेतृत्वले यसलाई सफल बनाउन प्रतिबद्ध छु।”
जुम्ला रारा अल्ट्रा म्याराथनले हिमाली र पहाडी क्षेत्रमा आयोजना हुने विश्वस्तरका साहसिक खेलकूद प्रतियोगितामा नेपालको उच्च स्थानलाई कायम राख्ने क्लबका संरक्षक रोकायाको मत छ। उनले भने, “कर्णालीलाई ‘रोग र भोक’ भन्दा माथि उठाएर नयाँ परिचय दिन यो दौड महत्वपूर्ण कदम हो। सबै जिल्लावासी, स्थानीय पालिका, सुरक्षा निकाय, पत्रकार, विद्यालय, स्वास्थ्य क्षेत्र र खेलप्रेमीहरूलाई सहयोगका लागि अपिल गर्दछु।”
यसैबीच क्लबले पत्रकार सम्मेलन मार्फत जुम्ला रारा अल्ट्रा म्याराथनको रुट भएको जर्सी समेत सार्वजनिक गरेको छ।

