विद्यार्थी सङ्घ-सङ्गठनले दलीय राजनीतिक घोषणापत्र, संविधान, कानुन र आचरणमा समयानुकूल सुधारका लागि दबाब दिनुपर्छ, तर त्यसो गरेको पाइँदैन। यसरी मौन रहने हो भने लोकतन्त्र जहिल्यै खतरामा पर्न सक्ने अवस्था हुन्छ।
विद्यार्थी भनेकै शैक्षिक युवा हुन् र शैक्षिक युवा भनेका देशका मेरुदण्ड हुन्। देश निर्माणका बलिया खम्बा हुन्, विद्यार्थीलाई सचेत वर्ग मानिन्छ।
यसैले हरेक मुलुकमा यदि साक्षरताको दरमा कमी हुन पुग्यो भने विद्यार्थी राजनीतिले शासकलाई आन्दोलनका माध्यमबाट साक्षरताको दर बढाउनेतर्फ दरिलो कदम चाल्न सक्छ।
विद्यार्थीको हकहितका लागि उल्लेखनीय काम गर्न, विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न प्रेरित गर्न सरकारले विद्यार्थी सङ्घ-सङ्गठन खोल्न कानुनी व्यवस्था गरेको हुन्छ। सोहीअनुरूप आवधिक निर्वाचन प्रणालीमार्फत वा सर्वसम्मत रूपले नेतृत्व चयन गरिन्छ।
यिनै विद्यार्थीले कुनै शासकविरुद्ध आन्दोलन गर्नुपर्दा वा जायज माग पूरा गर्नुपर्दा अग्रमोर्चामा रहेर विभिन्न समयमा विभिन्न किसिमका आन्दोलन गर्ने गरेका छन्।
नेपालमा हिजो निरङ्कुश प्रणालीले शासन गरिरहेको समयमा विद्यार्थी राजनीति अत्यन्तै फस्टाएको र मौलाएको अवस्थामा थियो। पञ्चायतकालमा समेत विद्यार्थी राजनीतिले अत्यन्त महत्त्वपूर्ण भूमिका खेलेको थियो।
खासमा विद्यार्थीको हकहितका लागि बन्ने विद्यार्थी सङ्घ-सङ्गठनहरू राजनीतिक दलका भ्रातृ संस्थाका रूपमा गठन भएका देखिन्छन्। यसैले पनि यस्ता विद्यार्थी सङ्घ-सङ्गठनलाई राजनीतिक दलको शक्तिको रूपमा हेर्ने गरिएको पाइन्छ।
यिनै सङ्घ-सङ्गठनले देशको शासन व्यवस्था र प्रणाली परिवर्तन गर्न नेपालमा बेलाबेलामा महत्त्वपूर्ण भूमिका खेलेको पाइन्छ।
पञ्चायतकालमा होस्, वि.सं. २०४६ ताकाको संवैधानिक राजतन्त्र स्थापनाका लागि गरिएको जनआन्दोलनमा होस्, वा वि.सं. २०६२/६३ सालको राजनीतिक व्यवस्था परिवर्तनमा होस्, विद्यार्थी सङ्घ-सङ्गठनले ठूलो भूमिका खेलेको देखिन्छ।
वि.सं. २०६२/६३ सालको आन्दोलनमा यिनै विद्यार्थी सङ्घ-सङ्गठनले गणतन्त्रको नारा लगाउन पछि परेका थिएनन्। जसको परिणामस्वरूप गणतन्त्र ल्याउन राजनीतिक दलहरूबीच बनेको सहकार्यको वातावरणलाई कोसेढुङ्गा नै मान्न सकिन्छ।
खास गरी सङ्घ-सङ्गठनले शैक्षिक मागहरू जस्तै गुणस्तरीय शिक्षा, व्यावसायिक शिक्षा र व्यावसायिक शिक्षालयहरूको स्थापना, दुर्गम र मोफसल क्षेत्रबाट पढ्न जाने विद्यार्थीका लागि होस्टेल र छात्राबास, छात्रवृत्ति, निःशुल्क र सस्तो शुल्क, सुविधायुक्त र पहुँचयोग्य पुस्तकालय, गाउँबाट क्याम्पससम्म अध्ययन गर्न आउँदा गाडीमा भाडा सुविधा जस्ता विषयमा सुधारोन्मुख परिवर्तन र सुधारको माग गर्नुपर्ने हो।
तर यस्ता विषयमा आवाज कमै उठ्ने र उल्लेखनीय परिमाणको परिवर्तन समेत भएको पाइँदैन। आजका विद्यार्थी नेतृत्वले आफ्ना हकहित र शैक्षिक सुधारका लागि आवधिक निर्वाचनमा भाग लिइरहेका हुन्छन्।
मुलुकमा आवधिक रूपमा विद्यार्थी सङ्घ-सङ्गठनहरूबीच निर्वाचन समेत भइरहेको छ। यस्तो अवस्थामा विद्यार्थी सङ्घ-सङ्गठनहरूले विशुद्ध विद्यार्थीको हकहित र शैक्षिक सुधारका विषयलाई मुख्य नीति र उद्देश्य बनाई चुनावमा भाग लिनुपर्ने हो।
तर विद्यार्थीको निर्वाचनलाई मातृ पार्टीको विजयको प्रतिष्ठाको रूपमा लिन खोजिएको पाइन्छ। यसबाट विभिन्न विद्यार्थी भ्रातृ सङ्गठनहरू मिलेर एक-अर्को विद्यार्थी सङ्गठनसँग प्रतिस्पर्धा गरेको समेत देखिन्छ।
विद्यार्थी नेताहरू व्यक्तिगत प्रलोभनमा लागेर राजनीतिक पार्टी र नेतृत्वको पछि लागेको आभास हुन्छ। यिनै कारणले विद्यार्थी नेता र सङ्घ-सङ्गठनहरू जति बलियो हुनुपर्ने हो, त्यति नभएको र राजनीतिक दलहरूले विद्यार्थी सङ्घ-सङ्गठन र नेतृत्वसँग डराउनुपर्ने अवस्था नदेखिएको पाइन्छ।
अर्कोतर्फ, यही कमजोरीले राजनीतिप्रति पछिल्लो पुस्ताका विद्यार्थीमा नैराश्यता बढेको र विद्यार्थी सङ्ख्यामा कमी आएको देखिन्छ। यसको ज्वलन्त उदाहरण, क्याम्पसमा भर्ना भएका विद्यार्थीको सङ्ख्या र मतदानमा सहभागी हुने विद्यार्थीको सङ्ख्या बराबर नहुनुले पुष्टि गर्छ।
आजका शिक्षित युवाहरूले आफ्ना मातृ पार्टी र नेतृत्वले इमानदारीपूर्वक काम नगरेको, जिम्मेवारी पूरा नगरेको, उत्तरदायित्व निर्वाह नगरेको, मस्तिष्कमा समझदारी नराखेको, विकास निर्माणमा ध्यान नदिई भ्रष्टाचारमा लिप्त भएको, मुलुक भ्रष्टाचारमा डुब्न लागेको, शैक्षिक युवाहरू रोजगार नपाएर विदेशिनुपरेको, मातृ पार्टीका नेताहरू निर्वाचनमा अस्वस्थ प्रतिस्पर्धामा भाग लिएर निर्वाचित भएको, राम्रोभन्दा हाम्रो र तेरोभन्दा मेरो तथा नातावाद, कृपावाद र पक्षपात गरेको देखेर राजनीतिबाट टाढा रहने गरेको पाइन्छ।
खास गरी विद्यार्थीले अलोकतान्त्रिक शासक र शासन व्यवस्थालाई मान्यता नदिई जहिल्यै निस्तेज पार्न आन्दोलित भइरहेका हुन्छन्। लोकतन्त्र र विधिको शासन कायम राख्न, विकास निर्माण, कल्याणकारी कार्यदेखि शैक्षिक सुधार र समयानुकूल परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेको पाइन्छ।
वर्तमान समयमा विद्यार्थीले विज्ञान र प्रविधिमा फड्को मारिरहेका छन्। अर्कोतर्फ विश्वव्यापीकरणप्रति पनि चासो राखी ज्ञान आर्जन गरिरहेका छन्।
कहाँ के भइरहेको छ, हरेक किसिमको जानकारी लिइरहेका हुन्छन्। यसैले विद्यार्थीलाई निकै अब्बल र उत्कृष्ट मानिन्छ।
तर पनि आज हाम्रा विद्यार्थी वर्ग, विद्यार्थीकै हित र शैक्षिक सुधारमा नलागी व्यक्तिगत र दलीय स्वार्थमा लाग्ने गरेकोले दलीय नेतृत्वलाई सुधार्न नसकेको देखिन्छ।
यी विद्यार्थी सङ्घ-सङ्गठनले दलीय राजनीतिक घोषणापत्र, संविधान, कानुन र आचरणमा समयानुकूल सुधारका लागि दबाब दिनुपर्छ, तर त्यसो गरेको पाइँदैन। यसरी मौन रहने हो भने लोकतन्त्र जहिल्यै खतरामा पर्न सक्ने अवस्था हुन्छ।
समग्रमा, विद्यार्थी सङ्घ-सङ्गठनहरू आफ्ना मातृ दलका स्वार्थको राजनीतिभन्दा माथि उठेर अभाव, दबाब, प्रभाव, लोभ र प्रलोभनमा नपरी विद्यार्थीकै हकहित, शैक्षिक सुधार, विकास र राष्ट्रप्रेमप्रति समर्पित भई लाग्नुपर्छ भन्ने मलाई लाग्छ।