मंगलवार, ९ पुष, २०८१

तातोपानीका महिला स्वास्थ्य स्वयंसेविकालाई पोषणसम्बन्धी अभिमुखीकरण

कार्यक्रममा सहभागी महिला स्वास्थ्य स्वयंसेविकाले स्थानीय उत्पादनबाट तयार पारिएका पोषणयुक्त खाजाहरूको महत्त्व बुझेका छन्।

तातोपानी गाउँपालिकाले विश्व खाद्य कार्यक्रमको सहयोग र स्वस्थ्य शाखाको सहजीकरणमा रेरास परियोजना अन्तर्गत स्थानीय कृषि उपजको पोषण र दिवा खाजाको महत्वसम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमले स्थानीय स्रोत साधनको उपयोगबाट पोषणमा सुधार ल्याउन र महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकालाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रममा तातोपानी गाउँपालिकाका ३५ जना महिला स्वास्थ्य स्वयंसेविकाले भाग लिए। उनीहरूले पोषणयुक्त खाजाको तयारी र वितरणमा ध्यान दिनुपर्ने कुरा मात्र नभई स्थानीय कृषि उपजको उपयोगका फाइदाबारे पनि जानकारी प्राप्त गरे।

तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाईंले कार्यक्रममा बोल्दै भने, “स्थानीय कृषि उत्पादनको सही उपयोग गरी पोषण सुधार गर्नु हाम्रो प्राथमिकता हो। यस अभिमुखीकरणले महिला स्वयंसेविकालाई आफ्नो समुदायमा पोषणसम्बन्धी सचेतना फैलाउन सक्षम बनाउनेछ।”

गाउँपालिकाकी उपाध्यक्ष रेवती रावलले पनि कार्यक्रममा आफ्नो धारणा राख्दै महिलाको सशक्तीकरण र समुदायस्तरमा पोषण सुधारको लागि यस्ता कार्यक्रमको महत्त्वलाई जोड दिइन्।

उनले भनिन्, “महिला स्वास्थ्य स्वयंसेविका समुदायको मेरुदण्ड हुन्। उनीहरूको भूमिका समुदायमा स्वास्थ्य र पोषण सुधार गर्न अत्यन्तै महत्त्वपूर्ण छ।”

प्रमुख प्रशासकीय अधिकृत तिर्थ बहादुर कठायतले गाउँपालिकाको नेतृत्वमा यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गरिने प्रतिवद्धता जनाए।

उनले भने, “यस परियोजनाले स्थानीय स्रोतहरूको अधिकतम उपयोग गर्दै पोषण सुधारको दीर्घकालीन समाधान खोज्न मद्दत गर्नेछ। यो गाउँपालिकाको समृद्धि र स्वास्थ्य सुधारको यात्राको महत्त्वपूर्ण खुट्किलो हो।”

कार्यक्रममा सहभागी महिला स्वास्थ्य स्वयंसेविकाले स्थानीय उत्पादनबाट तयार पारिएका पोषणयुक्त खाजाहरूको महत्त्व बुझेका छन्।

रेरास परियोजनाको माध्यमबाट समुदायमा पोषणको महत्त्व र यसको दीर्घकालीन प्रभावबारे सचेतना जगाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो।

यस कार्यक्रमपछि महिला स्वास्थ्य स्वयंसेविकाहरूले प्राप्त ज्ञान र सीपलाई समुदायमा लागू गरेर पोषण सुधारमा योगदान पुर्‍याउने विश्वास गरिएको छ।

सहभागीहरूले पनि आफूलाई प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न प्रतिवद्धता व्यक्त गरेका छन्।

तातोपानी गाउँपालिकाको यो पहलले स्थानीय तहमा पोषण सुधारको अभियानलाई गति दिने र स्थानीय स्रोत साधनको उपयोग गरेर दिगो विकासको मार्गप्रशस्त गर्ने देखिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार