प्रतियोगितामा नगरका आठ विद्यालयका कक्षा ८, ९ र १० मा अध्ययनरत तीन–तीन जना विद्यार्थी सहभागी थिए। प्रत्येक विद्यालयबाट एक छात्रा र दुई छात्र प्रतियोगितामा सहभागी रहेको थियोे।
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा चन्दनाथ नगरपालिकास्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। “स्वास्थ्य शिक्षा समृद्ध राष्ट्रको आधार” भन्ने मूल नारासहित आयोजित प्रतियोगिता नेपाल रेडक्रस सोसाइटी जुम्ला जिल्ला शाखा, युवा अभियान–कर्णाली प्रदेश, र अनुस्मारक फाउन्डेसनको सहयोगमा सम्पन्न भएको हो।
नेपाल स्वास्थ्य कोर्प्स – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाको आयोजनामा चन्दनाथ माध्यमिक विद्यालयमा सम्पन्न प्रतियोगितामा श्री कनिका निसा माध्यमिक विद्यालय प्रथम भयो। श्री जीएमडी सार्वजनिक बोर्डिङ स्कूल दोस्रो, श्री चन्दनाथ माध्यमिक विद्यालय तेस्रो तथा श्री जनता माध्यमिक विद्यालय चौथो भए।
प्रतियोगितामा नगरका आठ विद्यालयका कक्षा ८, ९ र १० मा अध्ययनरत तीन–तीन जना विद्यार्थी सहभागी थिए। प्रत्येक विद्यालयबाट एक छात्रा र दुई छात्र प्रतियोगितामा सहभागी भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थी दिलिप प्रसाद हरिजनले जानकारी दिए।
कार्यक्रममा चन्दनाथ नगरपालिकाका मेयर राजुसिंह कठायत, चन्दनाथ–४ का वडाध्यक्ष नवराज देवकोटा, विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति थियो।
चन्दनाथ नगरपालिकाका मेयर कठायतले विद्यालयस्तरमै यस्ता ज्ञानमूलक प्रतियोगिताहरू गरिनु आवश्यक रहेको बताए। उनले भने, “विद्यार्थीहरूको बौद्धिक विकासका लागि हाजिरीजवाफ जस्ता कार्यक्रम फलदायी हुन्छन्। नगरपालिकाले आगामी दिनमा यस्ता कार्यक्रमहरूलाई प्राथमिकता दिनेछ।”
त्यस्तै, वडाध्यक्ष नवराज देवकोटाले विद्यार्थीहरूलाई अध्ययन–अनुसन्धानमा प्रेरित गर्ने उद्देश्यले यस्ता प्रतियोगिता गरिनु आवश्यक रहेको उल्लेख गरे। उनले भने, “हाम्रो समुदायका विद्यार्थीहरूले सिर्जनात्मक रूपमा सोच्न र आफ्ना ज्ञानलाई प्रयोगमा ल्याउन सिकून् भन्ने चाहना हो।”
प्रतियोगिता विजेता विद्यालयका विद्यार्थीहरूलाई प्रमाणपत्र तथा विभिन्न पुरस्कार दिँदै कार्यक्रम समापन गरिएको थियो।