प्रगतिशील लेखक संघ (प्रलेसं) जुम्लाको पहिलो जिल्ला अधिवेशनले साहित्यकार रणबहादुर रावतको नेतृत्वमा ११ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
शनिबार सम्पन्न अधिवेशनले रावतलाई अध्यक्षमा चयन गर्दै जिल्लामा प्रगतिशील साहित्यिक गतिविधिलाई थप संगठित बनाउने जिम्मेवारी दिएको हो।
प्रलेसं केन्द्रीय परिषद् सदस्य नगेन्द्रप्रसाद आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनबाट लोकेन्द्रराज गिरी जिल्ला सचिवमा चयन भएका छन्। यस्तै विर्षबहादुर बस्नेत उपाध्यक्ष, मेनका रेग्मी कोषाध्यक्ष र गार्ख बुढा सहसचिवमा निर्वाचित भएका छन्।
कार्यसमिति सदस्यमा साहित्यकार हरिबहादुर बुढा, विक्रम तिरुवा, अशोक न्यौपाने, भिजन वड, लक्ष्मीकान्त जैसी र धनबहादुर शाही चयन भएका छन्। नवनिर्वाचित सचिव गिरीका अनुसार सबै पदाधिकारी तथा सदस्य सर्वसम्मत रूपमा चयन भएका हुन्।
अधिवेशनले जुम्लाको साहित्यिक क्षेत्रमा प्रगतिशील विचार र जनमुखी सिर्जनालाई थप संस्थागत गर्ने प्रतिबद्धता पनि जनाएको छ। राजनीतिक तथा सामाजिक क्षेत्रमा देखिएका विकृति र विसंगतिविरुद्ध साहित्य तथा लेखनका माध्यमबाट आवाज उठाउने विषयलाई संघले प्राथमिकतामा राख्ने बताइएको छ।
नवनिर्वाचित अध्यक्ष रावतले नेपाली राजनीतिक आकाशमा देखिएको विकृति र सामाजिक विसंगतिविरुद्ध जनवादी संस्कृतिको निर्माणमा लेखनलाई निरन्तरता दिने बताए। उनका अनुसार प्रगतिशील विचारलाई सहकार्य र एकताका आधारमा अघि बढाउँदै साहित्यिक क्षेत्रमा देखिएका गतिरोध अन्त्य गर्न नयाँ कार्यसमिति सक्रिय रहनेछ।
‘प्रगतिशील विचारलाई सिर्जना र सहकार्यका माध्यमबाट जनजीवनसँग जोड्नु अहिलेको आवश्यकता हो,’ रावतले भने, ‘लेखक तथा साहित्यकारबीचको एकता बलियो बनाउँदै समाजका विकृति र विभेदविरुद्ध सिर्जनात्मक हस्तक्षेप गर्नेछौँ।’
जुम्लामा पहिलो पटक जिल्ला तहमा प्रगतिशील लेखकहरूको संगठित संरचना बनेसँगै जिल्लाको साहित्यिक गतिविधिले नयाँ गति लिने अपेक्षा गरिएको छ। नयाँ कार्यसमितिले स्थानीय भाषा, संस्कृति, सामाजिक मुद्दा र जनजीवनलाई साहित्यका विषय बनाउँदै प्रगतिशील लेखनलाई अघि बढाउने चुनौतीसमेत बोकेको छ।
















