पार्टी सदस्यताको नाममा आफ्नोविरुद्ध उठ्ने औंला रोक्दै गए, हामीले बुझ्दै बुझेनौं। जसले सबैभन्दा धेरै घुस खान्छ, उसैलाई ‘राष्ट्रसेवक’को ट्याग दियौं।
काम गरेको ठाउँमा पारिश्रमिक नपाएपछि, सहकारीले पैसा खाइदिएपछि सर्वसाधारणले आफ्ना खाना कटौती गरेका छन्। दुई छाकको साटो एक छाक खान थालिएको छ। धेरैलाई यो गाउँघरमा भएको लाग्न सक्ला तर यो तीतो यथार्थ काठमाडौं उपत्यकाकै हो। बेलुका खान्छौं, बिहान खाँदैनौं भन्नेहरु छ्याप्छ्याप्ती भेटिन्छन्।
दाल र चामल एकैठाउँ मिसाएर जाउलो पकाएर खाएको भन्नेहरुको उपत्यकामा बिगबिगी छ। उता, कोठा भाडा तिर्न नसकेको उनीहरुको गुनासो छ। काम गरेका छन्, तर महिनौंदेखिको तलब पाएका छैनन्। कतिपय बाटो–बाटोमा काम पाइन्छ कि भनेर सोध्दै हिँडेका हुन्छन्।
व्यापार व्यवसाय गरेर बसेकाहरुलाई पनि साह्रै समस्या छ। मन्दीका कारण उनीहरुले पनि सटर भाडा तिर्न सकेका छैनन्। पछिल्लो समय सबै समस्यै समस्यामा छन्। प्रधानमन्त्री केपी शर्मा ओली भन्छन्, ‘म दाल रोटी मात्र खान्छु, भ्रष्टाचार गर्दिँनँ।’ कुरो के भने जनताले त्यही दालरोटी पनि खान पाएनन्।
भोकै सुतिरहेका छन्। यता, ७० हजार मूल्य पर्ने विदेशी पानी खाएको हिसाबचाँहि कसले देखाउने? भक्तपुरको बालकोटमा उनको पाँचदेखि १० रोपनी जग्गामा दरबारजस्तो घर छ। तेह्रथुम, झापामा पनि घरजग्गामा छ। यो कहाँबाट आयो? मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आरोप लगाइरहेको कम्बोडियोको ३२ अर्ब कहाँबाट आयो?
बैंकमा सेयर होला, उप्रोमाथि थुप्रो पैसा होला। गरगहना होला। उनको देखिने व्यापार व्यवसाय त केही छैन्। अनि यत्रो सम्पत्ति आयो कहाँबाट? हिसाबकिताब देखाउनुपर्यो। मुखले भन्नलाई पनि जसले पनि भ्रष्टाचार गर्दिनँ भनिहाल्छन् नि। ओलीकी श्रीमती राधिका शाक्य बैंकको कर्मचारी हुन्।
उनले कि श्रीमतीले भ्रष्टाचार गरेर कमाएको हो भन्नुपर्यो कि आफूले। त्यो सम्पत्तिको स्रोत त देखाउनुपर्यो। देशको अवस्था नाजुक छ। जनता भोको बसेका छन्। देश विदेशी ऋणको दलदलमा फसेको छ। तैपनि आफ्नोलाई पोस्न छोड्दैनन्। आफ्नो निकटस्थ युवराज खतिवडालाई मन्त्रीसरह तलब दिएर आर्थिक सल्लाहकार राखेका छन्।
उनी सल्लाहकार भएपछि देशको अर्थतन्त्र कति सुध्रियो? नचाँहिदो पद सिर्जना गर्ने अनि जनताले तिरेको कर उडाउने? प्रधानमन्त्रीजस्तो व्यक्तिलाई देशको अवस्थाबारे केही ख्याल नै छैन। विलासितामा बाँच्न रमाएका ओलीले तीन करोड रुपैयाँ पर्ने घडी हातमा बाँध्छन्। ४५ लाख पर्ने चश्मा कसले दियो?
लाखौं पर्ने दौरा सुरुवाल, कोट, जुत्ता लगाउन उनको आर्थिक हैसियत के? उनी एउटा सामान्य परिवारमा जन्मिएको मान्छे। अनि यत्रो सम्पत्ति कहाँबाट आयो? के यो भ्रष्टाचार होइन? देशका नेता, सरकारी कर्मचारी र जनप्रतिनिधिलाई मोज छ। जनताले तिरेको करबाट खुरुखुरु तलबभत्ता आइहाल्छ।
उल्टै भ्रष्टाचार पनि गरेका छन्। सार्वजनिक बिदाका दिन सरकारी कर्मचारी मोजमस्ती गर्छन्। आफन्त बोलाउँछन्, मिष्ठान्न पकाउँछन्, भोज लगाउँछन्। तर, जनताचाँहि चामल बचाउन एकछाक मात्र खान्छन्। जनता न आफ्नो अधिकार लिन सक्छन् न नेता र सरकारी कर्मचारीसँग प्रश्न गर्न सक्छन्।
विदेशबाट ल्याएको २७ खर्ब खोइ? जनताले तातो भूमिमा मरिमरि कमाएर पठाएको रेमिट्यान्स खोइ? हामीले तिरेको कर खोइ? छिमेकी चीन र भारतलाई बेचेको जमिनको पैसा खोइ? भनेर प्रश्न गर्ने आँट जनतासँग छैन्। जनताको सोझोपनको फाइदा नेता, सरकारी कर्मचारी र जनप्रतिनिधिले उडाए।
जति कर तिरे पनि खाएरै सकाएका छन्। नपुगेर विदेशीको सामुन्ने पनि हात फैलाएका छन्। नेपाली सँधै राजनीतिक दलको कार्यकर्ता भएर बस्यौं। सच्चा नेपाली भइदिएको भए आज नेपाल सायदै यस्तो हुन्थ्यो? न जनता भोकभोकै सुत्नपर्ने दिन आउँथ्यो। राजनीतिक दलको झोले बनेका नेपालीहरुले मुखमा बुझो लगाए।
पार्टी सदस्यताको नाममा आफ्नोविरुद्ध उठ्ने औंला रोक्दै गए, हामीले बुझ्दै बुझेनौं। जसले सबैभन्दा धेरै घुस खान्छ, उसैलाई ‘राष्ट्रसेवक’को ट्याग दियौं। हामीले भ्रष्टाचारी भनेर सशक्त रुपमा आवाज उठाउन सकेनौं। भ्रष्टाचार गर्ने नेताको सामुन्ने हामी निरीह र लाचार बन्यौं।
हाम्रो चुप्पीको फाइदा उनीहरुले लिए। हामीले जे गर्दा पनि जनता चुप लाग्छन् भन्ने परेर उनीहरुमा भ्रष्टाचार गर्ने मनोबल बढ्दै गयो। जनताले मुखमा बुझो लगाउँदाको असर आज सबैको अगाडि छ। विश्वको नजरमा नेपाल कहाँ छ? भन्दा पनि लाज लाग्ने अवस्था छ।
अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाल ठगहरुको देश भनिसकेका छन्। तैपनि नेताहरुलाई कुनै फरक परेको छैन्। योभन्दा लज्जास्पद कुरा के होला? जनताले बेलैमा सचेत गराइदिएको भए, आज विदेशीले यसरी भन्दैन्थिए होला। नेपालीको इज्जत कहाँ पुग्यो?
कुन आधारमा नेपाली भन्ने? यो कुरा विश्वले थाहा पाएको छ। विश्वको मिडियाले यसलाई समाचार बनाएका छन्। विश्वले नै यसबारे थाहा पायो। अर्कोतिर, यसैको फाइदा उठाएर छिमेकीले नै हामीलाई दबाए। भारत र चीनले नेपालको भूभाग मिच्दा सुरक्षाकर्मीहरु टुलुटुलु हेरेर बसे। आफ्नो भूभाग जोगाउन उनीहरुले केही गर्न सकेनन्।
जनतामाथि शासन लाद्ने नेताहरु विदेशीको अगाडि चुइक्क बोल्न पनि सक्दैनन्। बोलुन पनि कसरी? उनीहरुबाटै ल्याएर खाएको छ। कुनै समयको प्रभावशाली मुलुकलाई नेताहरुले गिराए। अरुलाई सहयोग गर्ने मुलुक आज हात थाप्ने मुलुक बनेको छ। हामीलाई मागेर खाने बानी पर्यो।
जसका कारण विश्वको नजरमा नेपाल भिखारी देश पनि बन्यो। अमेरिकाले सहयोग रोक्नेवित्तिकै नेताहरुको होस उडेको छ। एनजिओहरुको सातो गएको छ। नेपालीलाई गरिब देखाएर डलरको खेती गर्नेहरुलाई रातमा निद्रा न दिनमा भोक भएको छ। भोलि अरु देशले पनि सहयोग दिँदैनन्।
अरु देशमा भएको नागरिक पनि नेपाल फर्काइदिन्छन्। सम्पत्ति शुद्धिकरणमा नेपाल ग्रे लिष्टमा परिसकेको छ। अब व्ल्याक लिष्टमा पर्ने बाटोमा छ। अलिअलिको अनुदान पनि रोकिन्छ। भारतसहित तेस्रो मुलुकले सामान पठाउन छोडिदिन्छन्। अनि हालत के हुन्छ? जनताले के खान्छन्?
त्यतिबेला सेयर, गाडी र घरको ईट्टा टोक्नु। आफ्नो खुट्टामा आफैंले बञ्चरो हान्ने काम गरिएको छ। भारतले एक साता मात्र सामान, ग्याँस, इन्धन पठाइदिएन् भने नेताहरुले देश नै भारतलाई सुम्पिन्छन्। आत्मनिर्भरता छैन। तै चला भन्छन्, छोडिदिन्छन्। उनीहरुलाई न हिजो देशको माया थियो न आज।
आफ्नो सात पुस्तालाई पुग्ने सम्पत्ति थुपारेका छन्। त्यति भए उनीहरुलाई पुगिहाल्यो। देश कुन अवस्थामा पुगिसक्यो? भन्ने कुरा अझै पनि नेताहरुले ख्याल गरेका छैनन्। नेता र सरकारी कर्मचारीले आफू बच्नका लागि जनता विदेशमा बेचे। पढेलेखेका, युवाहरुलाई विदेशमा बेचे।
गाउँका घर रित्तिए। खेत बाँझो भयो। कमाउनका लागि जनताहरु धमाधम बाहिरिए। त्यसपछि नेता र सरकारी कर्मचारीले बसिबसि खाए। मोज गरे। देशमा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आयो। तर, त्यो शेरबहादुर देउवा, माधवकुमार नेपाल, पुष्पकमल दाहाल र केपी शर्मा ओलीलाई मात्र रहेछ।
जनताको नाम लिएर यिनीहरुले देश नै बेचिदिए।