शनिबार, ९ श्रावण, २०८३

तिलाको सूर्योदय आधारभूत विद्यालयमा विद्यालय स्वास्थ्य कार्यक्रम

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र मानवताको सहकार्यमा सञ्चालित कार्यक्रममा विद्यार्थीलाई सरसफाइ, पोषण, महिनावारी स्वास्थ्यदेखि सर्ने–नसर्ने रोगसम्मका विषयमा व्यवहारिक शिक्षा दिइएको थियोे।

तिला गाउँपालिका–राँसास्थित सूर्योदय आधारभूत विद्यालयमा केही दिनयता विद्यार्थीहरूको सिकाइ कक्षाकोठाभित्र मात्र सीमित रहेन। उनीहरूले आफ्नो स्वास्थ्य, सरसफाइ र दैनिक जीवनमा अपनाउनुपर्ने स्वस्थ व्यवहारबारे पनि व्यवहारिक ज्ञान हासिल गरे। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र मानवताको सहकार्यमा विद्यालयमा आयोजित विद्यालय स्वास्थ्य कार्यक्रमले विद्यार्थीलाई स्वास्थ्यसम्बन्धी ज्ञानसँगै व्यवहार परिवर्तनको सन्देश दिएको छ।

विद्यालय स्वास्थ्य कार्यक्रमको नेतृत्व कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत जनस्वास्थ्य महाविद्यालयका सहायक प्राध्यापक ओम प्रकाश काफ्लेले गरेका थिए। कार्यक्रममा जनस्वास्थ्य महाविद्यालयका बीपीएच तेस्रो वर्ष, छैटौँ ब्याचका विद्यार्थी शिवशंकर मण्डल, आवास पन्त, राजेश पाण्डे, पुस्तिका उपाध्याय र सरस्वती कार्की तथा पाँचौँ ब्याचका विद्यार्थी वैभव ठाकुर सहभागी थिए।

विद्यालयमा आयोजित कार्यक्रमका क्रममा विद्यार्थीहरूलाई स्वास्थ्यका विषयमा केवल सैद्धान्तिक जानकारी मात्र दिइएन, दैनिक जीवनमा त्यसलाई कसरी व्यवहारमा उतार्ने भन्ने विषयमा समेत व्यवहारिक रूपमा सिकाइएको थियो। पानी, सरसफाइ तथा स्वच्छता, व्यक्तिगत सरसफाइ, सर्ने तथा नसर्ने रोग, सही तरिकाले हात धुने विधि, दाँत माझ्ने सही तरिका, महिनावारी स्वास्थ्य तथा सरसफाइ, पोषण, सन्तुलित आहार र बालअधिकारजस्ता विषयमा विद्यार्थीहरूलाई जानकारी प्रदान गरिएको थियो।

विद्यालयमा यसअघि पनि स्वास्थ्य र सरसफाइसँग सम्बन्धित महत्वपूर्ण काम भएको थियो। मानवताले विद्यालयमा शौचालय निर्माण गरी स्वच्छ तथा स्वास्थ्य–मैत्री वातावरण निर्माणमा सहयोग गरेको थियो। त्यही प्रयासलाई निरन्तरता दिँदै विद्यालय स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको हो। विद्यालयमा पूर्वाधार निर्माणसँगै विद्यार्थीको व्यवहारमा पनि स्वच्छता र स्वास्थ्यसम्बन्धी चेतना विकास गर्न आवश्यक रहेको आयोजकहरूको भनाइ छ।

कार्यक्रमले विद्यार्थीहरूमा स्वास्थ्यसम्बन्धी सही ज्ञान, सकारात्मक सोच र स्वस्थ व्यवहार विकास गर्ने उद्देश्य राखेको थियो। व्यक्तिगत तथा विद्यालयको सरसफाइ प्रवर्द्धन गर्नु, सर्ने तथा नसर्ने रोगको रोकथाम र नियन्त्रणका उपायबारे जानकारी दिनु, सुरक्षित खानेपानी तथा स्वच्छतासम्बन्धी अभ्यासलाई प्रोत्साहन गर्नु र किशोरीहरूलाई महिनावारी स्वास्थ्य तथा सरसफाइबारे सही जानकारी दिनु कार्यक्रमका प्रमुख उद्देश्य थिए।

त्यस्तै, सन्तुलित आहार, पोषण र स्वस्थ जीवनशैलीप्रति विद्यार्थीलाई प्रेरित गर्दै विद्यालयलाई विद्यार्थीमैत्री, सुरक्षित तथा स्वास्थ्य प्रवर्द्धन गर्ने वातावरणका रूपमा विकास गर्न कार्यक्रमले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रमका संयोजक तथा सहायक प्राध्यापक ओम प्रकाश काफ्लेले विद्यालय स्वास्थ्य कार्यक्रमले विद्यार्थीलाई स्वास्थ्यसम्बन्धी ज्ञान प्रदान गर्नुका साथै उनीहरूको व्यवहारमा समेत सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे। उनले समुदाय, विद्यालय र स्वास्थ्य क्षेत्रबीचको सहकार्यबाट मात्र दिगो स्वास्थ्य प्रवर्द्धन सम्भव हुने बताए।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले पनि विद्यालयस्तरमै स्वास्थ्य शिक्षा प्रदान गर्ने अवसरलाई आफ्नो सिकाइको महत्वपूर्ण हिस्सा भएको बताएका छन्। विद्यार्थी शिवशंकर मण्डलले विद्यालयमा स्वास्थ्य शिक्षा प्रवाह गर्न पाउनु आफूहरूका लागि उत्कृष्ट सिकाइको अवसर भएको बताउँदै कार्यक्रममा सिकेका कुरा समुदायसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

त्यस्तै विद्यार्थी आवास पन्तले स्वास्थ्य शिक्षा व्यवहारमा लागू भएपछि मात्र त्यसको वास्तविक उपलब्धि देखिने बताए। अर्का विद्यार्थी राजेश पाण्डेले सर्ने तथा नसर्ने रोगको रोकथामका लागि सचेतना सबैभन्दा प्रभावकारी उपायमध्ये एक भएको उल्लेख गरे।

विद्यार्थी पुस्तिका उपाध्यायले किशोरीहरूका लागि महिनावारी स्वास्थ्य तथा सरसफाइसम्बन्धी सही जानकारी अत्यन्त आवश्यक रहेको बताइन्। उनका अनुसार महिनावारीसँग जोडिएका भ्रम र गलत धारणालाई हटाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्न सक्छन्।

विद्यार्थी सरस्वती कार्कीले नियमित रूपमा हात धुने, व्यक्तिगत सरसफाइ कायम गर्ने र सन्तुलित आहार खानेजस्ता सामान्य बानीले विद्यार्थीको स्वास्थ्यमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने बताइन्। अर्का विद्यार्थी वैभव ठाकुरले विद्यालय स्वास्थ्य कार्यक्रमले विद्यार्थीमा स्वास्थ्यप्रतिको जिम्मेवारीबोध विकास गर्नुका साथै स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने विश्वास व्यक्त गरिन्।

विद्यालयका प्रधानाध्यापक शेरबहादुर रावतले यस्ता कार्यक्रमले विद्यार्थीको स्वास्थ्यसम्बन्धी ज्ञान र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने बताए। उनले विद्यालयमा स्वास्थ्य तथा सरसफाइसम्बन्धी कार्यक्रम सञ्चालन गरेकोमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, मानवता र जनस्वास्थ्य महाविद्यालयका विद्यार्थीहरूको टोलीप्रति आभार व्यक्त गरे।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर बुढाले पनि विद्यालयमा स्वास्थ्य र सरसफाइसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरी विद्यार्थीलाई व्यवहारिक ज्ञान प्रदान गरेकोमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र मानवतालाई धन्यवाद व्यक्त गरे। उनले विद्यालयको शैक्षिक विकाससँगै विद्यार्थीको स्वास्थ्य र सरसफाइलाई पनि प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए।

स्थानीय अभिभावक तथा शिक्षकहरूले विद्यालयमा यस्ता व्यवहारमुखी स्वास्थ्य कार्यक्रमलाई नियमितता दिनुपर्नेमा जोड दिएका छन्। उनीहरूका अनुसार विद्यार्थीले विद्यालयमा सिकेको स्वास्थ्यसम्बन्धी ज्ञान घरपरिवार र समुदायसम्म पुर्‍याउन सके त्यसको प्रभाव अझ व्यापक बन्न सक्छ।

सूर्योदय आधारभूत विद्यालयमा सम्पन्न यो कार्यक्रमले स्वास्थ्य शिक्षा अस्पताल वा स्वास्थ्य संस्थामा सीमित विषय नभई विद्यालय र समुदायको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएको सन्देश दिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार