बिहीबार, ३ बैशाख, २०८३

चन्दननाथ -१० मा स्थानीय कृषि उपजमा आधारित दिवा खाजा कार्यक्रमको बारे वडास्तरीय छलफल

यो परियोजनाले नविकरणीय ऊर्जाको उपयोग, स्थानीय कृषि उपजको प्रवर्द्धन र विद्यार्थीको पोषणमा सुधार ल्याउने उद्देश्यसहित जुम्लाको समुदायमा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ।

चन्दननाथ नगरपालिका -१० मा कृषि खाद्य प्रणालीका लागि नविकरणीय ऊर्जा रेसास परियोजनाअन्तर्गत जुम्लामा स्थानीय कृषि उपजमा आधारित दिवा खाजा कार्यक्रमको वडा स्तरीय सुरुवाती बैठक सम्पन्न भएको छ।

चारवटा गैर सरकारी संस्थाहरूको सहभागितामा आयोजित यो कार्यक्रमले स्थानीय र रैथाने बालीको प्रयोग, खाद्य सुरक्षा, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने लक्ष्य राखेको छ।

बैठकमा वडा अध्यक्ष नवराज शाहीले विद्यार्थीको खानपान र शिक्षाको सम्बन्धबारे जोड दिए। उनले भने, “विद्यार्थीको खानपान राम्रो भए अध्ययन र भविष्य राम्रो हुन्छ। दिवा खाजा त्यसका लागि महत्त्वपूर्ण छ।”

उनले भने, “रैथाने बालीको उत्पादन बढ्दा अभिभावकको आयस्तरमा सुधार हुन्छ, जसले शैक्षिक क्षेत्रमा पनि सकारात्मक प्रभाव पार्छ।”

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका प्रतिनिधि लोक बहादुर डाँगीले दिवा खाजा तयारीका लागि नविकरणीय ऊर्जाको प्रयोगमा जोड दिँदै भने, “दिवा खाजा बनाउँदा मृघा किचेन र वान साइड किचेनको अवधारणामा छलफल भइरहेको छ। यसमा ऊर्जाको उपयोगसँगै कृषि र सिँचाइलाई जोड्ने योजना छ।”

विश्व खाद्य कार्यक्रमका जुम्ला संयोजक चक्र बहादुर जिसीले नेपालमा भोकमरी अन्त्य र साझेदारीमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

“हामी खाद्य सुरक्षा, शिक्षा र स्वास्थ्यमा केन्द्रित छौँ। बाल पोषण कार्यक्रम र चामलमा भिटामिन मिसाउने कार्य खाद्य संस्थानमार्फत भइरहेको छ। दिवा खाजा कार्यक्रममा वस्तुगत सहायता र नगदमा आधारित सहयोग प्रदान गरिरहेका छौँ,” उनले भने।

यसैगरी, युएनडीपी जुम्लाका प्रतिनिधि भीम प्रसाद उपाध्यायले स्थानीय र रैथाने उत्पादनको बजारीकरणमा परियोजनाको योगदानबारे प्रकाश पारे।

“यो कार्यक्रमले विद्यालय, शिक्षक, व्यवस्थापन समिति अध्यक्ष र स्वास्थ्यकर्मीलाई सहभागी गराएर स्थानीय उत्पादनको प्रवर्द्धन र खाद्य प्रणालीलाई बलियो बनाउने लक्ष्य राखेको छ,” उनले भने।

यो परियोजनाले नविकरणीय ऊर्जाको उपयोग, स्थानीय कृषि उपजको प्रवर्द्धन र विद्यार्थीको पोषणमा सुधार ल्याउने उद्देश्यसहित जुम्लाको समुदायमा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ।

बैठकले आगामी कार्ययोजनालाई थप प्रभावकारी बनाउन विभिन्न सरोकारवालाहरूबीच समन्वय र सहकार्यमा जोड दिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार