आईतवार, १३ मंसिर, २०८३

दलालीहरूको पर्दाफास हुँदै, घरजग्गा, गाडी, सेयर र सुनचाँदीमा फेरि सर्वसाधारणले लगानी गर्लान् त?

दलाली र व्यापारीहरूको लहैलहैमा लागेर सर्वसाधारणले घरजग्गा, गाडी, सेयर र सुनचाँदीमा करोडौँ लगानी गरे। कृत्रिम रूपमा बढाइएको मूल्य घट्दा व्यक्ति मात्र होइन, बैंक वित्तीय संस्था र मुलुकको अर्थतन्त्रसमेत संकटमा पर्ने जोखिम बढेको छ।

हिजो मंसिर ९ गते सुनको मूल्य घटेर तोलाको दुई लाख ४१ हजार ४ सय रुपैयाँमा झर्यो। चाँदी पनि तीन सय ४० रुपैयाँमा झर्यो। बजारमा सुनचाँदी बेच्न खोज्नेहरू थुप्रै थिए। तर, अधिकांश सुन पसल बन्द गरिएका थिए। बन्द नगरिएका सुन पसलहरूले पनि सुनचाँदी दुवै किन्न मानिरहेका थिएनन्। पसलहरूले भन्थे, हामीसँग पैसा छैन, अन्त लगेर बेच्नुस्।

सुनचाँदीको मूल्य लगातार घटिरहेको छ, त्यो पनि भारी रूपमा। बजारमा विश्लेषण गर्न थालिएको छ कि सुन तोलाकै ५० हजारसम्म झर्नेछ। त्यस्तै, चाँदी पनि पाँच सयदेखि हजारमा झर्ने व्यापक चर्चा छ। वि.सं. २०२२ सालमा सुन तोलाको ८० रुपैयाँ रहेको भन्नेहरू अहिले पनि भेटिन्छन्। त्यतिबेला चाँदी त सित्तैमा समेत कसैले नलैजाने उनीहरू बताउँछन्।

०८२ भदौ १८ गते त्यही सुन तोलाकै तीन लाख ४९ हजार तीन सय रुपैयाँ पुग्यो। ज्यालासहित चार लाख रुपैयाँ हालेर सर्वसाधारणले किने। त्यस्तै, चाँदी आठ हजार ६७० रुपैयाँ पुगेकोमा ज्यालासहित दस हजार हालेर मानिसहरूले किनेका थिए। त्यतिखेर बजारमा व्यापक हल्ला थियो, सुन तोलाको पाँच लाखसम्म पुग्छ। चाँदी पनि १५ हजार पुग्नेछ।

सुन व्यवसायीहरू यही हल्ला फैलाउँदै सर्वसाधारणलाई सुनचाँदी किन्न प्रोत्साहित गर्थे। यसरी तोलाकै पाँच लाख रुपैयाँ पुग्ने भनिएकोमा मूल्य झन् घटिरहेको छ। पछिल्लो एक वर्षमै सुनमा लगानी गर्नेहरूले तोलामै डेढ लाख रुपैयाँ गुमाइरहेका छन्।

चाँदीमा पनि सात हजार रुपैयाँ गुमिसक्यो। एक तोलामात्र सुनचाँदी किन्नेलाई त मूल्यमा भारी गिरावटले खासै असर नपरेको होला तर दलाली वा सुन व्यापारीहरूको लहैलहैमा लागेर महँगोमा किलोका किलो सुनचाँदी किनेकाहरू अहिले चुर्लुम्मै भएका छन्। उनीहरूको रुवाबासी सुरु भइसकेको छ। एक वर्षअघि सुनचाँदी किन्न जाँदा व्यापारीहरू भन्थे–यो सुनचाँदी जुनसुकै समयमा बेच्न ल्याए पनि किन्छौँ।

तर, अहिले व्यापारीहरू पसल बन्द गरेर घरमै लुक्न थालेका छन्। किनकि उनीहरूलाई थाहा छ–सुनचाँदीको मूल्य अझै घट्नेछ। दलाली र सुन व्यापारीहरूको लहैलहैमा लाग्दा करोडौँ सर्वसाधारणले एक वर्षकै बीचमा लाखौँ–करोडौँ रकम डुबाएका छन्। सुनमा लगानी गर्दा सर्वसाधारण त डुबे नै, बैंकसमेत संकटमा पर्ने देखिएको छ। बैंकले सुन धितो राखेर विभिन्न व्यक्तिलाई ३१ खर्ब कर्जा प्रवाह गरेको छ।

सुनको मूल्य लगातार घटिरहेको छ, यस्तो अवस्थामा ऋणीले कर्जा तिर्न सक्दैनौँ, सुन लिलाम गर्नुस् भन्न सक्ने सम्भावना बलियो छ। तर, सुन लिलाम गरे पनि कर्जा रकम उठ्न सक्ने अवस्था नै छैन। किनकि ३१ खर्बको सुन त अर्बमा झरिसकेको छ, केही समयपछि लाखमा समेत झर्न सक्छ, तब बैंकको हालत के होला? सुनचाँदीजसरी घरजग्गा, गाडी, सेयरमा लगानी गर्दा पनि थुप्रैले आफ्नो पुँजी गुमाएका छन्।

दलालीहरूले रोपनीको दश हजारमा नबिक्ने खेतीयोग्य वा सरकारी जग्गासमेत दर्ता गरेर प्लटिङ गरे। जग्गाको मूल्य आनाकै लाखदेखि करोडौँ पुर्‍याए र बेचिदिए। यसका लागि एउटै उदाहरण काफी छ। भक्तपुरको राधेराधे क्षेत्र पाँच दशकअघि सिमसार थियो। बाह्रै महिना डुबानमा पर्ने र अधिकांश जग्गा सरकारी, गुठी, सिमसारको भएकोले यहाँ संरचना बनेका थिएनन्। न त जग्गा किनबेच नै हुन्थ्यो।

तर, दलालीहरूले यहाँका जग्गा पनि प्लटिङ गर्न सुरु गरे। सोही क्रममा ०६६ सालमा राधेराधेमा पन्ध्र तले भवन निर्माण सुरु भयो। यद्यपि, उक्त भवन अहिले पनि निर्माणाधीन अवस्थामै छ। त्यसकै अगाडि रहेको भाटभटेनी सुपरमार्केटको भने ०७४–७५ सालबाट निर्माण थालिएको थियो। भाटभटेनी बनेपछि ०७८–०७९ मा यहाँ जग्गाको मूल्य आनाकै ६५ लाखदेखि करोडौँ पुग्यो। तैपनि जग्गा पाउन मुस्किल हुन्थ्यो।

अहिले यही एरियामा जग्गा बिक्री हुन गाह्रो परेको छ। बर्खायाममा डुबानमा पर्ने र अधिकांश जग्गा वि.सं. २०२१ सालमा नापीका क्रममा सरकारी, गुठी, ऐलानी, सिमसारमा राखिएको थाहा पाएपछि यहाँ जग्गा किनबेच ठप्प भएको छ। भाटभटेनी बनेपछि यहाँको जग्गा आनाकै करोडौँमा किनबेच भएको थियो। मानिसहरूले करोडौँ लगानी गरेर घर बनाए, बैंक–वित्तीय संस्थाबाट ऋण लिएर।

यो ठाउँका घरजग्गामा बैंकको अर्बौँ कर्जा लगानी छ। तर, अहिले यहाँ घरजग्गाको मूल्य स्वाट्टै घट्नुका साथै किनबेच ठप्प छ। अब भनौँ–व्यक्तिसँगै बैंकको लगानी पनि डुब्यो कि डुबेन? राधेराधेमा मात्र होइन, देशभरिका विशेषगरी सहरी इलाकामा दलालीहरूले जग्गाको मूल्य ह्वात्तै बढाएका थिए। उनीहरूकै कारण गाउँ रित्तियो। अब भने दलालीहरू भाग्नुपर्ने दिन आउँदैछ। यता, सेयर, जलविद्युत्, बीमालगायत कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँमा निष्कासन गर्दै आएका छन्।

०७८ भदौ ३ गते सेयर कित्ताकै ३२ सय ८७ रुपैयाँ पुगेको थियो। गत भदौ १५ गते यही सेयर घटेर कित्ताको २५ सय १३ मा झरेको थियो। त्यसअघि १७ सयमा समेत झरिसकेको थियो। सेयरको मूल्य अझै घट्ने बजारमा व्यापक चर्चा छ। किनकि कृत्रिम रूपमा बढाइएको मूल्य कुनै न कुनै दिन त वास्तविक मूल्यमा झर्ने नै छ। अनि झन्डै ३३ सयमा किनेको सेयर एक सय रुपैयाँमा झरेमा के होला? सेयरमा पनि व्यक्ति सँगसँगै बैंक–वित्तीय संस्थाको खर्बौँ कर्जा लगानी छ। फलाम, सिसा, प्लास्टिक, रबर, फर्मजस्ता सामानहरू दुई रुपैयाँ किलोमा समेत बिक्री हुन मुस्किल पर्छ।

तर, यस्तै सामानबाट छिमेकी मुलुकहरू भारत र चीनले सवारीसाधन बनाए। अटो शोरुमहरूले एउटै गाडी लाखदेखि करोडौँ हाली किनेर नेपाल भित्र्याए। र, आफूले किनेको भन्दा दश गुणासम्म बढी मूल्यमा सर्वसाधारणलाई बेचे। अधिकांश गाडी पेट्रोलबिना चल्दैन, अर्कोतर्फ आगो लागेमा गाडीको हालत के हुन्छ? हामी सबैले जेनजी आन्दोलनमा देखिसकेकै छौँ। करोडौँ पर्ने सरकारी गाडीहरू आगो परेपछि सित्तैमा लैजानेसमेत कोही छैनन् भने हामीसँग पेट्रोलको खानी छैन।

बाहिरबाट ल्याउनुपर्छ। अनि विदेशीले पेट्रोल नै नदिएमा ती करोडौँ पर्ने सवारीसाधन काम लाग्ला? घरजग्गा, गाडी, सेयर र सुनमा गरिएको लगानीका कारण त व्यक्ति त डुबे नै, बैंक–वित्तीय संस्था पनि समस्यामा परे नै, सँगै मुलुकको अर्थतन्त्रसमेत धराशायी अवस्थामा पुगेको छ। सरकारले अर्थतन्त्र सुधार्न ६४ वटा ऐनमा संशोधन गर्ने तयारी गरेको छ।

तर, मुख्य ऐन चाहिँ सरकारले संशोधन गर्नै चाहेन। त्यो हो, संस्था ऐन, २०३४ र संस्था ऐन, २०१८। किनकि यो ऐनअन्तर्गत दर्ता भएर यातायात व्यवसायीदेखि विभिन्न संघसंस्थाले सर्वसाधारणदेखि राज्यसम्मलाई लुटिरहेका छन्। त्यसैले, सरकारले अरू ६४ वटा ऐन संशोधन गरे पनि न त राजस्व उठ्नेछ न त अर्थतन्त्र चलायमान नै हुनेछ। किनकि कृत्रिम रूपमा मूल्य बढाइएको घरजग्गा, गाडी, सेयर, सुनचाँदी अब कसले किन्छ?

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ट्रेन्डिङ

ताजा समाचार