सोमबार, ८ भाद्र, २०८३

जन्मदिनमा खुसी बाँड्दै रोमियो रोकाया, ७० विद्यार्थीको हातमा कापी, कलम

जन्मदिन मनाउने परम्परागत शैलीभन्दा फरक र प्रेरणादायी उदाहरण प्रस्तुत गर्दै हिमा आधारभूत विद्यालय कोईरेलीमा ७० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।

विद्यालयका अभिभावक टेकेन्द्र रोकाया र सम्झना रोकायाले आफ्ना छोरा रोमियो रोकायाको जन्मदिनको अवसर पारेर विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीलाई कापी, कलमलगायतका शैक्षिक सामग्री वितरण गरेका हुन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरना बुढाले रोकाया दम्पतीले जन्मदिनमा ठूलो खर्च गरेर खानपिन तथा मनोरञ्जनमा मात्र रकम खर्च गर्नुभन्दा बालबालिकाको शिक्षामा सहयोग गर्नु र उनीहरूसँग खुसी साट्नु बढी अर्थपूर्ण हुने बताइन्।

जन्मदिनलाई व्यक्तिगत उत्सवमा सीमित नगरी सामाजिक उत्तरदायित्वसँग जोड्ने उद्देश्यले विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री प्रदान गर्नु सकारात्मक र उदाहरणीय काम भएको विद्यालयका प्रधानाध्यापक महेश रावलले बताए। उनले भने, ‘विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सानो सहयोगले पनि उनीहरूको पढाइमा उत्साह थप्ने विश्वास छ।’

जन्मदिनको अवसरमा अरूको अनुहारमा मुस्कान ल्याउने र विद्यार्थीका साना आवश्यकता पूरा गर्ने रोकाया परिवारको प्रयासले ‘जन्मदिन आफ्ना लागि मात्र होइन, अरूका लागि पनि खुसी बाँड्ने अवसर हो’ भन्ने सकारात्मक सन्देश दिएको उनको भनाइ छ।

उनका अनुसार विद्यालय परिवारले रोमियो रोकायालाई जन्मदिनको शुभकामना दिँदै शैक्षिक क्षेत्रमा सहयोग पुर्‍याएकोमा टेकेन्द्र रोकाया र सम्झना रोकाया दम्पतीप्रति आभार व्यक्त गरेको छ।

जन्मदिन, विवाहोत्सव तथा अन्य व्यक्तिगत अवसरमा हुने अनावश्यक खर्च कटौती गरी शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवामा सहयोग गर्ने संस्कार विकास गर्न सके समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने विद्यालय परिवारको भनाइ छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार