मधुमेह, जसलाई ‘चिनी रोग’ पनि भनिन्छ, शरीरमा रक्तमा चिनी (ग्लुकोज) को मात्रा असामान्य रूपमा बढ्दा हुने दीर्घकालीन समस्या हो। यो रोग खासगरी शरीरमा इन्सुलिन हर्मोनको असन्तुलनका कारण देखा पर्छ।
मधुमेह विभिन्न कारणले हुन सक्छ। कोही मानिसहरू जन्मजात रूपमा नै यसको जोखिममा हुन्छन् भने कतिपयमा अस्वस्थ जीवनशैलीका कारण यो रोग देखा पर्छ।
आजको जमानामा धेरै मानिसहरूको जीवनशैली तनावपूर्ण, गतिहीन, र अस्वस्थ बन्दै गएको छ। यसरी बदलिँदो जीवनशैलीसँगै केही रोगहरू पनि तीव्र रूपमा फैलिएका छन्, जसमा मधुमेह अग्रस्थानमा छ।
मधुमेह, जसलाई ‘चिनी रोग’ पनि भनिन्छ, शरीरमा रक्तमा चिनी (ग्लुकोज) को मात्रा असामान्य रूपमा बढ्दा हुने दीर्घकालीन समस्या हो। यो रोग खासगरी शरीरमा इन्सुलिन हर्मोनको असन्तुलनका कारण देखा पर्छ।
इन्सुलिन प्यान्क्रियास (अग्न्याशय) मा बन्ने हर्मोन हो, जसले रक्तमा रहेको ग्लुकोजलाई शरीरका कोशिकामा प्रवेश गराएर ऊर्जा उत्पादनमा सहयोग गर्छ। जब शरीरले पर्याप्त इन्सुलिन उत्पादन गर्न सक्दैन वा उत्पन्न भएको इन्सुलिन सही तरिकाले प्रयोग गर्न सक्दैन, तब रक्तमा चिनीको मात्रा बढ्न थाल्छ।
मधुमेह विभिन्न कारणले हुन सक्छ। कोही मानिसहरू जन्मजात रूपमा नै यसको जोखिममा हुन्छन् भने कतिपयमा अस्वस्थ जीवनशैलीका कारण यो रोग देखा पर्छ।
अत्यधिक चिल्लो र गुलियो खाना खाने बानी, व्यायामको कमी, धूम्रपान, मद्यपान, तनाव र मोटोपन मधुमेहका प्रमुख कारकहरू हुन्। तर, यसले केवल वृद्धवयस्कहरूलाई मात्र होइन, अहिलेका युवायुवती र किशोर–किशोरीहरूलाई समेत असर पार्न थालेको छ।
केही महिलाहरूमा गर्भावस्थामा पनि रक्तमा ग्लुकोजको मात्रा असन्तुलित हुने देखिन्छ, जसले आमा र शिशु दुवैलाई जोखिममा पार्न सक्छ। मधुमेहलाई ‘निशब्द घातक रोग’ भनेर पनि चिनिन्छ। किनभने यसको सुरुआती चरणमा स्पष्ट लक्षणहरू नदेखिन सक्छन्।
धेरै मानिसहरूले अनावश्यक रूपमा थकान महसुस गर्ने, बारम्बार पिसाब लाग्ने, अस्वाभाविक भोक लाग्ने, धेरै तिर्खा लाग्ने, आँखा धमिलो देखिने, सानो घाउचोट निको हुन ढिलो हुने जस्ता समस्याहरू अनुभव गर्छन्। यस्ता संकेतहरू देखिए पनि धेरैजसोले त्यसलाई बेवास्ता गर्छन्, जसका कारण दीर्घकालीन रूपमा गम्भीर स्वास्थ्य समस्या निम्तिन सक्छ।
समयमै मधुमेह पत्ता लगाएर उचित उपचार गरिएमा यो रोगलाई नियन्त्रण गर्न सकिन्छ। चिकित्सकहरूले रक्त परीक्षण गरेर यसलाई पहिचान गर्छन्।
बिहान खाली पेट रक्तमा ग्लुकोजको मात्रा १२६ mg/dl वा भन्दा बढी भएमा वा खाना खाएपछि २०० mg/dl वा भन्दा बढी भएमा मधुमेहको संकेत मानिन्छ। साथै, पछिल्ला तीन महिनाको औसत रक्त चिनीको मात्रा मापन गर्ने HbA1c परीक्षण पनि गरिन्छ। जसको परिणाम ६.५ प्रतिशत वा भन्दा माथि भएमा मधुमेह भएको मानिन्छ।
मधुमेहको उपचार केवल औषधिमा मात्र भर पर्नु हुँदैन, बरु स्वस्थ जीवनशैली अपनाउनु नै सबैभन्दा प्रभावकारी उपाय हो। स्वस्थ जीवनशैली भनेको नियमित व्यायाम, सन्तुलित आहार, तनाव व्यवस्थापन, र अनुशासित दिनचर्या हो।
मधुमेह भएका व्यक्तिहरूले नियमित रूपमा व्यायाम गर्नुपर्छ, जसले शरीरमा इन्सुलिनको प्रभावकारिता बढाउँछ। बिहान बेलुका कम्तीमा ३० देखि ४५ मिनेटसम्म हिँड्ने, हल्का दौडिने, योग वा ध्यान गर्ने बानीले रक्तमा चिनीको मात्रा सन्तुलित राख्न मद्दत गर्छ।
खानपानको उचित व्यवस्थापन मधुमेह नियन्त्रणको अर्को महत्वपूर्ण पक्ष हो। हरियो सागसब्जी, साबुत अन्न, फाइबरयुक्त खाना, ओखर, बदाम, जैतुन तेल, ब्राउन राइस जस्ता स्वास्थ्यवर्द्धक खानेकुरा खानु लाभदायक हुन्छ।
अत्यधिक गुलियो, मैदा, सेतो चामल, बोसोयुक्त खाना, प्रशोधित (processed) खाद्यपदार्थहरू, कोल्ड ड्रिंक, जंक फुड आदिको सेवन तथा मधिरापान र धुम्रपानले रक्तमा चिनीको मात्रा असन्तुलित बनाउन सक्छ, जसले मधुमेहलाई झन् गम्भीर बनाउँछ।
तनाव र मानसिक स्वास्थ्यको समेत मधुमेहसँग गहिरो सम्बन्ध छ। अत्यधिक तनावले रक्तमा ग्लुकोजको मात्रा बढाउन सक्छ। त्यसैले मानसिक शान्तिका लागि ध्यान (meditation), योग, संगीत सुन्ने, वा मनपर्ने कार्यमा समय बिताउने बानी बसाल्नुपर्छ।
साथै, पर्याप्त निद्रा लिनु पनि अत्यावश्यक छ। निद्रा नपुग्दा शरीरमा हर्मोनल असन्तुलन आउन सक्छ। जसले मधुमेहको अवस्था झन् जटिल बनाउँछ।
यदि मधुमेहलाई नियन्त्रणमा राखिएन भने यसले शरीरका विभिन्न अंगहरूमा गम्भीर असर पार्न सक्छ। दीर्घकालीन रूपमा उच्च रक्त चिनीको मात्राले मुटु रोग, मिर्गौला फेल हुने जोखिम, अन्धोपन, पक्षघात, नसासम्बन्धी समस्या, घाउ निको हुन कठिनाइ, तथा हातखुट्टा गुमाउने जस्ता गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ।
विशेषगरी, मधुमेह भएका मानिसहरूमा रक्तसञ्चार कमजोर हुने भएकाले सानो चोटपटकले पनि जटिल अवस्था सिर्जना गर्न सक्छ। तर, मधुमेहलाई एउटा जीवनभर साथ लाग्ने रोग भनेर मात्र हेर्नु हुँदैन।
यसलाई अनुशासित जीवनशैलीमार्फत प्रभावकारी रूपमा व्यवस्थापन गर्न सकिन्छ। नियमित स्वास्थ्य परीक्षण, व्यायाम, सन्तुलित आहार, पर्याप्त आराम र सकारात्मक सोचले मधुमेह भएका व्यक्तिहरूले पनि स्वस्थ र खुसी जीवन जिउन सक्छन्।
जीवनशैलीमा सुधार ल्याउन सकेमा मधुमेह नियन्त्रण गर्न सकिन्छ। “स्वास्थ्य नै धन हो” भन्ने पुरानो भनाइ आज पनि उत्तिकै सान्दर्भिक छ। स्वस्थ जीवनशैली अपनाऔं, मधुमेहलाई टाढा राखौं, र खुशीसाथ जीवन जिऔं!