नारायणहिटीका ढोकाहरू हिजो पनि बन्द थिए,
आज पनि छन्, भोलि पनि बन्द नै रहनेछन्।
हावाले ल्याएको एक पुरानो स्वर,
“राजा आऊ, देश बचाऊ” भन्दै
सडकमा गुन्जिए पनि,
अब ती शब्दहरूमा प्राण छैन।
राजाजी,
बगेको खोलो फर्कन्न,
मरेको जीवित हुँदैन।
राजसिंहासन फुस्कियो भने,
त्यसको टेको खोज्दै हिँड्नु व्यर्थ छ।
तपाईंले शासन गर्दा,
हाम्रो भोकको चित्कार तपाईंका महलसम्म आइपुग्न सकेन।
हामीले रातो घाम हेरेर भोलि पर्खिदै पेट भर्न सिक्यौं,
तपाईंले सुनका थालमा भोजन गर्नुभयो,
क्षमा पाउ सरकार
मौसुफले सुनौलो थालमा ज्युनार गरिबक्स्यो!
अब समय फेरियो
समय फेरिए पनि
तपाईंलाई चुस्न सकिन्छ कि भनी,
तपाईंकै वरिपरि जुका झुम्मिरहेका छन्,
पुराना गफ बेचेर
तपाईंलाई उचाल्न खोज्दैछन्।
‘जय नरेश!’ भन्दै
फेरि तपाईंको धनले उनीहरूको दुनो सोझ्याउन खोज्दैछन्।
राजाजी,
यो नभुल्नुहोस कि,
लोकतन्त्रले तपाईंलाई व्यापार दियो,
सुरक्षित जीवन दियो,
मुकुटविहीन राजा भएर पनि,
हजारौंको साहु बन्ने अवसर दियो।
अब त्यो भ्रम त्याग्नुहोस्,
राजसंस्था फर्कन्न,
यो माटोले फेरि शिर झुकाएर
एउटा नामको मात्रै जयजयकार गाउने छैन।
बरु,
रैतीहरुलाई इन्धन खर्च बाँड्नुभन्दा
तपाईंका उद्योगहरू बढाउनुहोस्,
अस्पताल खोल्नुहोस्,
विद्यालय बनाउनुहोस्,
दिनदु:खीको सेवा गर्नुहोस्
रातो कार्पेटको सट्टा
भुइँमा बसेर जनताको दुःख बुझ्नुहोस्।
किनभने,
यो देशले अब फेरि
एकजनाको पूजा होइन,
जनताको शासन खोजेको छ।