मंगलवार, ३ असार, २०८२

राजेन्द्र कमरेडको जय नेपाल स्याउ बगैंचा

उनले आफ्नो बारीमा ३०० बोट स्याउ रोपेका छन्। व्यापारलाई मजबुत बनाउँदै छन्। घरको अवस्था पहिले निकै कमजोर थियो, तर अहिले परिवारका सबै कमाउने भएका छन्, जीवन केही सहज भएको छ।

पहाडको काखमा अडिएको एउटा गाउँ, मोफ्ला। चिसो हावामा मिसिएको गाईबस्तु चराउने गोठालाहरूको आवाज। टाढा, धुलाम्ये बाटोको छेउमा बालकहरू खेल्दै थिए। जहाँ राजनीति बिस्तारै घरको चौघेरासम्म छिर्न थालेको थियो, त्यहीँ जन्मिए राजेन्द्र रोकाया।

बल्ल उमेरले १८ टेक्दा नटेक्दै उनले राजनीतिमा पाइला टेके। गाउँका बुढापाकाहरू राजनीतिलाई सन्देहले हेर्थे, तर राजेन्द्रलाई लाग्थ्यो, यही बाटोले भविष्य निर्माण गर्छ। रातो झन्डा समाउँदै, नाराहरू घन्काउँदै उनी एमाले पार्टीको कार्यकर्ताका रूपमा अघि बढे।

समय बित्दै गयो। उनको सक्रियता देखेर पार्टीले जिम्मेवारी बढाउन थाल्यो। एमाले बढ्की गाउँ कमिटीको अध्यक्ष बनाउँदा उनले पहिलो चोटि जिम्मेवारीको भारी काँधमा महसुस गरे।

दुई कार्यकाल अध्यक्ष भएपछि ईकाई सचिव बने। ती वर्षहरू संघर्षका थिए, कहिले गाउँमा पार्टीलाई बलियो बनाउने कसरत, कहिले सरकारको निर्णयमा असहमति जनाउने आन्दोलन। तर उनलाई राजनीति अब पेशाभन्दा पनि भावनासँग जोडिएको जस्तो लाग्थ्यो।

देशको राजनीतिक छालले उनलाई पनि बगायो। एमाले–माओवादी एकतापछि उनी नेकपाका कार्यकर्ता भए। ठूलो पार्टी, ठूला निर्णयहरू। तर राजनीति जहिले पनि स्थिर रहँदैन। पार्टी फुट्यो, मनहरू चिरिए। कतिपय पुराना साथी अर्कै कित्तामा लागे।

त्यो बखत, उनलाई लाग्यो— आफ्नो सिद्धान्तअनुसार हिँड्नुपर्छ। उनले नेकपा एकीकृत समाजवादी पार्टी रोजे। न केवल कार्यकर्ता बने, बरु पार्टीको प्रदेश क्षेत्र नम्बर (ख) मा सचिवको जिम्मेवारी सम्हाले। त्यहाँबाट उनको यात्रा अझ फराकिलो भयो, ‘युवा संघको केन्द्रीय सदस्यसम्मको जिम्मेवारी।’

तर राजनीति केवल पदको खेलमात्रै थिएन। यो त सम्बन्धहरूको जालो पनि थियो। गाउँका साथीहरू जोसँग उनले राजनीति सुरु गरेका थिए, कतिपय अब उनका प्रतिस्पर्धी थिए।

चुनावको मौसम आयो। गाउँका बाटाहरू धुलाम्मे भए। चौक चौतारोमा अडिएको राजनीतिक बहस चर्कियो। राजेन्द्रले वडा अध्यक्षका लागि उम्मेदवारी दिए। त्यही बेला, एउटा अप्रत्याशित मोड आयो— उनको पुरानो मित्र, बलबहादुर रोकाया, जसलाई बीबीसी भनेर पनि चिनिन्छ। उनै बलबहादुर पनि बागी उम्मेदवार बने।

जीवनमा कतिपय निर्णयहरू बाध्यता हुन्छन्। तर कतिपय निर्णयहरू अप्ठ्यारो भए पनि लिनैपर्छ। राजेन्द्रले सोचेका थिएनन् कि कहिल्यै बलबहादुरविरुद्ध चुनाव लड्नुपर्नेछ। बाल्यकालका सम्झनाहरू उनका मनमा गडपगडप गर्न थाले। एउटै राजनीतिको बाटो समातेका मान्छे, तर अहिले चुनावी मैदानमा दुई ध्रुवजस्तै।

सम्बन्धहरू बिस्तारै औपचारिक बन्दै गए। पहिले जसरी मिलेर खिचेका फोटोहरू बिर्सन गाह्रो हुन्थ्यो। चुनावी माहोल चर्कँदै गयो। गाउँका साँघुरा बाटाहरू अब फराकिला नारा र प्रतिबद्धताले गुञ्जिन थाले।

त्यतिबेला राजेन्द्र रोकायालाई जीवन एउटा नक्सा जस्तै लाग्थ्यो। जहाँ बाटाहरू घुमाउरा छन्, तर प्रत्येक मोडमा एउटा नयाँ अनुभव, एउटा नयाँ संघर्ष लुकेको छ।

राजनीतिको मैदानमा प्रतिस्पर्धा गरेर अलग्गिएका उनीहरू फेरि एउटै झन्डामुनि आए। समयले मानिसलाई टाढा बनाउँछ, फेरि नजिक ल्याउँछ। एमाले फुटेपछि समाजवादी पार्टी रोजेका राजेन्द्रले फेरि एमालेमै फर्किने निर्णय गरे। राजनीति अवसरको खेल मात्र होइन, विचार र परिस्थितिले बनाएको गन्तव्य पनि हो।

राजेन्द्रको लागि राजनीति जीवनको मूल बाटो भए पनि पेट पाल्न र घर धान्न जागिर जरुरी थियो। २०७२ सालतिर, जब उनले चन्दननाथ सहकारीमा २५०० रूपैयाँ तलबमा जागिर थाले, उनको मनमा ठूलो द्वन्द्व थियो।

जागिरले नाम मात्रको सुविधा दिन्थ्यो। हेटेल खर्च नै ३५०० रूपैयाँ थियो। तर उनलाई थाहा थियो, संघर्ष सधैंभरि रहँदैन, समय बदलिन्छ। यही सोचेर उनले सहकारीमा निरन्तर काम गरे। मेहनतको फलस्वरूप उनी म्यानेजरसम्म पुगे। तीन पटक गरी पाँच वर्षसम्म जागिरको अनुभव सँगाले।

तर, केवल जागिरले मात्र उनलाई सन्तोष दिन सकेन। उनी केही सिर्जनात्मक, केही नयाँ गर्न चाहन्थे। शिक्षा क्षेत्रप्रति उनको रुचि थियो। गाउँमा राम्रा स्कुलहरूको कमी थियोे। उनले यो अभावलाई अवसरमा बदल्ने प्रयास गरे।

त्यसै क्रममा, अहिलेका सिंजा गाउँपालिकाका अध्यक्ष पूर्ण धितालको ‘मदरल्याण्ड एकेडेमी’ संचालन गरे। बालबालिकाहरूको शिक्षामा योगदान दिने सपना बोकेका उनीहरूका लागि यो एउटा नयाँ सुरुवात थियो। यसैगरी, हिमा मोर्डन एकेडेमी (गोठी जिउला) पनि सञ्चालन गरे।

राजेन्द्रको कथा एउटा यात्राजस्तै हो, जसले सधैंभरि सीधा बाटो समात्दैन। ऊ कहिले घुमाउरो हुन्छ, कहिले अवरोधहरू पार गर्दै अघि बढ्छ।

उनले राजनीति अंगालेको लामो समय भइसकेको थियो। तर केवल राजनीतिले मात्रै जीवन चल्दैनथ्यो। जागिरको आम्दानी पर्याप्त थिएन, त्यसैले उनले व्यापार पनि गरे।

हिमालमा उत्पादन हुने स्याउ, सिमी र घोडाम्चोलाई बजारसम्म पुर्‍याउन लागिपरे। उनी व्यापारमा जति सफल भए, उति नै राजनीतिले उनलाई बाँधिरह्यो। राजनीति उनको नसामा गडेको थियो, तर उनको आत्माले भने भिन्नै आवाज दिइरहेको थियो।

उनी जहिल्यै राजनीतिक विचारधारासँग सम्झौता नगर्ने पक्षमा थिए। तर उनले देख्न थाले, पार्टीभित्र व्यवहार विचारअनुसार चलेको छैन। युवा संघको जिल्ला समिति निर्माणको बेला असन्तुष्टि चुलियो। उनी आफैंभित्र एउटा द्वन्द्वमा थिए। राजनीति परिवर्तनको लागि थियो कि केवल नेताहरूको स्वार्थको लागि?

जब उनलाई लाग्यो, अन्धभक्त राजनीति हावी हुँदैछ, उनले कम्युनिस्ट विचारधारासँगको सम्बन्ध टुंग्याए। उनले कांग्रेस रोजे। यो परिवर्तन सजिलो थिएन।

“आफूले रोपेको विरुवाको फल खान पाइनँ, पिर यसैमा छ,” उनले भावुक हुँदै भने।

राजेन्द्रको जीवनलाई कुनै एउटा रेखामा सीमित गर्न सकिन्न। उनी न त केवल राजनीतिज्ञ थिए, न मात्र व्यापारी, न त केवल जागिरे। उनी यी सबै भूमिकाका संगम थिए। कहिले एउटा आन्दोलनकारी, कहिले संघर्षशील युवा, कहिले शिक्षक, त कहिले व्यवसायी।

समयले उनलाई धेरै मोडहरू देखायो। १८ वर्षको उमेरदेखि राजनीति अँगालेका उनले स्थानीय तहदेखि केन्द्रीय तहसम्म पार्टीका विभिन्न जिम्मेवारी सम्हाले। एमाले, नेकपा, समाजवादी हुँदै काँग्रेससम्म उनको राजनीतिक यात्रा कुनै सतहमा सीमित भएन। तर, राजनीति उनको नसामा बसिसकेको भए पनि पेट पाल्न त्यो मात्र पर्याप्त थिएन।

घाटामै भए पनि उनले जिन्दगी सम्हाले, भोलिको आशा गरेर। उनी कार्यालयका कोठाभित्र कागजात पल्टाइरहँदा, बाहिर संसार निकै फरक गतिमा दौडिरहेको हुन्थ्यो। उनी त्यो गतिबाट पछि नपरून् भन्ने चाहन्थे।

तर पनि, राजनीतिको मोह उनलाई छोड्दैन थियो। राजनीति उनको रक्तसञ्चारमा थियो। पार्टीहरू परिवर्तन भए, विचार परिवर्तन भए, तर उनको सक्रियता कहिल्यै कम भएन।

अब भने उनलाई लाग्न थाल्यो, राजनीति मात्र पर्याप्त छैन। पार्टीहरू विचारमा मात्रै उन्नत भए, व्यवहारमा भएनन्। त्यसैले अब, उनी राजनीतिलाई नसा बनाउन चाहँदैनन्। परिस्थिति अनुसार अगाडि बढ्ने सोच बनाए। “अब जागिर नखाने। व्यवसाय र राजनीति सँगै लैजाने।”

उनले आफ्नो बारीमा ३०० बोट स्याउ रोपेका छन्। व्यापारलाई मजबुत बनाउँदै छन्। घरको अवस्था पहिले निकै कमजोर थियो, तर अहिले परिवारका सबै कमाउने भएका छन्, जीवन केही सहज भएको छ।

उनले माथि भनेको वाक्यलाई थोरै परिमार्जन गरेर भने, “राजनीतिमा आफूले रोपेको विरुवाको फल खान पाइनँ, अब बारीमा रोपेका बिरुवाको फल अवश्य खान पाउँला भन्ने आशा छ।”

यो वाक्य उनका जीवनको सम्पूर्ण संघर्षको सार हो। राजनीति, जागिर, व्यापार उनले गरेका सबै प्रयासहरूको निचोड हो। उनले रोपेका विरुवाहरूले चाँडै हरियाली ल्याउनेछन्। सायद त्यो दिन उनको हातमा स्याउको फल नहोला, तर ती विरुवाले अरूलाई चिसो छायाँ दिन अवश्य छाड्नेछन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार