जुम्लाको पातारासीस्थित ऋणमोक्ष माध्यमिक विद्यालयका भूतपूर्व विद्यार्थीले विद्यालयका लागि दुई लाख ३० हजार २९९ बराबरको अक्षयकोष स्थापना गरेका छन्। कोषको ब्याजबाट एसईई र कक्षा १२ मा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति दिइनेछ।
जुम्लाको पातारासी गाउँपालिका–४ डिल्लीचौरमा मानवशास्त्री डोर बहादुर विष्टले स्थापना गरेको ऋणमोक्ष माध्यमिक विद्यालयको प्रांगणमा उभिँदा हरि बहादुर बुढालाई आफ्नो विद्यार्थी जीवन सम्झना आउँछ। यही विद्यालयमा पढेर उनले २०५६ सालमा एसएलसी उत्तीर्ण गरेका थिए। त्यसपछि उच्च शिक्षा हासिल गरे। अहिले उनी त्यही विद्यालयका प्रधानाध्यापक छन्।
विद्यालयको प्रांगणमा बिताएका बाल्यकालका दिन र आफूलाई शिक्षित बनाउन सहयोग गर्ने शिक्षकहरू सम्झँदा उनलाई एउटा कुरा सधैं खट्किन्थ्यो, आफूले ज्ञान आर्जन गरेको विद्यालयलाई कसरी सहयोग गर्ने? विद्यालयबाट शिक्षा लिएर जीवनमा अघि बढेका विद्यार्थीले आफ्नो विद्यालयलाई केही फर्काउन पाए हुन्थ्यो भन्ने उनको चाहना थियो।
‘भूतपूर्व विद्यार्थीहरूको आशा आफूले शिक्षा आर्जन गरेको विद्यालयलाई केही सहयोग गर्न पाइयोस्, यहाँबाट आर्जन गरेको ज्ञानको ऋण तिर्न पाइयोस् भन्ने हुँदो रहेछ,’ बुढा भन्छन्, ‘म पनि यस विद्यालयको भूतपूर्व विद्यार्थी भएकाले ममा पनि त्यही भावना जागेको थियो।’
त्यही भावनाले अहिले विद्यालयमा एउटा दीर्घकालीन अभियानको रूप लिएको छ। ऋणमोक्ष माध्यमिक विद्यालयका भूतपूर्व विद्यार्थीहरूले विद्यार्थीको पढाइमा सहयोग पुर्याउने उद्देश्यले अक्षयकोष स्थापना गरेका छन्। विद्यालयमा पढेर देशका विभिन्न सरकारी निकायमा काम गरिरहेका, व्यवसायमा लागेका र सामाजिक क्षेत्रमा सक्रिय पूर्वविद्यार्थीहरूलाई एउटै उद्देश्यमा जोड्ने प्रयास गरिएको हो।
बुढा २०७५ सालमा सरुवा भएर विद्यालय आएपछि यो विषयमा छलफल अघि बढेको थियो। त्यसबेला विद्यालयसँग सम्बन्धित भूतपूर्व विद्यार्थी गगन बुढा, श्रवणकुमार महतारा लगायतसँग उनले विद्यालयका लागि के गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेका थिए। महतारा अहिले सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख छन्।

विद्यालयमा कार्यरत र बाहिर रहेका पूर्वविद्यार्थीबीच भएको छलफलमा भौतिक संरचना निर्माणभन्दा दीर्घकालीन सहयोगको उपाय खोज्ने कुरा उठ्यो। केही वर्षपछि जीर्ण हुने भवन, बेन्च वा अन्य संरचना निर्माण गर्नुको सट्टा विद्यालय र विद्यार्थीलाई लामो समयसम्म लाभ दिने कार्यक्रम आवश्यक ठानियो।
‘क्षणिक भौतिक संरचना बनाएर दुई–चार वर्षपछि फेरि मर्मत गर्नुपर्ने भन्दा विद्यालयको हित हुने, बालबालिकाको हित हुने र आजीवन महत्त्वपूर्ण भूमिका रहने कार्यक्रम गरौं भन्ने सोच आयो,’ बुढा भन्छन्।
त्यसपछि अक्षयकोष स्थापना गर्ने निर्णयमा पुगे। कोषको मुख्य उद्देश्य एसईई तथा कक्षा १२ को बोर्ड परीक्षामा उत्कृष्ट हुने छात्र र छात्रालाई छात्रवृत्ति प्रदान गर्नु हो। विद्यालयले संकलन भएको रकम नेपाल सरकारबाट मान्यता प्राप्त ‘क’ वर्गको वाणिज्य बैंकमा मुद्दती खातामा जम्मा गर्ने र त्यसबाट प्राप्त ब्याज छात्रवृत्तिमा खर्च गर्ने योजना बनाएको छ।
अक्षयकोषमा जम्मा भएको मूलधन खर्च गर्न पाइने छैन। त्यो रकम सुरक्षित राखिनेछ र ब्याजबाट मात्र छात्रवृत्ति वितरण गरिनेछ। यसरी कोषलाई विद्यालयको स्थायी स्रोतका रूपमा विकास गर्ने लक्ष्य छ।
विद्यालयले तयार गरेको कार्यविधिमा कोषको नाम ‘भूपू विद्यार्थी अक्षयकोष’ राखिएको छ। कोष सञ्चालन तथा व्यवस्थापनका लागि सात सदस्यीय समिति गठन गरिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वा उनले तोकेको प्रतिनिधि संयोजक, प्रधानाध्यापक सदस्यसचिव, वडा अध्यक्ष वा प्रतिनिधि, दुई जना भूपू विद्यार्थी प्रतिनिधि, एक जना शिक्षक र विद्यालयका लेखापाल वा सहायक कर्मचारी कोषाध्यक्ष रहने व्यवस्था गरिएको छ।

समितिको पदावधि तीन वर्षको हुनेछ। कोषको बैंक खाता प्रधानाध्यापक र कोषाध्यक्षमध्ये कम्तीमा दुई जनाको संयुक्त हस्ताक्षरबाट सञ्चालन हुनेछ। विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार खाता सञ्चालन गर्ने व्यवस्था कार्यविधिमा छ।
कोषमा भूपू विद्यार्थीबाट प्राप्त आजीवन वा साधारण सदस्यता शुल्क, चन्दा तथा अन्य आर्थिक सहयोग जम्मा हुनेछ। कोषमा जम्मा भएको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गरी ब्याज आम्दानी गर्ने व्यवस्था छ। रकम सुरक्षित र बढी लाभ दिने मुद्दती खातामा राख्न सकिने कार्यविधिमा उल्लेख छ।
विद्यालयका अनुसार कोष स्थापना अभियानमा ४१ जना भूतपूर्व विद्यार्थी तथा सहयोगी जोडिएका छन्। उनीहरूले आफ्नो क्षमताअनुसार रकम योगदान गरेका छन्। कोषको संस्थापक सदस्यहरूको अभिलेखमा दुई लाख ३० हजार २९९ जम्मा भएको छ। यसले ठूलो रकम दिने केही व्यक्तिमा मात्र निर्भर नभई धेरै जनाको सहभागिताबाट कोष निर्माण गर्ने प्रयास देखाउँछ।
कोषबाट छात्रवृत्ति वितरण गर्दा विद्यालयमा अध्ययनरत जेहेन्दार, विपन्न, अपांगता भएका वा टुहुरा विद्यार्थीलाई प्राथमिकता दिने कार्यविधिमा उल्लेख छ। एसईई वा कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ। विद्यालयले गठन गरेको छनोट उपसमितिले बोर्ड परीक्षाको नतिजाका आधारमा निष्पक्ष रूपमा विद्यार्थी छनोट गर्नेछ।
अक्षयकोष स्थापनामा सहभागी भूतपूर्व विद्यार्थी दल बहादुर महतारा यसलाई विद्यालय र विद्यार्थीप्रतिको साझा प्रतिबद्धता मान्छन्। उनका अनुसार कोषको सफलता रकम संकलनमा मात्र होइन, त्यसबाट विद्यार्थीको जीवनमा परिवर्तन ल्याउन सक्नुमा निर्भर हुन्छ।

‘यो कुनै एउटा विद्यार्थीप्रतिको मात्र होइन, हाम्रो भविष्यप्रतिको साझा प्रतिबद्धता हो,’ महतारा भन्छन्। भूतपूर्व विद्यार्थी मात्र नभई शिक्षा क्षेत्रमा काम गर्ने संघसंस्था र इच्छुक व्यक्तिहरूलाई पनि कोषमा जोडिन सार्वजनिक आह्वान गर्नुपर्ने उनको सुझाव छ।
महताराले छात्रवृत्ति वितरणमा सामाजिक न्यायलाई पनि ध्यान दिनुपर्ने बताएका छन्। परीक्षामा एउटै अंक ल्याएर दुई वा तीन जना विद्यार्थी उत्कृष्ट हुन सक्छन्। त्यस्तो अवस्थामा आर्थिक तथा सामाजिक अवस्था कमजोर भएका विद्यार्थीलाई प्राथमिकता दिने व्यवस्था कार्यविधिमा स्पष्ट हुनुपर्ने उनको सुझाव छ।
‘कहिलेकाहीँ एउटै परीक्षामा दुई, तीन वा चार जना विद्यार्थी बराबर अंकसहित उत्कृष्ट भएका हुन्छन्,’ महतारा भन्छन्, ‘त्यस्तो अवस्थामा सामाजिक न्यायको सिद्धान्तलाई आधार मानेर विद्यार्थीको आर्थिक र सामाजिक अवस्थालाई पनि ध्यान दिनुपर्छ।’
डब्लूएफपी दिवा खाजा कार्यक्रमका संयोजक कृष्ण थापा, अक्षयकोषलाई विद्यालयको साझा अभियानका रूपमा अघि बढाउनुपर्ने बताउँछन्। उनका अनुसार विद्यालयमा अध्ययन गरेका विद्यार्थी मात्र नभई शिक्षा क्षेत्रमा काम गरिरहेका व्यक्ति र संस्थाले पनि यस्तो अभियानमा सहभागी हुन सक्छन्।
थापाले कोषको पारदर्शिता र जवाफदेहिताका लागि कार्यविधि बनाइएको विषयलाई सकारात्मक मानेका छन्। तर छात्रवृत्ति वितरणमा उत्कृष्ट विद्यार्थीको छनोटसँगै सामाजिक न्यायलाई पनि स्पष्ट रूपमा जोड्नुपर्ने उनको सुझाव छ।

‘उत्कृष्ट विद्यार्थी भनिरहँदा कहिलेकाहीँ समान अंक ल्याउने विद्यार्थी पनि हुन सक्छन्,’ थापा भन्छन्, ‘त्यस्तो अवस्थामा आर्थिक तथा सामाजिक अवस्थालाई ध्यान दिने कुरा कार्यविधिमा उल्लेख भयो भने अझ स्पष्ट हुन्छ।’
पातारासी गाउँपालिका–४ का वडा अध्यक्ष कालीबहादुर ऐडी पनि छात्रवृत्ति वितरणमा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई प्राथमिकता दिनुपर्ने बताउँछन्। उनका अनुसार अवसर पाउँदा सम्पन्न परिवारका विद्यार्थी मात्र अघि बढ्ने अवस्था छ। विपन्न परिवारका विद्यार्थीलाई पनि पढाइमा अघि बढ्न सहयोग गर्ने व्यवस्था आवश्यक छ।
‘जहाँ पनि टाठाबाठा र आर्थिक रूपमा सम्पन्न व्यक्तिले बढी अवसर पाएको देखिन्छ,’ ऐडी भन्छन्, ‘निम्न आय भएका विद्यार्थीलाई माथि उठाउने व्यवस्था हुनुपर्छ।’
विद्यालयका पूर्वविद्यार्थी तथा शिक्षा क्षेत्रमा सक्रिय राजनीतिज्ञ रामन बुढाले पनि आफ्नो निजी लगानीबाट पातारासीका विभिन्न विद्यालयमा फर्निचर, बेन्च र डेस्क सहयोग गर्दै आएका छन्। विपन्न तथा आपत्विपत्तिमा परेका परिवारका बालबालिकाको पढाइमा सहयोग गर्ने उनको प्रयास पनि यही भावनासँग जोडिएको छ।
‘म यही स्कुलमा पढेर २०५६ सालमा एसएलसी उत्तीर्ण भएको हुँ,’ उनी भन्छन्, ‘अहिले यहाँसम्म पुर्याउने विद्यालयलाई म नमन गर्छु र सदैव सम्झिरहन्छु।’
उनका अनुसार अक्षयकोषले आर्थिक अभावका कारण पढाइमा कठिनाइ भोगिरहेका तर पढ्ने इच्छा र क्षमता भएका विद्यार्थीलाई सहयोग गर्नेछ। यसले विद्यार्थीमा भविष्यप्रति आशा र मेहनत गर्ने प्रेरणा थप्ने उनको विश्वास छ।

पूर्व विद्यार्थी तथा शिक्षाप्रेमी रामन बुढा पनि विद्यालयले आफूलाई शिक्षा मात्र नभई समाज सेवामा लाग्ने बाटोसमेत देखाएको बताउँछन्। उनले विद्यालयको व्यवस्थापन र विद्यार्थीको हितका लागि स्थानीय तहबाट बजेट विनियोजन हुँदै आएको उल्लेख गरे।
‘म यही विद्यालयमा पढेर सामाजिक सेवामा लागेको हुँ,’ बुढा भन्छन्, ‘विद्यालयका विद्यार्थीका लागि केही व्यवस्था गर्नुपर्छ भन्ने सोचले स्थानीय तहबाट पनि सहयोग हुँदै आएको छ।’
विद्यालयले कोषको पारदर्शिता र जवाफदेहिताका लागि छुट्टै आयव्यय लेखा राख्ने, प्रत्येक आर्थिक वर्षको अन्त्यमा अनिवार्य लेखापरीक्षण गराउने र लेखापरीक्षण प्रतिवेदन विद्यालयको साधारणसभा तथा सार्वजनिक सुनुवाइमा प्रस्तुत गर्ने व्यवस्था गरेको छ। कोष सञ्चालनमा कुनै कठिनाइ आए समितिको निर्णय अन्तिम हुने र आवश्यकताअनुसार कार्यविधि संशोधन गर्न सकिने पनि उल्लेख छ।
ऋणमोक्ष माध्यमिक विद्यालयको अक्षयकोष अहिले विद्यार्थीलाई छात्रवृत्ति दिने एउटा आर्थिक व्यवस्था मात्र होइन, विद्यालयसँग जोडिएका पुराना पुस्तालाई नयाँ पुस्ताको शिक्षामा सहभागी गराउने प्रयास पनि हो। विद्यालयले दिएको ज्ञानको ऋण पैसा तिरेर मात्र चुक्ता हुँदैन। तर त्यही ज्ञानले जीवनमा अघि बढेका विद्यार्थीले अर्को पुस्ताको पढाइमा हात बढाउँदा विद्यालयसँगको सम्बन्ध अझ बलियो बन्न सक्छ।
विद्यालयको प्रांगणमा पढेका विद्यार्थीहरू देशका विभिन्न ठाउँमा पुगेका छन्। उनीहरूले आफ्नो विद्यालयलाई सम्झेर सुरु गरेको यो अभियान सफल भएमा पातारासीका विद्यार्थीले हरेक वर्ष छात्रवृत्ति पाउनेछन्। त्यससँगै विद्यालयको अक्षयकोषले जुम्लाका अन्य विद्यालयलाई पनि भूतपूर्व विद्यार्थीको सहयोगबाट दीर्घकालीन शैक्षिक स्रोत निर्माण गर्न प्रेरणा दिने पुुर्व विद्यार्थी तथा गायक पञ्चकली बुढा बताउँछिन्।
उनी भन्छिन्, ‘हामी यही विद्यालयमा पढेर आफ्नो जीवनको बाटो पहिल्याएका हौँ। विद्यालयले दिएको शिक्षा र संस्कारले आज हामीलाई यहाँसम्म आइपुग्न सहयोग गरेको छ। आफूले पढेको विद्यालय र त्यहाँ अध्ययनरत भाइबहिनीहरूको भविष्यका लागि केही गर्न पाउनु हाम्रो सौभाग्य हो।’
उनका अनुसार भूपू विद्यार्थी अक्षयकोषले आर्थिक अवस्था कमजोर भएका तर पढ्ने इच्छा र क्षमता भएका विद्यार्थीलाई अघि बढ्न सहयोग गर्नेछ। यो अभियानमा सबै पूर्वविद्यार्थी र शिक्षाप्रेमीहरू जोडिन सके विद्यालयका बालबालिकाको भविष्य उज्ज्वल बनाउन ठूलो योगदान पुग्नेछ।















