वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण र तोडफोडको विरोधमा नेपाल चिकित्सक संघले साउन १३ गते बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने घोषणा गरेको छ। संघको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले घटनामा संलग्न दोषीहरूमाथि कारबाही नभएको र उल्टै पीडितहरूमाथि दमन गरिएको भन्दै देशव्यापी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।
आन्दोलनका कारण आम नागरिकमा पर्न जाने असुविधाप्रति क्षमा माग्दै संघले यसको पूर्ण जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने स्पष्ट पारेको छ। वीरगञ्जको नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण हुनुका साथै अस्पतालमा तोडफोड भएको घटनाप्रति नेपाल चिकित्सक संघले गम्भीर आपत्ति र खेद प्रकट गरेको छ।
संघका अनुसार घटना भएको चार दिन बितिसक्दा समेत दोषीहरूमाथि कानुन बमोजिम मुद्दा दायर गरी कारबाही गर्नुको साटो स्थानीय प्रशासन र नेपाल सरकारले चरम उदासीनता देखाएका छन्। प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार, दोषीलाई कारबाहीको माग गर्दा पीडित चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि उल्टै दमन र अन्याय गरिएको छ। साथै, पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखद्वारा वार्तामा गएका चिकित्सकहरूसँग दुर्व्यवहार गरिएको र यो अत्यन्त लज्जास्पद रहेको संघको ठहर छ।
यसै सन्दर्भमा २०८३ साउन १२ गते मंगलबार संघको केन्द्रीय कार्यालयमा पूर्व अध्यक्षहरू, पूर्व महासचिवहरू, वरिष्ठ चिकित्सकहरू, अस्पताल निर्देशकहरू, विशेषज्ञ समाज तथा आवासीय चिकित्सकहरूसँग भएको छलफल एवं संघको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले निम्न बमोजिमका आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको छ;
सेवा बन्द: २०८३ साउन १३ गते बुधबारका दिन देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा पूर्ण रूपमा बन्द गर्ने।
माइतीघरमा विरोध प्रदर्शन: २०८३ साउन १३ गते बुधबार बिहान १० बजे काठमाडौँ उपत्यकाभित्रका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू माइतीघर मण्डलामा भेला भई विरोध प्रदर्शन गर्ने।
ज्ञापनपत्र र धर्ना: काठमाडौँ उपत्यका बाहिरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने र आफू कार्यरत संस्थामा धर्ना दिई विरोध प्रदर्शन गर्ने।
संघले घोषणा गरेको यस आन्दोलनमा ऐक्यबद्धता जनाउन र साथ दिन विशेषज्ञ समाज, एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (AFPHIN), स्वास्थ्यमा क्रियाशील सम्पूर्ण संघ-संस्थाहरू लगायत सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई हार्दिक आह्वान गरिएको संघले जनाएको छ।
आन्दोलनका कारण सर्वसाधारण नागरिकहरूलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै संघले यस परिस्थितिको जिम्मेवार नेपाल सरकार स्वयं रहेको जनाएको छ।
















