सोमबार, २ असार, २०८२

हुम्लाका चट्टानी बाटा जस्तै उत्तरविहीन प्रश्नहरू

हुम्ला डायरी -४

हुम्लालाई नजिकबाट बुझ्दै जाँदा यो ठाउँ नेपालकै एउटा लघु प्रतिबिम्ब जस्तो लाग्थ्यो। यहाँको भूगोलमा भित्र तराईको आँप र पहाडको केरा देखि हिमालको यार्सागुम्बा सम्म अटाएका थिए। यो मिश्रणले हुम्ला केवल एउटा जिल्ला नभएर सिंगो देशको प्रतिनिधि बनेको प्रतीत हुन्थ्यो।

तिहारको उज्यालोले कर्णालीको हुम्ला झनै सुन्दर देखिन्थ्यो। पहाडका थुम्काहरू माथि रातो टिका लगाएर बसेका जस्ता देखिन्थे भने आकाश पनि चाँदीको थाल जस्तो चहकिलो थियो।

मालाश्री गीतका धुनहरू भने गाउँ देखि बजारसम्म गुञ्जिएका थिए। तर सरकारी कार्यालयका झ्यालढोका भने बन्द थिए। चिनजानका सरकारी कर्मचारीहरू आ-आफ्ना थातथलोमा फर्किसकेका थिए। हामी भने समुद्र सतहदेखि २९ सय मिटर उचाइको सिमकोटको बजारमा नाम्खामा हुने स्वास्थ्य शिविरको रिपोर्टिङ गर्न जाने दिनको प्रतीक्षामा थियौं।

प्रतीक्षा अवधि भर सिमिकोटमा चिनजानका अनुहारहरू हाम्रो आँखाले खोजिरहन्थे। तर, हुम्लामा हामीलाई चिन्ने कोही थिएन। यस्तो लाग्थ्यो, यो बिरानो ठाउँमा हाम्रो कोही छैन। चालिएका पाइला पनि कहिले बजारका वल्लो छेउ त कहिले पल्लो छेउमा नै सिमित हुन्थे।

कोठाको झ्याल हुँदै परपरसम्म फैलिएको धूपको सुगन्धले चाडपर्व आगनमै आएको कुरा थप प्रमाणित गर्थ्यो। त्यो वातावरणमा हामीमा कतिकती बेला घरको न्यास्रो लागेको जस्तो महशुस हुन्थ्यो।

नेताहरूको जमघट पनि बजारमा पातलिँदो थियो। तर कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल हुम्ला आइपुगेका हुनाले एमाले नेताहरु भने बजारमै थिए।

छक्क बहादुर लामा र दल रावल लगायतका एमाले नेताहरू बजारमै देख्यौं। उहाँहरुलाई भेट्न पाइने कुराले हाम्रो मनमा लागेको न्यास्रो एकाएक हराएर गयो। मनमा उत्साह थपियो।

हामी कहिले दल रावलको घरमा पुग्थ्यौं त कहिले छक्क बहादुर लामाको घर। उहाँहरूले हुम्लाको बारेमा धेरै कुरा बताउनु भयो। उहाँहरुले बताउने कुरामा हुम्लाको इतिहास, राजनीति, उत्पादन सम्बन्ध, त्यसले निर्माण गरेको संस्कृति, जनजीवन आदि कुरा हुन्थे।

उदाहरणका लागि चौरीसँगको संसर्गले उत्पादन हुने जनावरको अर्को उपजात, भोटसँग जनस्तरबाट स्थापित व्यापारिक सम्बन्ध टुटेपछि भइरहेको नुन माथिको राजनीति, त्यसले जनजीवनमा परेको कठिनाई, जमिनलाई खण्डित हुनबाट बचाउन सुरु गरिएको बहुपति प्रथा, यसलाई कायम राख्न गुम्बाले गर्ने कडाइ हाम्रो लागि एका देशका कथा जस्ता लाग्थे।

गाउँलेहरूले एक प्याकेट नुन लिन हजार बढी खर्च गर्ने गरेका कयौं उदाहरण छन्। भाषा र संस्कृति मिल्ने हुनाले हुम्ली र तिब्बती नागरिकबीच भइरहेको बिहेबारीलाई दुई देशको सिमानाले वारपारमा गरिदिएको कठिनाई, लुकिछिपी भइरहेको व्यापारिक सम्बन्धका अप्ठ्यारा, अनि त्यो उचाइमा जनजीवनका कठोरता देख्दा लाग्थ्यो, यो ठाउँ कथा-उपन्यासमा लेखिएको कुनै काल्पनिक परिवेश भन्दा फरक छैन।

एकातिर वातावरणको अद्भुत सौन्दर्यले हामीलाई आकर्षित गर्थ्यो। अर्कोतिर त्यही प्रकृतिमा गाँसिएको मानिसको पीडाले हामीलाई सोचमग्न बनाउँथ्यो। तिहारको समय थियो, बाहिर जताततै उज्यालो र झिलमिली थियोे। भित्र हाम्रो मनमा भने बाहिरको जस्तो उज्यालो थिएन। किनकी तिखा प्रश्नहरुले मन दुखाइरहेका थिए।

सिमकोटमा हाम्रा दुई दिन नेताहरूलाई भेट्दै र बजारमा बरालिँदै बिते। नेताहरुको कुरामा हामी धेरै बेर घोत्लिन्थ्यौं। कहिलेकाहीँ त सानो जानकारीले पनि बहसको शृंखला सुरु गरिदिन्थ्यो। कहिले हामी गाउँलेहरूको जीवनशैलीबारे बहस गर्न थाल्थ्यौं। कहिले संस्कृति र उत्पादन सम्बन्धबारे। ती क्षणहरूले हामीलाई यात्रु मात्र होइन हुम्लाको कथा सुन्न गएका उत्सुक श्रोता जस्ता बनाउँथे।

यो यात्रा एक प्रकारको दर्पण थियो, जसमा अनेक तस्वीरहरु देखिन्थे। हुम्ली जनताको सुखदुःखको साक्षी पञ्चमुखी हिमाल, अजङ्गका पहाड अनि कठोर जनजीवन सबै एकै साथ देखिन्थे। त्यो ठाउँले हामीलाई बताइरहेको थियोकी कि कठिनाइमा पनि मानिस कसरी आफ्नो जीवनलाई नयाँ रंग दिन सक्छ।

तिहारको रमझमकै बीचमा हामी सिमिकोटबाट नाम्खा प्रस्थान गर्ने तयारी गर्दै थियौं। दिमागमा थुप्रै चट्टानी प्रश्नहरू थिए। जुन चट्टानै चट्टानले बनेको पखेरा जस्ता। जहाँ यात्रा त हुन्छ, तर अन्तिम बिन्दु स्पष्ट हुँदैन। हुम्लाको त्यो अद्भुत संसारले हामीलाई फेरि त्यहीँ फर्किने आश्वासन दिएको थियो। शायद, हुम्लाले आफ्नो कथा भन्न अझै बाँकी छ।

तिहारको रमझम हुँदाहुँदै पनि त्यहाँको वातावरण हाम्रा लागि सुनसानमा जस्तै थियो। हामीमा एक्लोपनको गहिराइ बढिरहेको थियो। बजारका गल्लीहरू र चोकहरु चिसो हावासँग पौठेजोरी खेलिरहेका थिए। जुन अवस्थाले हामीलाई पनि छोडेको थिएन। सरकारी कार्यालयहरूका बन्द झ्याल ढोका जस्तै हाम्रो मन पनि बन्द थियो। पत्रकारहरू, जसलाई भेटेर हाम्रा विचार बाँड्न सक्थ्यौं, तिनीहरू पनि अनजान थिए। बजारभित्र चिनेका केही अनुहार भए पनि, ती पनि कतै जिल्ला बाहिर थिए।

उता जुम्लामा दिदीहरू हुनुहुन्थ्यो। हामी भने जुम्ला भन्दा बाहिर। बाहिर हुनुको पछुतोले मन भारी नभएको होइन। कहिलेकाहीँ त सोच्थ्यौं, “शायद यो यात्रा स्थगित गरेको भए राम्रो हुने थियो।”

पछुतोका बाबजुद पनि हुम्लाको भूगोलले हाम्रो मनमा नयाँ उत्साह नथपेको भने पक्कै होइन। त्यहाँको हिमाली चिसो हावा र हिमालको काखमा अवस्थित जनजीवनले हामीलाई बाँधेको थियो। नयाँ ठाउँ, फरक स्वाद चाख्न पाउने कुराले हाम्रो मन हलुका बनाएको थियो।

त्यहाँ, साँझपख स-साना केटाकेटीहरू भैली खेल्न निस्कन्थे। जुन दृश्य हाम्रो मन भुलाउने माध्यम बने। उनीहरूको सानो झुन्डले “देउसी रे” भन्दै गाउँका घरघर र बजारका होटेल, पसलपसल डुलेको देख्दा, त्यो बालसुलभ उत्साहले हामीलाई पनि मुस्कुराउन बाध्य बनायो। जुम्लाको भैलो जस्तै, त्यहाँको भैलोमा पनि आफ्नै खाले मिठास थियो। बालापनको सरलता थियो र त्यो सरलतामा कुनै कृत्रिमता थिएन।

ती केटाकेटीहरूका गीतले हामीलाई तिहारको वास्तविक झलक दिइरहेका थिए। उनीहरूको स्वर, जुन कतिकती बेला पहाडको प्रतिध्वनिजस्तै लाग्थ्यो, त्यो हुम्लाको मौलिक जीवनको कथा थियो। उनीहरूले गाउँका ढुंगा र माटोका भित्ताहरूलाई गुञ्जायमान बनाउँदा, हाम्रो मन पनि त्यो गीतसँगै बग्थ्यो।

हामी सडकको छेउमा उभिएर त्यो दृश्य हेरिरहेका थियौं। उनीहरूका गीत रातमा झरोको उज्यालो र अनुहारमा रहेको निस्कपट हाँसोले हाम्रो एक्लोपनको पर्दा अलिकति पर सारिदिएको थियो। ती क्षणहरूमा, हामीले समय बिर्सिएका थियौं।

राती हामी होटलको कोठामा फर्कंदा, त्यो “देउसी रे” को धुन हाम्रो मनमा गुञ्जिरहेको थियो। बाहिर अँध्यारो थियो, तर त्यो अँध्यारोमा पनि हुम्लाको कुनै न कुनै उज्यालो उपस्थित थियो। त्यो उज्यालोले हाम्रो यात्रा निरर्थक हुन दिएन।

हुम्लाको भैलो, ती बालकहरूको मुस्कान र तिहारको मौनता सबै एकसाथ मिलेर हाम्रो संस्मरणमा एउटा मीठो चित्र बनेर बसेको छ। हुम्लाको त्यो तिहार केवल समय बिताउने माध्यम मात्र थिएन, त्यो जीवनका ती सामान्य क्षणहरूलाई बुझ्ने अवसर पनि थियो, जसले हरेक मानिसको कथा लेख्छ।

हुम्लाको सदरमुकाम सिमकोटको आँगनमा उभिँदा, त्यहाँका धारिला हिमाल र हिमालको चिसो हावाको स्पर्शले अद्भुत आनन्द दिलाइरहेको थियो। यस ठाउँलाई हेर्दा लाग्थ्यो, यो हिमालहरूको उचाइ र चिसोको कथा हो। तर, हुम्लालाई नजिकबाट बुझ्दै जाँदा यो ठाउँ नेपालकै एउटा लघु प्रतिबिम्ब जस्तो लाग्थ्यो। यहाँको भूगोलमा भित्र तराईको आँप र पहाडको केरा देखि हिमालको यार्सागुम्बा सम्म अटाएका थिए। यो मिश्रणले हुम्ला केवल एउटा जिल्ला नभएर सिंगो देशको प्रतिनिधि बनेको प्रतीत हुन्थ्यो।

त्यहाँका बालबालिका साँझपख भैलो खेल्न निस्कँदा, उनीहरूको उत्साहले मन लोभ्याउँथ्यो। भोटे समुदायका घरमा उनीहरू नाच्दै जान्थे, गीत गाएर हसाउथे। ती घरबेटीले पनि खुलेरै भैलो दिन्थे। त्यो दृश्यमा सांस्कृतिक समन्वयको एउटा अनुपम झलक थियो। कुनै विभाजन थिएन, केवल उत्सवको साझा उल्लास थियो। ती केटाकेटीहरूको हाँसोमा हामीले नेपालकै विविधताको सुन्दर कथा भेट्यौं।

हुम्लाको भूगोलले हाम्रो मनलाई एक पटक होइन पटकपटक चकित पार्दै गयो। यहाँका पहाड, खोला र हिमालको सुन्दरता मात्र होइन, तराईको न्यानोपनले समेत यो स्थानलाई पूर्ण बनाएको थियो। हामीले महसुस गर्‍यौं। हुम्ला भनेको एउटा ठाउँ मात्रै होइन, यो त नेपाललाई आत्मसात् गर्ने एउटा यात्रा रहेछ। त्यसैले त, घरको यादलाई बिर्सेर हामी यस भूगोललाई गहिरोसँग महसुस गर्न थालेका थियौं।

त्यसै बीच, हाम्रो प्रतीक्षाको घडीले नयाँ मोड लिनेवाला थियो। नाम्खा गाउँपालिकामा आयोजना हुने स्वास्थ्य शिविरमा सहभागी हुने डाक्टरहरूको टोली मानसरोवर यात्रामा थियो। टोली फर्किने तयारी गर्दै गर्दा हामी मासरोवर दर्शनको तयारी गरिरहेका थियौं। अर्थात् हामीलाई लिमी लाप्चाको भोग लागेको थियो। जहाँबाट मानसरोवर दर्शन गर्न सकिने थियोे।

शिविर व्यवस्थापनको जिम्मा लिएको टोली भने जुम्लाबाट गाडीमा हुम्ला आउँदै थियो। तर गाडी सिधै हुम्ला पुग्दैन थियोे। ठाउँठाउँमा पल्टी गर्नुपर्ने बाध्यता थियोे। जो आज पर्यन्त विकटताको पर्याय बनिरहेको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका राज बहादुर खत्री, चेत बहादुर रोकाया, कर्मेन्द्र न्यौपाने र नर्स अम्बिका रावतको नाम हामीले सुनेका थियौं। उनीहरूको आगमनले हाम्रो यात्रा अझै उत्साहपूर्ण र रमाइलो हुने आशा थियो।

हाम्रो मनमा, ती डाक्टर र व्यवस्थापकहरूको आगमनको प्रतीक्षा एउटा उत्सव जस्तै थियो। उनीहरूको आगमनले यात्रा केवल भौतिक बाटो काट्ने मात्र नभएर नयाँ सम्बन्ध र अनुभवहरूको खोजीमा रूपान्तरित हुने थियो। हामीले कल्पना गरेका थियौं, उनीहरूका अनुभवहरूले हाम्रो यात्रालाई अझ रोचक बनाउनेछन्।

सिमिकोट बसाइँको क्रममा, हामीमा एउटा अनौठो धैर्यता थियो। जसलाई टिकाइ राख्न चिसो हावा र हिमालका मुस्कानले हाम्रो प्रतीक्षा सजिलो बनाई दिए। त्यो प्रतीक्षा केवल समय बिताउने माध्यम थिएन। बरु यसले हामीलाई हुम्लाको कथासँग अझै गहिरो रूपमा बाँधिरहेको थियो।

जुन दिन टोली आइपुग्थ्यो, त्यस दिन हाम्रो यात्रा नयाँ उचाइमा थपिन्छ भन्ने हामीलाई विश्वास थियो। ती क्षणहरूमा, हामी केवल प्रकृतिको एक हिस्सा जस्तो महसुस गर्दै थियौं। प्रतीक्षाको त्यो मिठासले हाम्रो मन उज्यालो थियो। त्यो यात्रा एउटा कथा बन्न तयार थियो। हुम्लाको कथा अनि हाम्रो कथा।

यो पनि पढ्नुस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार