उपचार गर्ने बहानामा १४ वर्षीया बालिकालाई यातना दिएको आरोपमा जुम्लामा एक जना झाँक्री पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार गुठीचौर गाउँपालिका–१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकाया (धामी/झाँक्री) पक्राउ परेका हुन्।
गत मंसिर ८ गते बिरामी निको पार्ने भन्दै उपचारका नाममा अन्धविश्वास तथा रुढीवादी क्रियाकलाप गरी बालिकालाई यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको थियो।
अनुसन्धानका क्रममा प्रहरीले मंसिर १२ गते दिउँसो १२ बजे मणिसाँघुबाट रोकायालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
पक्राउ परेका रोकायालाई जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाले यस्ता अन्धविश्वास तथा रुढीवादी गतिविधिमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन प्रहरी सक्रिय रहेको जनाएको छ।
साथै यस्ता घटना देखिएमा नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न अनुरोध गरेको छ।














