हिमा गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रमले जनतालाई केन्द्रमा राखेर पारदर्शिता, जवाफदेहिताको सुदृढीकरण र विकासका लागि नागरिक सहभागिताको महत्त्वलाई दर्शाएको छ।
हिमा गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को सार्वजनिक सुनुवाइ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा हिमाका विकास योजनाहरू, खर्च विवरण, सेवासुविधा, र नागरिकहरूको सरोकारका विषयमा छलफल गर्दै, गाउँपालिकाले जनतासामु प्रतिवेदन प्रस्तुत गरेको हो।
कार्यक्रम नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सचिवालय सदस्य अमरजंग शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे। उनले हिमामा विकास र जनसेवामा उल्लेख्य प्रगति भएको बताउँदै गाउँपालिकाको प्रयासको प्रशंसा गरे।
शाहीले आफू चुनावी मैदानमा प्रतिस्पर्धी भए पनि रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको बताए। उनले भने, “हिमाले जनताको सेवालाई अधिकतम हितमा राखेर काम गरेको छ, यसमा जनता खुसी छन्। गाउँपालिकाको कार्यशैली, जनप्रतिनिधिको इमान्दारीता, र जनताको सहभागिताले हिमालाई उदाहरणीय बनाएको छ।”
हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाहीले चुनावमा गरेका प्रतिबद्धताअनुसार शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाए। उनले गर्भवती महिला, सुत्केरी, जेष्ठ नागरिक, विपन्न र अपांगता भएका नागरिकलाई नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको जानकारी दिए।
“नागरिकको स्वास्थ्य र शिक्षामा ध्यान दिनु हाम्रो पहिलो कर्तव्य हो,” उनले भने, “हामीले विपन्न र असहायलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएका छौं।”
अध्यक्ष शाहीले बालबालिकाको शिक्षामा सुधार ल्याउन बिभिन्न कार्यक्रम सञ्चालन गरेको, विद्यालयको गुणस्तर सुधार्न पहल गरिरहेको, र सरकारी तथा सामुदायिक विद्यालयमा अतिरिक्त स्रोतसाधन उपलब्ध गराउँदै आएको पनि बताए।
उनका अनुसार, साना बालबालिका तथा कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री र पुस्तक वितरण पनि गरिएको छ।
हिमा गाउँपालिकाकी उपाध्यक्ष सुर्पुना शाहीले विकास निर्माणका काममा गुणस्तर कायम राख्न विशेष ध्यान दिएको बताइन्। “विकास निर्माणमा भएको लापरबाहीले जनतालाई मारमा पार्ने भएकाले हामीले यो क्षेत्रमा कडा अनुगमन गरिरहेका छौं,” उनले भनिन्।
उनले सडक, खानेपानी, सिंचाइ, र आवास योजनाहरूमा बृहत् अनुगमन कार्य चलिरहेको जनाउँदै निर्माण सामग्रीको प्रयोग र कार्य प्रगतिको दैनिक अनुगमन गर्ने व्यवस्था लागू गरिएको जानकारी दिइन्।
उनका अनुसार, गाउँपालिकाले निर्माणमा हुने अनियमितता र भ्रष्टाचारलाई नियन्त्रण गर्न कार्यदल पनि बनाएको छ, जसले नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्ने काममा जिम्मेवार बनाउने प्रयास गरिरहेको छ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रण बहादुर बुढाले आर्थिक वर्ष २०८०/८१ को वित्तीय प्रतिवेदन प्रस्तुत गरेका थिए। उनका अनुसार, अघिल्लो वर्ष ४५ करोड १० लाख २८ हजार पाँच सय २२ रुपैयाँको निकास भएकोमा ४२ करोड ७५ लाख ९१ हजार एक सय ८८ रुपैयाँ खर्च भई, दुई करोड ३४ लाख ३७ हजार तीन सय ३४ रुपैयाँ बचत भएको छ।
बुढाले भने, “सक्षम व्यवस्थापन र विवेकपूर्ण खर्चले हामीले उल्लेख्य रकम बचत गर्न सफल भएका छौं।”
यसले आगामी वर्षमा थप विकासका लागि आर्थिक स्रोत प्रदान गर्ने बताउँदै उनले गाउँपालिकाले गरिबी निवारण, रोजगारी सिर्जना र कृषिमा लगानी गर्न बचेको बजेटलाई प्राथमिकता दिने बताए।
वर्षको सार्वजनिक सुनुवाइले हिमाको सेवा र विकासका लागि एक महत्वपूर्ण संवादको माध्यम बन्न सफल भएको छ। गाउँपालिकाले सिन्जा मल्टिमिडिया प्रालिको सहजिकरण र कुटीरो रिसर्च सेन्टरको समन्वयमा सुनुवाइ कार्यक्रम सञ्चालन गरेको थियो।
कार्यक्रमको मुख्य उद्देश्य जनतालाई सेवाबारे प्रत्यक्ष जानकारी गराउनु र उनीहरूका गुनासा र सल्लाहहरूलाई सुनुवाइमा समेट्नु रहेको अध्यक्ष शाहीले जोड दिए। कार्यक्रममा नागरिक सर्वेक्षण प्रतिवेदन प्रस्तुत गरिएको थियो, जसमा हिमाका विभिन्न सेवाहरूप्रति नागरिकहरूको धारणा, सन्तुष्टि, र सुझावहरू समेटिएको सिन्जा मल्टीमिडियाका प्रकाश उपाध्यायले बताए।
उनका अनुसार सार्वजनिक सुनुवाइले हिमाको पारदर्शिता र जवाफदेहितालाई अझ सुदृढ बनाएको छ। यस कार्यक्रमले जनताको आवाजलाई प्राथमिकतामा राख्दै स्थानीय सरकारलाई जिम्मेवार बनाउने महत्वपूर्ण भूमिका खेलेको छ।
सार्वजनिक सुनुवाइ कार्यक्रमले हिमाले गरेको प्रगति, सेवामा सुधार, र जनताको मागअनुसारका विकास कार्यहरूबारे प्रत्यक्ष जानकारी गराएको छ।
कार्यक्रममा सहभागी जनताले गाउँपालिकाको पारदर्शिता र जवाफदेहिताको प्रशंसा गरेका थिए। हिमाले नागरिकहरूको आवश्यकता र अपेक्षामा केन्द्रित रहेर काम गर्ने अठोट गरेको छ।
हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुढाले सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रस्तुत नागरिक प्रतिवेदनका आधारमा आगामी दिनमा जनताको साथ र विश्वासलाई कायम राख्दै जनताको आवश्यकता अनुरूप थप सेवामुखी कार्यक्रमहरू सञ्चालन गर्ने संकेत दिएको बताए।
यस प्रकार, हिमा गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रमले जनतालाई केन्द्रमा राखेर पारदर्शिता, जवाफदेहिताको सुदृढीकरण र विकासका लागि नागरिक सहभागिताको महत्त्वलाई दर्शाएको छ।