सोमबार, ८ पुष, २०८१

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उन्नतिका लागि सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले विगतमा अत्यन्तै कठिनाइपूर्ण क्षेत्र मानिएको कर्णालीमा आज विशेषज्ञ चिकित्सक उत्पादन गर्ने क्षमताको विकास हुनु र स्वास्थ्य सेवा पुर्‍याउने अवस्थामा आउनु गर्वको विषय रहेको बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाको विकास र विस्तारलाई सरकारको प्राथमिकतामा राख्दै कर्णाली क्षेत्रको स्वास्थ्य सेवामा गुणस्तर र पहुँच विस्तार गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिष्ठानको पहिलो दीक्षान्त समारोहमा सहभागी हुन बुधबार जुम्ला पुगेका प्रधानमन्त्री ओलीले कर्णाली र पश्चिम नेपालको दुर्गम क्षेत्रका नागरिकले नजिकैबाट गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भन्ने सरकारको लक्ष्य रहेको बताए।

प्रधानमन्त्री ओलीले भने, “कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले दुर्गम कर्णाली र पश्चिम नेपालको स्वास्थ्य सेवा प्रणालीलाई सबल बनाउँदै राष्ट्रिय गौरवमा थप योगदान पुर्‍याएको छ।”

उनका अनुसार कर्णाली क्षेत्रमा स्वास्थ्य सेवा अभावका कारण समस्या झेलिरहेका जनतालाई अब घर नजिकै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुनु ठूलो सफलता हो।

प्रधानमन्त्री ओलीले विगतमा अत्यन्तै कठिनाइपूर्ण क्षेत्र मानिएको कर्णालीमा आज विशेषज्ञ चिकित्सक उत्पादन गर्ने क्षमताको विकास हुनु र स्वास्थ्य सेवा पुर्‍याउने अवस्थामा आउनु गर्वको विषय रहेको बताए।

“पहिले जहाँ स्वास्थ्य सेवा पाउने आशा पनि थिएन, आज त्यही ठाउँमा दक्ष जनशक्ति दिक्षित भएका छन्। अब कर्णालीले स्वास्थ्य सेवा क्षेत्रमा गति लिएको छ, यो परिवर्तनले सम्पूर्ण कर्णाली र पश्चिम नेपाललाई आत्मनिर्भर बनाउँदैछ,” उनले भने।

साथै, प्रधानमन्त्री ओलीले कृषि, पर्यटन, भाषा, साहित्यजस्तै कर्णाली अब स्वास्थ्य सेवा प्रवाहका हिसाबले पनि आत्मनिर्भर बन्न थालेको र यो आत्मनिर्भरता सरकारले अझ विस्तार गर्ने बताउँदैछ।

उनले भने, “हामीले सुविधासम्पन्न शिक्षण भवनको उद्घाटन गरेका छौं, जसले अध्ययन, अनुसन्धान र स्वास्थ्य सेवा प्रवाहमा ठूलो मद्दत पुर्याउनेछ। अब कर्णाली स्वास्थ्य सेवामा मात्र होइन, अध्यापन र अनुसन्धानको क्षेत्रमा पनि नयाँ सफलताको बाटोमा अघि बढ्नेछ।”

प्रधानमन्त्री ओलीले राकम कर्णालीमा प्रस्तावित एक सय शय्याको अस्पताल र ट्रमा सेन्टर निर्माणलाई समेत सरकारले उच्च प्राथमिकता दिएको बताए।

“राकम कर्णालीमा बन्ने यो संरचना स्थलको स्थलगत अनुगमन समेत गरिसकेको छौं। यस परियोजनाबाट कर्णाली र सुदूरपश्चिम क्षेत्रका नागरिकलाई सुलभ र समयमै स्वास्थ्य सेवा प्रदान गर्न मद्दत हुनेछ। यसैले, अब कुनैपनि आर्थिक अभावले यस क्षेत्रका परियोजनाहरू रोकिने स्थिती आउन दिने छैनौं,” उनले थपे।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले दुर्गम क्षेत्रमा मात्र नभई देशभर र अन्तर्राष्ट्रियस्तरमा पनि आफ्नो सेवा र योगदनका कारण चर्चा पाएको छ।

“यहाँ अध्ययन गर्ने विद्यार्थीहरूलाई राष्ट्रप्रति इमानदार र कर्तव्यनिष्ठ भएर स्वास्थ्य सेवामा लाग्न म प्रेरित गर्न चाहन्छु। प्रतिष्ठानका सबै कर्मचारी र शिक्षकहरूको पनि सराहना गर्दछु,” उनले थपे, “जसले लामो समयदेखि इमानदार भएर काम गर्दै आएका छन्। अब, प्रतिष्ठानमा भएका भौतिक संरचना र जनशक्तिको अभावलाई सरकारले पूरा गर्न कुनै कसर बाँकी राख्ने छैन।”

प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले भविष्यमा अझ प्रभावकारी र सशक्त सेवा प्रवाह गर्ने र समग्र कर्णाली तथा पश्चिम नेपाललाई आधुनिक स्वास्थ्य सेवामा आत्मनिर्भर बनाउने सरकारको पूर्ण प्रतिबद्धता रहेको दोहोर्‍याए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार