शनिबार, ६ बैशाख, २०८२

अनियन्त्रित हावाहुरीबीच जन्मिएको म

दिनको उथलपुथललाई बिर्सिन सकिन्न। बाहिरको हावाहुरी र भित्रको संघर्षबीच मेरो आगमनले आमाबुबाको अनुहारमा देखिएको त्यो खुशीको झल्को सधैंभरि मेरो जीवनको प्रेरणा बनेर बसिरहेको छ।

बसन्तको मौसम थियो। प्रकृतिमा नयाँ जीवनको संकेत झल्किन थालिसकेको थियो। एकातिर रूखहरूमा पालुवा पलाउँदै थिए, अर्कोतिर मेरा आमा–बुबाको जीवनमा ठूलो हर्षको क्षण आउन लागेको थियो। नयाँ वर्षको प्रारम्भ, पहिलो सन्तान छोरी जन्मिएपछि दोस्रो सन्तान छोरा जन्मिने आशा र आगमनको प्रतीक्षामा रहर र सपना साँचेर बसेका मेरा बा–आमा।

त्यो दिन अनियन्त्रित हावाहुरी चलिरहेको थियो। फलफूलका बगैंचाका फूलहरू विनाशकारी हावाले भुइँमा झार्दै थिए। बाहिरको त्यो उथलपुथल भित्रको हलचलको दर्पणजस्तै थियो। आमाको पेटमा असह्य छटपटी सुरु भइसकेको थियो—मलाई यस धर्तीमा ल्याउन।

मानिसहरू भन्न थाले, “बाहिर यस्तो प्रकोप छ, यस्तो बेला बेथा लाग्यो भने के गर्ने? यहाँबाट कहाँ लैजाने?” २०५३ सालमा कास केही स्रोत–साधन पनि उपलब्ध थिएनन्! गाउँमा भएको एउटा स्टेचर र गाविसको छेउमा रहेको स्वास्थ्य चौकी—त्यो पनि अहिलेको अवस्था हेर्दा सिटामोलसमेत पाइँदैन थियो होला!

हजुरआमा गोठको ढोकाअगाडि बसी भगवानसँग बिन्ती बिसाइरहनुभएको थियो, “हे भगवान, यस्तो बेला के दशा आई लाग्यो! सबैलाई सुरक्षित राख।”

त्यस बेला आमा भित्र पीडाको महासागर सामना गर्दै थिइन्। बुबाको अनुहारमा डर र आशा एकसाथ मिसिएको थियो। तर, ती कठिनाइको चक्रलाई चिर्दै, हरेक अनुहारमा खुशी ल्याउने नयाँ बिहान बनेर मेरो जन्म भयो।

त्यो दिनको उथलपुथललाई बिर्सिन सकिन्न। बाहिरको हावाहुरी र भित्रको संघर्षबीच मेरो आगमनले आमाबुबाको अनुहारमा देखिएको त्यो खुशीको झल्को सधैंभरि मेरो जीवनको प्रेरणा बनेर बसिरहेको छ।

आज म जन्मदिन मनाउँदै गर्दा, ती सबै संघर्ष र प्रेमलाई नमन गर्दछु। मेरी आमाको साहस, बुबाको धैर्यता, र हजुरआमाको प्रार्थनाले मलाई यहाँसम्म ल्यायो। त्यो दिन केवल मेरो जन्मको कथा होइन, यो मेरो परिवारको प्रेम र समर्पणको गाथा हो।

आज म जहाँ छु, जसरी बाँचिरहेको छु, त्यसको जरा मेरा भगवानरूपी आमाबुबाको माया र तपस्यामा छ। जीवनको पहिलो उज्यालो देखाउने, यो धर्तीमा पाइला टेकाउने, र सही मार्गदर्शन गराउने तपाईंहरूको योगदानको ऋण म कहिल्यै तिर्न सक्दिन।

आमा, तपाईंको ममता मेरा हरेक सफलताका जरा हुन्। बाबा, तपाईंको अनुशासन र परिश्रमले मलाई सुदृढ बनायो। तपाईंहरूले गरेको त्याग र माया मेरो लागि सधैं प्रेरणा हुनेछ।

आज म यो दिनलाई केवल उत्सवको रूपमा होइन, प्रतिबिम्ब र प्रतिबद्धताको दिनका रूपमा मनाउन चाहन्छु। तपाईंहरूले गरेको त्याग, तपस्या, मिहिनेत र मायालाई सम्झँदा मन गहिरो हुन्छ। तपाईंहरूको सपना, तपाईंहरूको चाहना, जुन मेरो लागि अधुरा छन्—ती सपनाहरूलाई म साकार पार्ने अठोट लिएको छु।

पिता, तपाईंको अनुशासनले मलाई कर्तव्यबोध गरायो। आमा, तपाईंको मायाले जीवनमा ममता, त्याग, धैर्यता र सेवा भाव भर्नुभयो। तपाईंहरूको अधुरा रहँदै गएका सपना—चाहे त्यो घरको छानो टाल्ने होस् वा समाज सेवा, वा आफ्नो सन्तानलाई सफल बनाउने—म ती सबैलाई मेरो जीवनको लक्ष्य ठानेर अघि बढ्ने प्रण गर्छु।

यो जन्मदिन, तपाईंहरूको असीम आशीर्वादको छायाँमा, म आफैलाई सम्झाउनेछु कि म केवल आफ्नो लागि होइन, तपाईंहरूको सपना पूरा गर्न जन्मिएको सन्तान हुँ। तपाईंहरूको न्यानो माया र पीडाभित्र लुकेको त्यागलाई व्यर्थ हुन दिनेछैन।

धन्यवाद, मेरी आमा।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार