“रोगभन्दा अन्तर्राष्ट्रिय केही हुँदैन” भन्ने वाक्यले संकेत गर्छ कि रोगहरूले राष्ट्रिय सीमाना चिन्दैनन्। यात्रा, व्यापार र बसाइँसराइमार्फत विश्वभर फैलिन सक्छन्। जसले उनीहरूलाई वैश्विक चिन्ताको विषय बनाउँछ।
ग्लोबल हेल्थ भन्नाले विश्वभरिका मानिसहरूको स्वास्थ्य सुधार, संरक्षण र प्रवर्धनका लागि गरिने समग्र प्रयासहरूलाई बुझाउँछ। जसले विभिन्न देशहरूबीच स्वास्थ्य समस्याहरू, रोगहरूको रोकथाम, उपचार र स्वास्थ्य प्रणालीको सुदृढीकरणमा केन्द्रित रहन्छ। “सबैका लागि स्वास्थ्य प्रवर्द्धन” लाई मानवजातिको साझा भविष्य निर्माण गर्ने विश्वव्यापी मिशनका रूपमा लिन सकिन्छ। जुन अवधारणा सन् २०१३ मा चीनका राष्ट्रपति सी जिनपिङले प्रस्ताव गरेका थिए।
“विश्वव्यापी रूपमा सोच्नु, स्थानीय रूपमा कार्य गर्नु” भन्ने सिद्धान्तले विभिन्न स्तरमा ज्ञान आदानप्रदान र सिकाइमा जोड दिन्छ। उच्च आय भएका देशका मानिसहरूले कम र मध्यम आय भएका देशहरूबाट शारीरिक सक्रियताको सिकाइ, जस्तै ताइजी र योगा, लिन सक्छन् भने कम र मध्यम आय भएका देशका मानिसहरूले उच्च आय भएका देशहरूबाट सरसफाइ, जीवनशैली र स्वास्थ्य व्यवस्थापनमा सुधार गर्न सिक्न सक्छन्।
विश्वभरि स्वास्थ्य क्षेत्रमा थुप्रै चुनौतीहरू छन्, जसमा लामो कोभिड, जुन SARS-CoV-2 भाइरसबाट फैलिएको COVID-19 महामारी २०१९ मा शुरू भई विश्वभर फैलियो र धेरै व्यक्तिको स्कूल, काम र सामाजिक जीवनमा महिनौंसम्म असर पुर्यायो। मानसिक स्वास्थ्य अर्को गम्भीर समस्या हो, जहाँ मानसिक विकारहरू अपाङ्गताको प्रमुख कारण बनेका छन्। २०१९ मा प्रत्येक ८ जनामा १ जना अर्थात् ९७ करोड मानिस मानसिक समस्यासँग जुधिरहेका थिए। जसमा चिन्ता र डिप्रेसन सबैभन्दा आम छन्। कोभिड-१९, युद्ध र हिंसाले यो बोझ अझ बढाइरहेको छ।
जलवायु परिवर्तनले गर्मी, बाढी, खडेरी र वायु प्रदूषणमार्फत मानिसहरूको स्वास्थ्यमा प्रत्यक्ष र अप्रत्यक्ष असर गरिरहेको छ। विशेष गरी गरिब र कमजोर समुदायलाई। मुटु रोग, जस्तै इस्केमिक मुटु रोग र स्ट्रोक, विश्वभर मृत्युको प्रमुख कारण हो। जसले २०२१ मा कुल मृत्युको २८ प्रतिशत ओगट्छ र उच्च रक्तचाप, धूम्रपान, मोटोपना जस्ता जोखिम कारकहरू नियन्त्रण गर्न सकिएमा धेरै मृत्यु रोक्न सकिन्छ।
श्वासप्रश्वास संक्रमण, जस्तै इन्फ्लुएन्जा र RSV, ले वार्षिक रूपमा दुई लाख ९० हजार देखि ६ दाख ५० हजार मृत्यु निम्त्याउँछ र विकासशील देशहरूमा ५ वर्ष मुनिका बालबालिकाहरूमा यस्ता रोगको मृत्यु दर उच्च छ। गरिबी स्वास्थ्य असमानताको मुख्य जननी हो। जसले कम र मध्यम आय भएका देशहरूमा आयु छोटो, बाल मृत्युदर उच्च, र एन्टिमाइक्रोबियल प्रतिरोध (AMR) का कारण मृत्यु धेरै गराउँछ।
स्वास्थ्य प्रणालीको सुदृढीकरण लचिलो प्रणाली निर्माणका लागि आवश्यक छ। जसका लागि दीर्घकालीन वित्तीय र मानव संसाधनको प्रतिबद्धता चाहिन्छ। विशेष गरी कोभिड-१९ पछिको पुन:निर्माणमा। मधुमेह, जसमा शरीरले इन्सुलिनको प्रयोग गर्न नसक्दा रगतमा चिनीको मात्रा बढ्छ, आँखा, किड्नी, मुटु र नसामा समस्या निम्त्याउँछ।
सडक दुर्घटनाले वार्षिक रूपमा ११ लाख ९० हजार मानिसको ज्यान लिन्छ र नेपालमा ६८% दुर्घटना मोटरसाइकलसँग सम्बन्धित छन्। जहाँ पुरुषहरू महिलाभन्दा बढी प्रभावित हुन्छन्। डिमेन्सिया, जसले विश्वभर ५ करोड ५० लाख मानिसलाई प्रभावित गरेको छ र जनसंख्या वृद्धिसँगै बढिरहेको छ, अल्जाइमर रोगको रूपमा सबैभन्दा आम छ। जनसंख्या वृद्धिदरले २०५० सम्म ८० प्रतिशत वृद्धवृद्धा कम र मध्यम आय भएका देशहरूमा बस्ने अपेक्षा गरिएको छ। जसले स्वास्थ्य र सामाजिक प्रणालीमा ठूलो दबाव सिर्जना गर्नेछ।
वैश्विक स्वास्थ्यका मुख्य पक्षहरूमा संक्रामक रोग नियन्त्रण, जस्तै एचआईभी/एड्स, मलेरिया, क्षयरोग र महामारीहरू; गैर-संक्रामक रोगहरू, जस्तै मुटु रोग, मधुमेह, क्यान्सर र मानसिक स्वास्थ्य; बाल तथा मातृ स्वास्थ्य, जसले नवजात र आमाको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्छ। पेयजल, सरसफाइ र पोषण, जुन स्वस्थ जीवनका आधारभूत आवश्यकताहरू हुन्; महामारी र आपतकालीन स्वास्थ्य सेवा, जस्तै कोभिड-१९ जस्ता संकट व्यवस्थापन र स्वास्थ्यमा समान पहुँच, जसले धनी र गरिब देशबीच स्वास्थ्य सेवाको असमानता हटाउने प्रयास गर्छ, समावेश छन्।
नेपालमा खोप अभियान, पोषण सुधार र रोग नियन्त्रण जस्ता कार्यक्रमहरू विश्वव्यापी स्वास्थ्य पहलको हिस्सा छन्। जहाँ नेपाल सरकार र संस्थाहरू जस्तै WHO र UNICEF मिलेर स्वास्थ्य सेवामा सुधार ल्याइरहेका छन्। ग्लोबल हेल्थले मानव स्वास्थ्य सुधारका साथै सामाजिक र आर्थिक विकासमा पनि योगदान पुर्याउँछ, र सबै राष्ट्रहरूले स्वास्थ्य क्षेत्रमा लगानी गर्नु आवश्यक छ।
“रोगभन्दा अन्तर्राष्ट्रिय केही हुँदैन” भन्ने वाक्यले संकेत गर्छ कि रोगहरूले राष्ट्रिय सीमाना चिन्दैनन्। यात्रा, व्यापार र बसाइँसराइमार्फत विश्वभर फैलिन सक्छन्। जसले उनीहरूलाई वैश्विक चिन्ताको विषय बनाउँछ। कोभिड-१९ महामारीले संसार कति अन्तरसम्बन्धित छ भनेर स्पष्ट पारेको छ। विश्वव्यापीकरणले रोग नियन्त्रणलाई जटिल बनाएको हो वा होइन भन्ने प्रश्न उठ्छ।
स्वास्थ्यलाई पूर्ण शारीरिक, मानसिक र सामाजिक कल्याणको अवस्था मान्दा, यसमा रोकथाम र हेरचाहमा समान जोड दिनु आवश्यक छ। स्वास्थ्यमा समानता हासिल गर्न सामाजिक, वातावरणीय निर्धारकहरूलाई सम्बोधन गर्नु पर्दछ। अन्तर्राष्ट्रिय स्वास्थ्य समस्याहरू, जस्तै संक्रामक र गैर-संक्रामक रोगहरू तथा जलवायु परिवर्तन, सबै देशहरूलाई प्रभावित गर्छन् र यी समस्याहरू समाधान गर्न विभिन्न दृष्टिकोण, संस्था र सीपहरूलाई एकसाथ ल्याउने साझेदारी आवश्यक छ। ज्ञान र क्षमताहरूको आदानप्रदानले दीर्घकालीन र प्रभावकारी समाधानहरू ल्याउन सक्छ।