बुधबार, ४ असार, २०८२

एन्टिमाइक्रोबियल प्रतिरोध र क्षयरोगविरुद्धको अभियान

एएमआर क्लब र निम्याट नेपालको संयुक्त आयोजनामा भएको यो कार्यक्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका संकाय प्रमुखहरू, स्वास्थ्यकर्मीहरू र युवा अभियन्ताहरूको सहभागिता थियो।

सुर्खेतका ३० वर्षीय मधुसुदन काफ्लेले स्वास्थ्य क्षेत्रमा देखेका चुनौतीहरूलाई समाधान गर्न युवा शक्तिलाई परिचालन गर्दै आएका छन्। उनको नेतृत्वमा २०८१ चैत १६ गते शनिबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एन्टिमाइक्रोबियल प्रतिरोध (एएमआर) कार्यशाला प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

एएमआर क्लब र निम्याट नेपालको संयुक्त आयोजनामा भएको यो कार्यक्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका संकाय प्रमुखहरू, स्वास्थ्यकर्मीहरू र युवा अभियन्ताहरूको उल्लेखनीय सहभागिता थियो।

कार्यशालामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्कूल अफ पब्लिक हेल्थ का सहायक डीन डा. शेषानन्द सञ्जेल, स्कूल अफ नर्सिङ संकायका डीन निर्मला पहाडी, सहप्राध्यापक निशान्त लामा, सहप्राध्यापक डा. कपिल अम्गाईं, सहायक प्राध्यापक ओमप्रकाश काफ्ले, सहायक प्राध्यापक डा. धिरजराज जोशी, बालरोग वार्डका आवासीय चिकित्सक डा. लोकेन्द्र यादव, तिला गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक कमल रावत, गणेश नेपाली, विजय रावल, निम्याटका संस्थापक मधुसुदन काफ्ले र एएमआर क्लबका सदस्यहरू उपस्थित थिए।

यो कार्यशाला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र वाक द टक कार्यक्रम चन्दननाथ नगरपालिकामा सफलतापूर्वक सम्पन्न भएको पब्लिक हेल्थका विद्यार्थी दिलिप प्रसाद हरिजनले बताए।

यो कार्यशालाको उद्देश्य विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का ई-लर्निङ कोर्सहरू पूरा गरेका सहभागीहरूलाई एन्टिमाइक्रोबियल प्रतिरोध र स्कूल स्वास्थ्य कार्यक्रमबारे गहिरो बुझाइ र व्यावहारिक ज्ञान प्रदान गर्नु थियो। मधुसुदनको स्वास्थ्य क्षेत्रको यात्रा सुर्खेतको लाटिकोइली स्वास्थ्य चौकीबाट सुरु भएको हो।

स्वास्थ्य सहायक (एचए) को अध्ययन पूरा गरेर २०६८ मा त्यहाँ काम थालेका उनले क्षयरोगका बिरामीहरूको संख्या देखेर चिन्तित भए। पछि पब्लिक हेल्थमा स्नातक गर्न काठमाडौं पुगेका उनले क्षयरोग समाजको समृद्धिको सूचक भएको थाहा पाए। रोकथाम र उपचार गर्न सकिने यो रोगबाट हरेक दिन सयौँले ज्यान गुमाइरहेको तथ्यले उनलाई अभियानमा लाग्न प्रेरित गर्‍यो।

करिब ६ वर्षअघि उनले भक्तपुरबाट क्षयरोगमुक्त अभियान सुरु गरे, जुन पछि देशव्यापी बन्यो। दुई वर्षमा एक हजारभन्दा बढी कार्यक्रममार्फत उनले युवाहरूलाई जोडे र जनचेतना फैलाए।

उनको यो प्रयासले २०१९ मा डब्लूएचओको ध्यानाकर्षण गर्‍यो। जेनेभामा विश्व क्षयरोग दिवसको कार्यक्रममा आफ्नो अनुभव सुनाउन बोलाइएका काफ्लेले नेपालको युवा अभियानलाई विश्वमाझ पुर्‍याए।

त्यहीँबाट डब्लूएचओको ‘वान प्लस वान इनिसिएटिभ’ सुरु भयो, जुन अहिले ९५ भन्दा बढी देशमा फैलिएको छ। २०२० देखि उनले डब्लूएचओको युवा कन्सल्टेन्टको भूमिका निर्वाह गरे भने २०२३ देखि नेपालमै ‘२४/२४ युथ क्याम्पेन टु इन्ड टीबी’ सञ्चालन गरिरहेका छन्। यो अभियानमा एक हजारभन्दा बढी युवा जोडिएका छन्, जसले ५५ हजार विद्यार्थी र एक हजारभन्दा बढी सामाजिक अगुवालाई क्षयरोगबारे सचेत गराएका छन्।

कार्यशालामा सहजकर्ताको भूमिका निर्वाह गरेका तिला गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक कमल रावत र निम्याट नेपालकी सदीक्षा सापकोटाले पनि यो अभियानमा महत्वपूर्ण योगदान दिएका छन्। सदीक्षा ६ वर्षदेखि सक्रिय छिन् भने बझाङकी श्रीया जोशीले आफ्नो क्षयरोगको अनुभवलाई प्रेरणाको स्रोत बनाएकी छन्।

मधुसुदन भन्छन्, “स्वास्थ्य क्षेत्रका युवाहरू नै भविष्यका स्वास्थ्यकर्मी हुन्, उनीहरूलाई परिचालन गर्नु जरुरी छ।” नेपालमा वार्षिक ६९ हजार क्षयरोगी थपिने र १७ हजारको मृत्यु हुने तथ्यांकले उनको अभियानको सान्दर्भिकता झल्काउँछ। कुनै बाह्य आर्थिक सहयोगबिना डब्लूएचओ र राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको प्राविधिक सहयोगमा चलिरहेको यो पहलले स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तनको आशा जगाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार