सोमबार, ८ पुष, २०८१

बिर्सिएका अतीतहरू

ए यादहरू हो !
तिमी मसँग नआओ,
मैले अतीत बिर्सिसकेँ,
तिमी सम्झाउन नआओ,
अतीतहरू बिर्सेपछि,
जिउन सजिलो हुनेरहेछ,
हो आजभोलि मलाई यस्तै भइरहेछ,
तर तिमी यस जिन्दगीलाई,
उही विन्दुमा अल्झाइरहन नआओ ।

यहाँ,
म ढोका बन्द गरेर बसेको छु अझै भन्दा,
ढोकामा भोटे ताल्चा पनि मारेको छु,
अतीतहरू फर्केर नआउन् भनेर नै,
मैले यो सब गरेको छु किनकि,
मलाई अतीतहरू फर्काउनै मन छैन ।

मैले अतीत बिर्सनको लागि,
भोटे ताल्चा मात्र होइन,
मेरो घर वरिपरि चारैतिर,
अग्लो पर्खाल र काँडेतार अनि,
बलियो गेट पनि बनाएको छु,
किनकि,
मलाई अतीतहरू यहाँ कतै देख्नै मन छैन।

ती अतीतहरू जहाँ,
रातहरू त रातहरू न हुन्,
दिनहरू पनि रातहरू जस्ता लाग्ने,
त्यो अनभिज्ञताको समय।
पराइहरू त पराइहरू न हुन्,
आफ्नाहरू पनि पराइजस्ता लाग्ने,
त्यो केही नबुझिएको समय।
झुटहरू त झुटहरू न हुन्,
सत्य पनि झुटजस्ता लाग्ने,
त्यो केही नचिनिएको समय।
जसले, गलत संस्कार स्वीकार्छ,
रीस, राग, ईर्ष्या पाल्छ,
स्वार्थ, विभेद बोक्छ,
अगाडिको बाटो छेक्छ,
अनि वृत्ति विकासमा समेत अवरोध पैदा गर्छ ।

त्यसैले त, मैले पश्चगमन त्यागेर,
अग्रगमन रोजेँ, र अतीतहरू बिर्सिएँ,
अतः, अब त मसँग,
सहकार्यको वर्तमान अनि,
आशाको भविष्य मात्र बाँकी छ,
तर ए यादहरू हो।
तिमी भने बिर्सिएका अतीतहरू,
फेरि फर्काउन नआओ।

(भर्खरै बजारमा आएको कवि डिबी शाहीको कविता संग्रह बिर्सिएका अतितहरु बाट।)

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार