स्वदेश फर्केर इलम -१
एयरपोर्टको तल्लो कुनामा रहेको सानो सैलुनमा कपाल काट्न आउने मानिसहरूले केवल सेवा मात्र पाउँदैनन्। उनीहरूले एउटा असल प्रयास, संघर्ष र सफलता भेट्छन्। हरिकृष्णका लागि यो मात्र सफलता होइन, आफ्नो पहिचान फेला पार्ने क्षण हो।
गुठीचौर गाउँपालिका-४ का ३६ वर्षीया हरिकृष्ण नेपाली बाहिरी नजरमा साधारण लाग्छन् तर उनको जीवनगाथा एउटा विशाल संघर्षको क्यानभास हो। औसत उचाइ, गहुँगोरो वर्ण, मिजासिलो स्वभाव र मीठो बोलीले उनलाई पहिलो भेटमै प्रिय बनाउँछ। तर, उनीभित्र गुम्सिएको दु:खको महासागरले उनको वास्तविक कथा बोल्छ।
उनको जीवनका कठिन मोडहरु २०७१ सालदेखि सुरु भए। समाज, परिवार संरचना र पेट पाल्नुपर्ने दानवी चक्रबाट उम्किन विदेश जानुको विकल्प थिएन। उनले बहराइनलाई रोजे, जहाँ लाखौं नेपाली युवा भविष्य निर्माणका लागि संघर्ष गरिरहेका थिए। त्यहाँ पुगेपछि उनले सपना र वास्तविकताबीचको गहिरो खाडल महसुस गरे।
सुरुका दिनमा उनको जीवन सामान्य देखिन्थ्यो। काम, खानपान, आराम—सबै केही निश्चित थियो। तर, बिस्तारै उनलाई निन्द्राको समस्या देखा पर्न थाल्यो। रातभर आँखाको निन्द्रा हराउँथ्यो। सँगै काम गर्ने साथीहरू मस्त सुत्थे, तर उनी विस्तारामै आँखा चिम्लेर घन्टौँ तड्पिन्थे। समस्या जटिल बन्दै गयो। ड्युटीमा उनी निद्राविहीन अवस्थामै घण्टौँ काम गर्थे। थकानले शरीर गल्थ्यो, तर मानसिक तनाव भने घट्दैनथ्यो।
“त्यो समय मैले बुझें, कामले मात्रै जिन्दगी चल्दैन। स्वास्थ्य महत्त्वपूर्ण रहेछ। म निदाउन नसकेर बिस्तारै कमजोर हुँदै गएँ। कम्पनीले मलाई वास्ता गरेको थिएन। प्रहरीलाई खबर गर्न नसकेको भए म त्यहीँ मर्थेँ होला।” उनको आवाजमा त्यो पीडाको स्मरण आज पनि ताजै सुनिन्छ।
बहराइन पुगेको केही महिनामै उनी थाके। मानसिक समस्या र थकावटले गर्दा अन्ततः उनी घर फर्कने निर्णयमा पुगे। लगानी खेर गयो। तर, नेपाल फर्किएपछि पनि निद्रा सुधार भएन। “घर आएपछि पनि करिब ११ महिना निदाउन सकिनँ। बिस्तारै स्थिति सुधारिए पनि, समस्या आजसम्म पूरै हटेको छैन। बाँचे त्यसैमा खुसी छु,” उनी सुनाउँछन्।
विदेशको निराशा बोकेर फर्किएका हरिकृष्ण नेपालमा जीवन सुचारु गर्ने योजनामा थिए। तर, गाउँमा रोजगारीका अवसर थिएनन्। छोराछोरी र परिवारको भविष्य बनाउने सपना बोकेर उनी फेरि कामको खोजीमा भारत लागे।
भारतमा उनले दक्षिणदेखि उत्तरसम्मका विभिन्न ठाउँमा काम गरे। निर्माण, होटल व्यवसाय र किराना पसलजस्ता काममा उनी दिनरात खटिए। तर, कमाइ सीमित रह्यो। हरेक महिनाको कमाई घरखर्चमै सकिन्थ्यो। “सोचेको जस्तो कहिल्यै भएन। भारतमा दिनरात खटेर पनि भविष्य सुरक्षित हुने संकेत देखिएन,” उनले गम्भीर स्वरमा सुनाए।
भारतमा संघर्ष गरेर पनि हातमा ठोस उपलब्धि नदेखिएपछि हरिकृष्णले घर फर्किने निर्णय गरे। यो निर्णय सजिलो थिएन। गाउँमा न कुनै ठोस अवसर थियो, न त उनको मनमा कुनै स्पष्ट योजना।
घर फर्केर उनले जिन्दगीलाई नयाँ बाटो दिने प्रयास गरे। तर, अवसरको अभावले उनीभित्र निराशा र तनाव बढ्दै गयो। उनी आफ्नो जीवनलाई भौतारिएको कस्तुरीझैं लाग्थ्यो, जसले आफ्नो बिनाको सुगन्ध पत्ता लगाउन कठिन संघर्ष गर्छ।

तर, यो भौतारिँदो यात्रामा पनि उनले आफूभित्र रहेको आत्मविश्वासको एउटा धारा कहिल्यै सुक्न दिएनन्। उनी गाउँमा विभिन्न किसिमका साना काम गर्न लागे। कहिले मेलापात, कहिले दैनिक मजदूरी, कहिले कृषि—तर यी सबै अस्थायी कामले जीवनमा स्थायित्व दिन सकेन।
उनको जीवनमा नयाँ मोड भने एक वर्ष अघि मात्रै आयो। भदौ १ को दिन थियो। हिमालपारीका शहरमा प्रायः मधेसी समुदायले मात्रै गर्दै आएको सैलुन व्यवसायतर्फ उनले हात हाले। यो निर्णय उनले हठात् गरेनन्। उनले समय लगाएर व्यवसाय सिके, बजारको माग बुझे र बिस्तारै आफ्नै सैलुन सुरु गरे।
“शुरुमा त सोचेको पनि थिएन, यो कामबाट जिन्दगी चलाउन सकिन्छ भनेर। तर, मैले धैर्य गर्न थालेँ, नयाँ कुरा सिक्न थालेँ। ग्राहकका कुरा सुन्ने, राम्रो सेवा दिन सक्नुपर्छ भन्ने बुझेँ। यसैले गर्दा आज जिन्दगी केही हदसम्म ठिकठाक चलिरहेको छ,” उनी भन्छन्।
विदेशको असफलता र मानसिक संघर्षको भारी बोकेर घर फर्किएका उनले नेपालमा रोजगारीको अभाव महसुस गरे। परिवारको जिम्मेवारी बढ्दै जाँदा उनी फेरि कामको खोजीमा भारतको पञ्जाबमा पुगे। त्यहाँ उनी कुखुराको मासुको व्यवसाय गर्ने एक मालिककोमा काम गर्दै थिए। त्यहाँ हुँदा उनी त्यहाँको एउटा सैलुनमा गइरहन्थे।
सैलुनमा जान-आउने क्रममा उनले महसुस गरे—यो व्यवसायमा ग्राहकको संख्या धेरै छ। हेर्दा-हेर्दै त्यहाँ भिड भएको बेला उनले ग्राहकका लागि मेसिन लगाउने सानो काम गर्न थाले। यो सानो काम उनको जीवनमा नयाँ रुचि अंकुरित गराउने आधार बन्यो। उनी आफैं कपाल काट्ने काममा रमाउन थाले।
“त्यो बेला म सैलुनको कामप्रति यति आकर्षित भएँ कि यो काम राम्रोसँग सिक्न पाए जीवन बदलिन सक्छ भन्ने विश्वास जाग्यो,” हरिकृष्ण सम्झन्छन्।
तर, सैलुन व्यवसायका लागि उनले तत्कालै सफलता पाएनन्। उनी नेपाल फर्केर काठमाडौं गएको बेला मधेसी मुलका मानिसहरूसँग सिक्न खोज्दा उनले अस्वीकृति पाए। पैसा तिरेर सिक्छु भन्दा पनि उनले सहयोग पाउन सकेनन्।
“त्यो बेलाको तिर्सना सम्झिदा आज पनि अनौठो लाग्छ। तर म रोकिइनँ। एक जना दंगाली दाइलाई ५० हजार रुपैयाँ दिएर सिप सिकेँ। त्यो पैसा मेरो लागि ठूलो थियो, तर यो मेरो पहिलो सफलता जस्तो भयो,” उनी भन्छन्।
सिप सिकेपछि उनको आत्मविश्वास बढ्यो। तर, परिवारको स्थिति त्यतिबेला सहज थिएन। कोरियन दाताको सहयोगमा उनका दुई छोराहरू काठमाडौंमा पढिरहेका थिए। श्रीमतीले पनि काठमाडौंमा काम पाएकोले परिवार अलिकति चलायमान जस्तो देखिन थाल्यो। उनी त्यहिँ थिए।
तर परिस्थिति काठमाडौंबाट जुम्ला फर्किनुपर्ने बन्यो। सैलुनको सिप सिकेर फर्किएपछि उनले जुम्लामा स्थायी रूपमा बस्नुपर्ने परिस्थिति आयो। जुम्ला आएपछि पनि उनले स्थायित्व खोज्दै विभिन्न काम गरे। कहिले खुद्रा पसल, कहिले अन्य साना व्यवसाय। तर, यी सबै प्रयास असफलतामा परिणत भए।
“पसलमा त पैसा पनि डुब्यो। जे गरे पनि हातमा केही टिकेन। म निराश थिएँ। तर सैलुन खोल्ने सोच भने छोडेको थिइनँ,” उनले भने।

जब उनले केही सिनियरहरूसँग सैलुन खोल्ने योजना शेयर गरे, उनीहरूले उत्प्रेरणा दिन सकेनन्। “उभिएर गर्ने काम हो, तँ सक्दैनस्। तँ अल्छी छस्,” उनीहरूले भनेका शब्द अझै पनि उनको कानमा घन्किन्छन्।
तर, हरिकृष्णको मन नथाक्ने थियो। उनले आफूलाई प्रमाणित गर्ने दृढ अठोट गरे। “बरु जुवा खेलेँ भनौंला, तर यो काम म गरिछाड्छु भन्ने सोचेँ।” यो अठोट उनका लागि टर्निङ पोइन्ट बन्यो।
जुम्ला एयरपोर्टको तल्लो कुनामा सैलुन खोल्नुअघि उनले आफ्नो कामलाई मनले स्वीकार गरे। “मेरो लागि यो व्यवसाय कुनै लाजको कुरा थिएन। बरु मेहनत गरेर आफैंलाई स्थापित गर्ने बाटो थियो,” उनी भन्छन्।
गाउँको आर्थिक अवस्था र मानिसहरूको रोजाइलाई मध्यनजर गर्दै उनले आफ्नो काम सुरु गरे। सुरुमा यो काम चुनौतीपूर्ण थियो। आफन्त साथीभाइले उनले सुरु गर्न थालेको सैलुन व्यवसायबाट सफल हुन नसकिने ठानेका कारण उनलाई धेरै संघर्ष गर्नुपर्यो।
तर, उनले आफ्नो व्यवसायलाई आत्मसम्मानको रूपमा लिइरहे। मेहनत र धैर्यकै कारण उनले स्थानीयको विश्वास जित्दै गए।
विदेश र भारतमा बिताएका संघर्षका दिनले उनलाई आफ्ना सीप र रुचिलाई नयाँ ढंगले सोच्न सिकायो। आफूले सिकेको सैलुनको सीपलाई व्यवसायमा बदल्ने योजना सहज थिएन। आर्थिक अभाव र समाजको उत्प्रेरणा नदिने खालको प्रतिक्रिया उनका मुख्य चुनौती थिए।
तर, उनले आफ्नो अठोटलाई हावामा बिलाउन दिएनन्। आफ्नै आत्मबल र केही नजिकका आफन्तको सहयोगले उनले आफ्नो सपना साकार पार्ने योजना थाले।
उनले ३० हजार रुपैयाँको लगानीमा आफ्नो सैलुन तयार पारे। पसलमा तीनतिर ऐना राखे, जसको फ्रेम उनका भिनाजुले नि:शुल्क बनाइदिए। सुरुमा सानै व्यवस्थापन भए पनि उनले आफ्नो व्यवसायको नामलाई भने विशेष बनाउने निर्णय गरे। उनको सैलुनको न्वारान गरियो, “युनिसेक्स”।
नामको अर्थ साधारण लाग्दैन र त्यस्तै सोच उनले नामकरणमा पनि राखे। “महिला र पुरुष दुबैलाई सेवा दिन सक्ने बनाउने मेरो लक्ष्य थियो। त्यसैले नाम पनि त्यसैलाई प्रतिबिम्बित गर्ने राखें,” उनले भने।
व्यवसाय सुरु गर्दा उनी अलि असजिलो महसुस गर्थे। कपाल काट्न कैँची चलाउँदा ढिलो गर्थे। ग्राहकहरू उनको सीपप्रति अलि शंका गर्थे। “पहिलो पटक सैलुन खोल्दा यस्तो लाग्थ्यो, कोही ग्राहक आउलान कि नआउलान। कतिले विश्वास गरेनन् पनि,” उनले भने।
तर, उनले आफ्नो सीपलाई परिमार्जन गर्न समय लगाएनन्। ग्राहकहरूसँगको संवादमा मिठास राखे। उनी बिस्तारै आत्मविश्वास र भरोसा कमाउन थाले।

आजको दिनमा बुढापाका, युवा, महिला—सबैको विश्वास जित्दै उनले आफ्नो सैलुनलाई नयाँ पहिचान दिलाएका छन्। “अहिले बुढादेखि वृद्धसम्म मेरोमा रौं काट्न आउँछन्। यसले मलाई खुसी बनाएको छ,” उनी गर्वका साथ भन्छन्।
व्यवसायलाई बिस्तारै स्थिरता दिँदै जाँदा उनले आफ्नो पारिवारिक जिम्मेवारीलाई पनि कुशलतापूर्वक निभाउन थाले। उनकी श्रीमती अहिले विदेशमा छिन्। सासुले छोराहरूको हेरचाह गरिरहेकी छन्।
उनी आफैं भने बजारमा बस्छन्। सैलुन व्यवसायको नियमितताले उनलाई कुनै मानसिक तनावको समय दिएको छैन। “सुरुवातका दिनहरू कठिन भए पनि अहिले म आफ्नो जीवनको यस मोडमा सन्तुष्ट छु।”
उनले आफ्नो बाटो पहिल्याए। उनले आफूलाई प्रेरित गर्न ‘सेल्फ मोटिभेसन’लाई महत्वपूर्ण ठाने।
“यो व्यवसाय ढिलो सुरु गरेँ भनेर पछुतो लाग्छ। तर, सुरु गरेपछि कहिल्यै पछि फर्केर हेरेको छैन। यो सबै मैले आफ्नो आत्मबलले सम्भव बनाएको हुँ,” उनी भन्छन्।
उनले २०६४ सालमा एसएलसी उत्तीर्ण गरेका थिए। त्यो समयसम्म पनि उनले आफ्नो जीवनको स्पष्ट उद्देश्य पाएका थिएनन्।
जीवनका हरेक प्रयासहरू असफल हुन थालेपछि उनी निराशाको भुमरीमा फसे। “जिन्दगी नै यही रहेछ, धेरै पटक उठ्न खोजेँ तर सकिनँ,” उनी भन्छन्, “मेरा सबै प्रयासले पेट त भरियो। सपनाहरू सधैं अधुरा रहे।”
सैलुन व्यवसाय सुरु गरेपछि परिस्थितिले उनलाई केही राहत दियो। अब उनी आफ्नो श्रमबाट केही बचत गर्न थालेका छन्।
जुम्लाको चिसो मौसममा बजार सुनसानजस्तै देखिन्छ। मान्छेको आवागमन घटेको छ। जसले व्यापारमा असर पार्छ। यस्तो अवस्थामा पनि उनले सन्तोषपूर्वक आफ्नो कामलाई निरन्तरता दिएका छन्। “अहिले कम छ, तर सिजनमा दिनको १५ सयदेखि दुई हजार मजाले कमाई हुन्छ,” उनी भन्छन्।
उनले सैलुनको मूल्यसमेत स्थानीयलाई सहज हुनेगरी राखेका छन्। “स्पेसल कटिङको दुई सय लिन्छु। चिनजानका मान्छे आए १५० सम्ममा गरिदिन्छु,” उनले थपे।
हरिकृष्णले सधैं इमानदारीपूर्ण श्रमलाई प्राथमिकतामा राखे। उनका लागि जीवन चलाउनु मात्र होइन, सम्मानपूर्वक जीवन जिउनु महत्वपूर्ण छ। “पापी पेट र शरिरका लागि इमान्दारीपूर्वक जे पनि गर्न पछि हट्नु हुँदैन। जिम्मेवारी आएपछि पहाडै उठाउन सकिने आँट आउँछ,” उनी गर्वका साथ भन्छन्।

घरका एक्ला छोरा भएका हरिकृष्णले बाल्यकालमा खासै काम गरेनन्। तर, परिवारको जिम्मेवारी थाप्लामा परेपछि उनले आफूभित्रको साहसलाई पहिचान गरे।
“जिन्दगी बल्लतल्ल किनारामा आएको हो,” उनी भन्छन्। यो विश्वासले उनलाई अझ बलियो बनाएको छ। सैलुन व्यवसायले मात्र उनलाई आर्थिक स्थायित्व दिएको छैन, बरु आत्मसम्मान पनि दिएको छ।
जुम्लाको एउटा कुनाबाट सुरु भएको यो कथा, केवल एउटा व्यक्तिको संघर्षको कहानी होइन। यो कथा हो—जिन्दगीलाई फेरि थालनी गर्न हिम्मत गर्नेहरूसँग प्रेरणाको सन्देश पुर्याउने।
शुरुमा उनलाई धेरैले पत्याएनन्। तर, अहिले त्यो परिदृश्य बदलिएको छ। “मेरो काम राम्रो भएको देखेर होला, हौसला दिने धेरै छन्,” उनी भन्छन्।
अहिले उनका लागि सैलुन विदेश जानुको विकल्प बनेको छ। उनले थपे, “आफ्नै देशमा मान रहेछ, मेहनत गरेपछि। विदेश नगएर यतै काम गरेको भए के हुन्थ्यो भनेर कहिलेकाहीँ सोच्छु।”
उनले काठमाडौंमा सिकेको सैलुन सिपलाई उतै व्यवसायमा बदल्ने नसोचेका होइनन् तर, त्यहाँ कसैले नदेख्ने कुरा उनलाई मन परेन।
“आफ्नै ठाउँमा सबैले मेरो काम देखिरहेका छन्। राम्रो लाग्छ। मेरो काम देखेर यहाँका स्थानीय कसैले यो काम सुरु गरे भने, मेरो लागि त्यो ठूलो उपलब्धि हुनेछ,” उनी थप्छन्।
सैलुनले उनलाई मनग्ये आम्दानी नदिए पनि मनग्ये सन्तुष्टि दिएको छ। सस्तो लागतमा सुरु भएको व्यवसायले उनलाई आत्मसम्मानको नयाँ उचाइमा पुर्याएको छ।
उनले समाजमा एउटा सन्देश पनि दिएका छन्, “सिप र इमान्दार श्रमले मानिसलाई कहाँबाट कहाँ पुर्याउन सक्छ।” उनको जीवनको यो अध्याय व्यक्तिगत सफलता मात्र नभई सिप र संघर्षको सम्मान पनि हो।
एयरपोर्टको तल्लो कुनामा रहेको सानो सैलुनमा कपाल काट्न आउने मानिसहरूले केवल सेवा मात्र पाउँदैनन्। उनीहरूले एउटा असल प्रयास, संघर्ष र सफलता भेट्छन्। उनका लागि यो मात्र सफलता होइन, आफ्नो पहिचान फेला पार्ने क्षण हो।
“अब जिन्दगी किनारा लागेको जस्तो लाग्छ। केहि नयाँ गर्नुपर्छ भन्ने प्रेरणा मिलेको छ,” उनी मुस्कुराउँदै भन्छन्। उनको सैलुन भित्र उफरमा गीत बजिरहेको थियोे। हामी मन्द मुस्कान सहित छुट्टियौं।

















