शुक्रबार, १५ फाल्गुन, २०८२

जनताको नाम, व्यक्तिगत सम्पत्ति जोड्ने काम, माओवादीकै कारण आइलाग्यो व्यवस्थामाथि संकट!

माओवादीको मनमा राजाले लुट्यो, हामीले लुट्न पाएनौं भन्ने परेको रहेछ। माओवादीले देश र जनताका लागि होइन, आफ्नो व्यक्तिगत फाइदाका लागि लडेको रहेछ भन्ने कुरा पुष्टि भइसकेको छ।

सरकारले २०७९ मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन गरायो। नेकपा माओवादी केन्द्रले अन्य पार्टीहरूसँग गठबन्धन गरेर चुनावमा भाग लियो। तर, माओवादी ३२ सिटमा सीमित भयो। जनताले प्रत्यक्ष र समानुपातिक गरेर जम्मा ३२ सिट मात्र माओवादीलाई दिए। २०६४ चैत २८ गते पहिलोपटक संविधानसभाको निर्वाचन भएको थियो। त्यतिबेला माओवादी एक्लै भिडेको थियो। १२० क्षेत्रमा चुनाव जितेको माओवादी धेरै क्षेत्रमा थोरै मतले हारेको थियो। २०५२ फागुन १ गते माओवादीले शोषक, सामन्ती, भ्रष्टाचारी र दलालहरूलाई तह लगाउने एजेन्डाका साथ जनयुद्ध सुरु गरेको थियो। माओवादीका नेता–कार्यकर्ताहरूले देशका लागि लडेको बताउँथे।

देशमा लोकतन्त्र र गणतन्त्र आएपछि आफ्नो पुख्र्यौली सम्पत्ति पनि राष्ट्रियकरण गर्ने र पार्टीलाई दिने उनीहरूको भनाइ थियो। त्यहाँ भ्रष्टाचार गर्ने, व्यक्तिगत सम्पत्ति जोड्ने वा विलासितामा लाग्ने कुरै थिएन। त्यसैले जनताले विश्वास गरे। माओवादीले पनि भटाभट आफ्ना एजेन्डालाई कार्यान्वयनमा ल्यायो। मिटरब्याजमा पैसा लगाउने, जाँडरक्सी खाने, दुईवटी श्रीमती ल्याउने, कालोबजारी गर्ने, सरकारी जग्गा खाने र जातीय विभेद गर्नेहरूलाई माओवादीले धमाधम कारबाही गर्‍यो। माओवादी सरकारमा आएपछि जनतामा छिमेकी मुलुकले लगेको जमिन फिर्ता हुन्छ र विदेशीको हस्तक्षेप रोकिन्छ भन्ने मनोभाव विकास भएको थियो।

गाउँदेखि सहरसम्म माओवादी थिए। जंगलका रूख, पात पनि माओवादी नै बने। २०६२/६३ मा सरकारसँग वार्ता गरेर जब माओवादी सार्वजनिक भयो, तब नेता–कार्यकर्ताको असली रूप देखिन थाल्यो। नेतादेखि कार्यकर्तासम्म विलासी जीवन जिउन थाले। राजधानीमा महलजस्ता घर ठड्याए। महँगा विद्यालयमा आफ्ना सन्तान पढाए। करोडौं पर्ने गाडी चढ्ने, व्यक्तिगत सम्पत्ति जोड्ने र सुखसयलको जिन्दगी जिउनेतिर उनीहरू केन्द्रित भए। जनयुद्धको क्रममा आफ्नो पुख्र्यौली सम्पत्ति राज्यको नाममा गर्छु भनेकाहरू सरकारी सम्पत्ति कब्जा गरेर आफ्नो नाममा लैजानतिर लागे।

माओवादीले नै दलाली गर्न थाल्यो। एक लाख रोपनी पर्ने जग्गालाई माओवादीले प्लानिङ गरेर आनाको लाखौंमा बेच्यो। सेयर दलाली पनि माओवादी नै भए। दोहोरी साँझ खोल्ने, निजी विद्यालय सञ्चालन गर्ने, म्यानपावर चलाउने, क्रसर उद्योग, मिडिया, बैंक तथा वित्तीय संस्था, स्वास्थ्य क्षेत्र, सुन व्यवसायमा लगानी गर्ने, मिटरब्याज, अटो शोरूममा लगानीलगायतका काम माओवादीले गरे। उनीहरूले आफूलाई देशको राजा ठाने। पूर्वराजाले जति खानु थियो खायो, बाँकी हामी खान्छौं भनेर उनीहरू लागिपरे। तस्करीमा पनि माओवादी नेताहरूको संलग्नता भएको कुरा बाहिर आइसकेको छ। भेपदेखि अवैधानिक कार्यमा माओवादी संलग्न छन्। अनि जनताले पत्याउँछन्?

जनतालाई माओवादीले विश्वासघात गरेको छ। हिजो व्यापारीको विरोध गरेर आएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल निर्माण व्यवसायीको घरमा बसेका छन्। आफू व्यापारीको घरमा बस्नुहुँदैन भनेर उनले सोच्नुपर्थ्यो कि पर्दैन? सिन्धुपाल्चोकको सुकुटेमा माओवादीको लगानी छ। प्रचण्ड रमाइलो गर्न त्यहाँ पुगेको पुग्यै गर्छन्। अनि यस्ताले देश विकास गर्छ? सोच्ने दिमाग नभएका, भिजन नभएकाहरू देशका नेता हुँदा जनताले दुःख पाएका छन्। जनताले तिरेको कर पनि पचाएका छन्। खाडीको चर्को घाममा पसिना बगाएकाहरूले पठाएको रेमिट्यान्समा यिनीहरूले मोजमस्ती गरे।

२०६५ जेठ १५ गते राजा ज्ञानेन्द्र वीरविक्रम शाहले जनताको नासो जनतालाई फिर्ता गरेर जंगलतिर लागे। माओवादीहरू शासनमा आए। सत्तामा आउनेबित्तिकै माओवादीको रूप नै फेरियो। आफ्नो छोरीलाई मेयर, स्वकीय सचिव, बुहारीलाई मन्त्री, भाइलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने अनि मोजमस्ती गरिरहने। माओवादीको मनमा राजाले लुट्यो, हामीले लुट्न पाएनौं भन्ने परेको रहेछ। माओवादीले देश र जनताका लागि होइन, आफ्नो व्यक्तिगत फाइदाका लागि लडेको रहेछ भन्ने कुरा पुष्टि भइसकेको छ। जसका कारण आज व्यवस्था नै संकटमा परेको छ। व्यवस्थाविरोधी नारा लाग्न थालिसकेको छ।

माओवादीले राजाले टाउको उठाएको भन्दै विरोध जनाउन थालेको छ। माओवादीले आफ्नो हैसियत नबिर्सिएको भए आज यो अवस्था आउँथ्यो? माओवादीले यो कुरा विचार गर्नुपर्थ्यो कि पर्दैन? अझै पनि जनतालाई भ्रमित बनाएर सडकमा उतार्ने दाउमा छन्, माओवादी।

अब त माओवादीको आन्दोलनमा आउनुभन्दा बरु जनता खाडीतिर पसिना बगाउन जान्छन्। किनकि जनता आजित भइसकेका छन्। नेताहरूले न आफ्नो पदको ख्याल गरे, न देश र जनताको। जनता भोकभोकै हिँडेका छन्, उनीहरू करोडौं पर्ने घडी बाँध्छन्। विदेशमा पैसा लुकाएर राखेका छन्। देश पुरै खोक्रो बनाएका छन्। यिनीहरू भ्रष्टाचारी हुन्, दलाली हुन् भन्ने कुरा जनताले राम्ररी बुझिसकेका छन्।

त्यसैले पनि यिनीहरूले जे बोले पनि जनताले पत्याउँदैनन्। नेपालीमा एउटा उखान छ, ‘कहिले सासुको पालो, कहिले बुहारीको।’ अब त्यही दृश्य देखिँदैछ। हिजो माओवादीले गाउँगाउँबाट जनता लखेट्यो, अब जनताले माओवादीलाई गाउँगाउँबाट लखेट्छन्। रोचक प्रसंग के भने, यो स्थितिमा पुर्‍याउने माओवादी स्वयम् हो। पूर्वराजा ज्ञानेन्द्र र जनताले त ल्याइदिएका होइनन्। सिद्धान्त, विचार विलासिताको अगाडि छियाछिया भएपछि यो अवस्था अवश्य पनि आउने नै थियो। नेताहरूको सम्पत्ति छानबिन गर्ने हो भने भ्रष्टाचारीको पहिलो सूचीमा माओवादी पर्छ। त्यसपछि एमाले, कांग्रेस, राप्रपा, मधेसी दल आउँछन्।

हिजो खुट्टामा चप्पल लगाउन नसक्नेहरू आज लाखौं–करोडौंको घडी बाँध्ने स्तरमा पुगेका छन्। आफूले गल्ती गरेको यिनीहरूलाई राम्ररी थाहा छ। त्यसैले त पूर्वराजाले बोल्नेबित्तिकै राजनीतिक वृत्तमा पुरै हलचल मच्चिएको छ। नेताहरूको रातको निद्रा र दिनको भोक गायब भएको छ। नेमकिपाका सांसद प्रेम सुवालले केही दिनअघि सदनमा सरकारसँग हिसाबकिताब मागे। विदेशीबाट ल्याएको २७ खर्ब ऋण, रेमिट्यान्स, कर, निर्माण व्यवसायीको ४५ अर्ब, दूध किसान र उखु किसानको ७ अर्ब र कोरोना बीमाबापतको १८ अर्ब रुपैयाँको उनले हिसाब मागे।

सुवालले बोल्नु भनेको जनताले बोल्नु हो। किनकि सुवाल जनताबाट निर्वाचित जनप्रतिनिधि हुन्। यो हिसाब देखाउन नसक्नेबित्तिकै जनताले केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहालको हालत के बनाउँछन्? सोचनीय छ। नेताहरूले देश बेचिसके भन्ने कुरा जनताले राम्ररी बुझिसकेका छन्। आफ्नो देश बचाउनका निम्ति जनता जुनसुकै हदसम्म जान तयार छन्। देशमा अब राजतन्त्र आउने देखिसकेको छ। सेनाले समेत निर्मल निवासलाई साथ दिएको सर्वसाधारणले अनुमान लगाउन थालिसकेका छन्। हजारौं जनताको बलिदानले आएको व्यवस्था नेताहरूकै कारणले आज खतरामा परेको छ।

सबैले आ–आफ्नो व्यवस्था फाइदा हेर्दा देश लथालिङ्ग बन्यो। जनताको रगत ‘पानी’ बन्ने स्थितिमा पुर्‍याइयो। बूढापाकाले भन्छन् नि, ‘सर्प देख्यो बाहिर हात, माछा देख्यो भित्र हात।’ देशमा पनि त्यस्तै भयो। व्यक्तिगत फाइदाका लागि देशै लुटेर खाइयो। प्रचण्डले अब जनतासँग माफी माग्नुपर्छ। माओवादीले भ्रष्टाचार गरेको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ। नत्र यो व्यवस्था उल्टिन्छ, उल्टिन्छ। किनकि जनता हजारौंभन्दा एउटै राजा ठीकको मनसायमा पुगिसकेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार