शुक्रबार, ११ मंसिर, २०८३

मेयर हुँदा राष्ट्रियताका ठूल्ठूला स्टाटस, प्रधानमन्त्री बनेपछि चुपचाप !

प्रधानमन्त्री बालेनले भारत भ्रमणमा अतिक्रमित नेपाली भूमि, सीमा विवाद र सन्धिका विषय उठाउने जनताको आशा थियो । तर, उनी मौन रहे । राष्ट्रियताका ठूल्ठूला कुरा गर्ने बालेनले अब जनताका प्रश्नको जवाफ दिनैपर्छ ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) गत मंसिर ६ गते छिमेकी मुलुक भारत भ्रमणमा गए । तर, उनले भारतद्वारा अतिक्रमित नेपाली भूमि, सीमा विवाद र विभिन्न समयमा भएका सन्धिका बारेमा कुरा उठाएनन् । कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपाली भूमि हो, त्यसमा भारतले दाबी गर्दै आएको छ । हाम्रो सीमा मिच्ने क्रम पनि बढेकै छ ।

सन्धिका नाममा नेपालले सिक्किम, दार्जिलिङ, बाघघाम, हाजीपुर, गोरखपुर, कांगडा, टिस्टा, टनकपुर, गंगा नदीसम्मका थुप्रै भूभाग विगतमा गुमायो । प्रधानमन्त्री बालेनले भारत भ्रमणमा यी विषयवस्तु कडा रूपमा उठाउने जनताको आशा थियो । किनकि काठमाडौं महानगरपालिकाको मेयर रहँदा उनको राष्ट्रियता देखेरै जनताले उनलाई मन पराएका थिए ।

कार्यकक्षमा ग्रेटर नेपालको नक्सा टाँगेका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने क्रममा उनले फेसबुकमा स्टाटस लेखेर लिपुलेकबारे कडा रूपमा कुरा उठाउन भनेका थिए । बालेनको उक्त स्टाटसले जनताको मन जितेको थियो । त्यसैले, जनताले ०८२ फागुन २१ गतेको निर्वाचनमा रास्वपालाई १८२ सिट जिताउँदै बालेनलाई प्रधानमन्त्रीको कुर्सीमा पुर्‍याए ।

प्रधानमन्त्री बनेपछि उनले देशभरका अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउने, सीमामा बढ्दो अतिक्रमण हटाउने, छिमेकी मुलुकहरूद्वारा अतिक्रमित नेपाली भूमि अतिक्रमणमुक्त गराउनेमा जनता निकै आशावादी थिए । दुर्भाग्य, प्रधानमन्त्रीको भारत भ्रमण सम्पन्नसँगै उनीहरूको आशा निराशामा बदलिएको छ । प्रधानमन्त्री बालेनमाथि जनताले गरेको कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको स्वामित्वमा ल्याउने, सीमा विवाद हटाउने विश्वास पूर्ण रूपमा उठेको छ ।

नेपाल–भारत सीमानाका कारण नेपालको झन्डै दुई दर्जन जिल्लामा ८९ हजार बढी भूमि अतिक्रमणमा परेको छ । ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दार्चुला, बैतडी र डडेल्धुरामा भारतसँग सीमा भएका नेपाली जमिन व्यापक मिचिएको छ ।

त्यस्तै, कालापानी, लिपुलेक, लिम्पियाधुरा, सुस्तालगायत क्षेत्रमा मात्रै ७६ हजार तीन सयदेखि ७६ हजार ९ सय बिघासम्म नेपाली भूमि भारतको कब्जामा छ । प्रधानमन्त्री बालेनको भारत भ्रमणमा यो मुद्दा प्रमुख हुनुपर्थ्यो । किनकि देशभन्दा ठूलो अरू केही पनि होइन । तर, प्रधानमन्त्री बालेनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अतिक्रमित नेपाली भूमिबारे एक शब्दसमेत बोल्न सकेनन् । बरु, उल्टै ऋण माग्दै हात थापे । भारतसँग झन्डै दुई खर्बको ऋण लिएर प्रधानमन्त्री बालेन फर्किएका छन् । यसबाट एउटा कुरा त स्पष्ट भएको छ कि बालेन पनि राष्ट्रियताका ठूल्ठूला कुरा गर्ने व्यक्तिमात्रै हुन् । र उनलाई पदमात्र चाहिएको थियो ।

जब आफू कुर्सीमा थिएनन्, तब अरूमाथि अनेकौँ प्रश्न उठाए । यो–त्यो गर्नुपर्‍यो, नभए म गर्छु भन्दै फेसबुकमा स्टाटस लेखेको लेख्यै गरे । अनि जनताले पदमा पुर्‍याएपछि चाहिँ चुपचाप । के यही दिन देख्नलाई जनताले घण्टीमा छाप हानेका थिए ? पार्टी सदस्य गोजीमा राखेर चुपचाप रास्वपालाई जिताएका थिए ? रास्वपालाई भोट हालेका जनता एकदमै पछुताउन थालिसकेका छन् । किनकि बजारमा महँगीले सीमा नाघेको छ ।

बेरोजगारी र गरिबी बढेको बढ्यै छ । काम गरेको ठाउँमा तलब बढ्दैन, तर खाद्यान्न, लत्ताकपडालगायतको मूल्य बढेको बढ्यै छ । जतिसुकै महँगी बढेपनि जनताले सहिरहेकै थिए, किनकि उनीहरूलाई वर्तमान सरकारप्रति विश्वास थियो । तर, भारत भ्रमणले प्रधानमन्त्री बालेन र सरकारमाथि जनताको विश्वासमा गिरावट आएको छ । उनी पनि पुरानै खालका नेता रहेछन् भन्ने जनताको मनमा परिसकेको छ ।

चुनावका बेला स्वदेशमै उत्पादित अन्न खुवाउनेदेखि अतिक्रमित सार्वजनिक जग्गा र सम्पदा राज्यको स्वामित्वमा फिर्ता ल्याउने, भ्रष्टाचारीलाई कडा कारबाही गर्ने, हरेक क्षेत्रमा सिन्डिकेट हटाउने, अर्थतन्त्र चलायमान बनाउने, विदेशी ऋण नलिने, सुशासन कायम गर्नेजस्ता अनेकौँ वाचा रास्वपा र वर्तमान प्रधानमन्त्री बालेनले गरेका थिए । बालेन सरकार गठन भएको नौ महिना हुन लागेको छ ।

अहिले जनताले प्रधानमन्त्री बालेनलाई सोध्छन्– देशभरिका कति अतिक्रमित सरकारी जग्गा र सम्पदा फिर्ता ल्याउनुभयो ? कति भ्रष्टाचारीलाई जेल कोच्नुभयो ? कहाँको सिन्डिकेट हटाउनुभयो ? किनकि यातायातलगायत क्षेत्रमा पाँच दशकदेखि रहेको सिन्डिकेट त अहिले पनि कायमै छ । अर्थतन्त्र कतिको चलायमान भयो त ? कहाँ चाहिँ सुशासन कायम गर्नुभयो ? यी प्रश्नको जवाफ अब प्रधानमन्त्री बालेनले दिनैपर्छ ।

बालेन सरकार गठनयता वैदेशिक ऋण मात्रै पाँच खर्ब बढी लिइसकिएको छ । देश धितो राखेर धमाधम विदेशीहरूसँग ऋण लिँदै तलबभत्ता बाँड्ने कामले हिजो पनि निरन्तरता पाएको थियो र अहिले पनि पाइरहेकै छ । सरकारी निकायहरूमा आफ्ना मान्छे नियुक्त गर्ने क्रम पनि कायमै छ । अहिले पनि अर्थतन्त्र वैदेशिक ऋण, अनुदान र रेमिट्यान्सले धानिरहेको छ ? अनि पुराना र नयाँ भनिएको बालेन सरकारबीच के फरक रह्यो त ? जनताले त अहिले पनि दुःख, हैरानी खेप्नुपरेकै छ । ठगिनुपरेकै छ । अझ बालेन सरकार गठनपछि त झन् बढी सास्ती भोग्नुपरेको छ । कर्मचारीलाई मोज हुनेगरी सरकारले आइतबारसमेत सार्वजनिक बिदा दियो अनि सर्वसाधारणको हकमा चाहिँ के ?

निजी क्षेत्रमा काम गर्नेले त महिनामा एक दिनसमेत छुट्टी पाउँदैनन् । मासिक दशदेखि पन्ध्र हजार रुपैयाँ तलबमा उनीहरू बिहान ७ बजेदेखि राति ७–८ बजेसम्म काम गर्न बाध्य छन् । तर, यी श्रमिकको हकमा सरकारले कुनै पनि निर्णय गरेन । पहिल्यै भरपुर सेवासुविधा र बिदा पाइरहेका सरकारी कर्मचारीको चाहिँ तलब र बिदा दुवै बढाइयो । के यो सरकार कर्मचारीका लागि मात्र बनेको हो ?

प्रधानमन्त्री बालेनले गत जेठमा सदनमा बोल्ने क्रममा विगतका सरकारले लुकाएका सबै आयोगका प्रतिवेदन सार्वजनिक गर्ने र कार्यान्वयन गर्ने बताएका थिए । तर, उनकै सरकार गठनश्चात् गठित आयोगहरूका प्रतिवेदन भने न सार्वजनिक गरियो न त कार्यान्वयन ।

जेनजी घटना छानबिन आयोगको प्रतिवेदन, जेनजी घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस खण्ड, जेनजी घटनामै सुरक्षाकर्मीका हकमा छानबिन समितिको प्रतिवेदन, गृहमन्त्री सुधन गुरुङका विषयमा गठित छानबिन समितिको प्रतिवेदन, गणेश विक आत्मदाह प्रकरणबारे छानबिन प्रतिवेदन, सम्पत्ति छानबिन आयोगको प्रतिवेदन, संविधान संशोधनसम्बन्धी सुझाव प्रतिवेदन, कक्षा १२ को नतिजामा भएको त्रुटि सम्बन्धमा छानबिन समितिको प्रतिवेदन, सिराहा र सप्तरी घटनासम्बन्धी प्रतिवेदन र सहकारीसम्बन्धी छानबिन प्रतिवेदन बालेन सरकार स्वयंले लुकाएको छ ।

यस्तै, विगतका सरकारले लुकाएको मल्लिक आयोगको प्रतिवेदन, रायमाझी आयोगको प्रतिवेदन, भैरव लम्साल सम्पत्ति छानबिन प्रतिवेदन, लाल आयोगको प्रतिवेदन, ३८ सय किलो सुन तस्करीसम्बन्धी प्रतिवेदन, सरकारी सार्वजनिक जग्गासम्बन्धी प्रतिवेदन, सचिवको दरबन्दी घटाउनेसम्बन्धी प्रतिवेदन, उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन, समाज कल्याण परिषद्को अनियमिततासम्बन्धी प्रतिवेदन, प्रधानमन्त्री कार्यालयको सुदृढीकरण प्रतिवेदन र संस्थान सुधार सुझावसम्बन्धी प्रतिवेदन पनि बालेन सरकारले सार्वजनिक गरेको छैन । रास्वपा र बालेनले गरेका एकपछि अर्को वाचा झुटो साबित भइरहेको छ । त्यसैले, अब बालेन सरकारले कि त काम गर्नुपर्छ, होइन भने मार्ग प्रशस्त गर्नुपर्छ ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार