आईतवार, १३ मंसिर, २०८३

तातोपानीको टोप्लामा स्थापित बर्थिङ सेन्टरको उद्घाटन

जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लामा ३६ लाख रुपैयाँको लगानीमा बर्थिङ सेन्टर निर्माण गरी सुत्केरी सेवा सुरु गरिएको छ। विकट भूगोल र कठिन बाटोका कारण प्रसूति सेवाबाट वञ्चित महिलालाई अब गाउँमै सुरक्षित मातृत्व सेवा दिन सकिने तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंको दाबी छ।

जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाकी गर्भवती महिलालाई सुत्केरी व्यथा लाग्दा पहिले एउटै चिन्ताले सताउँथ्यो, अब स्वास्थ्य संस्था कसरी पुग्ने ? दुर्गम भूगोल, कठिन बाटो र आर्थिक अभावका कारण प्रसूति सेवा लिनुपर्ने बाध्यता यहाँका महिलाका लागि वर्षौंदेखि पीडाको विषय बन्दै आएको थियो।

कतिपय महिला घरमै सुत्केरी हुन बाध्य थिए। सामान्य गर्भजाँचका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो। तर, अब टोप्ला र आसपासका डुंग्री गाउँका महिलाका लागि गाउँमै प्रसूति सेवा पाउने आशाको ढोका खुलेको छ।

तातोपानी गाउँपालिकाको ३६ लाख रुपैयाँ लगानीमा निर्माण गरिएको बर्थिङ सेन्टर भवनबाट सुत्केरी सेवा सुरु भएपछि स्थानीय महिलाको वर्षौंदेखिको सास्ती कम हुने अपेक्षा गरिएको छ। शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे।

‘वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ,’ स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंले भने।

गाउँपालिका अध्यक्ष चौलागाईंका अनुसार दुर्गम क्षेत्रका महिलालाई प्रसूति सेवाबाट वञ्चित हुन नदिन बर्थिङ सेन्टर निर्माण गरिएको हो। आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनमा ल्याइएको उनले बताए। सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्‍याउने स्थानीयलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गाउँपालिकाले गरेको छ।

प्रदेशसभा सदस्य शाहीले दुर्गमका नागरिकको आवश्यकतालाई बुझेर गाउँपालिकाले गरेको प्रयास प्रशंसनीय भएको बताए। उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।

भवन बनेसँगै टोप्लामा सुरक्षित मातृत्वको आधार तयार भएको छ। तर, भवन मात्रै पर्याप्त छैन। आवश्यक उपकरण, दक्ष स्वास्थ्यकर्मी, घेरबार र परिसर व्यवस्थापन अझै प्राथमिकतामा छन्।

‘यो केवल एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो,’ स्थानीय महेन्द्रबहादुर शाहीले भने।

उनका अनुसार चौबिसै घण्टा सेवा, दक्ष जनशक्ति र आवश्यक सामग्रीको व्यवस्था भए मात्रै गाउँमै सुरक्षित प्रसूतिको वास्तविक अनुभूति हुनेछ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार