खस सिंजा नेपालको भाषा, सभ्यता र राष्ट्रिय पहिचानसँग जोडिएको साझा ऐतिहासिक विरासत हो। यसको संरक्षण, अनुसन्धान र विश्वव्यापी प्रचारप्रसार गर्नु स्थानीय सरकारको प्रमुख दायित्व हो।
खस सिंजा राज्य चौधौँ शताब्दीको अन्त्यतिर कमजोर हुँदै विखण्डित भयो। त्यससँगै जोडिएको ऐतिहासिक गौरव, भाषा, सभ्यता र सांस्कृतिक पहिचान पनि समयक्रममा ओझेल पर्दै जाने त होइन भन्ने चिन्ता अहिले बढ्न थालेको छ। कुनै समय विशाल खस साम्राज्यको राजधानी तथा नेपाली भाषा र सभ्यताको महत्त्वपूर्ण केन्द्र रहेको सिंजाको ऐतिहासिक पहिचान स्थापित गर्न स्थानीय सरकारबाट अपेक्षित पहल हुन सकेको देखिँदैन। यसको संरक्षण र प्रचारप्रसारमा समयमै ध्यान नदिने हो भने इतिहासको महत्त्व घट्दै जाने र त्यसको पहिचानसमेत अन्यत्र सीमित हुने जोखिम रहन्छ।
आजको प्रशासनिक संरचनामा तिला गाउँपालिकासमेत सिंजा क्षेत्रसँग जोडिए पनि हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिका ऐतिहासिक सिंजा उपत्यका अर्थात् सिंजादराका अभिन्न भूभाग हुन्। यद्यपि खस सिंजा राज्यको ऐतिहासिक केन्द्र तथा महत्त्वपूर्ण पुरातात्त्विक सम्पदाहरूको ठूलो हिस्सा वर्तमान कनकासुन्दरी गाउँपालिकाभित्र पर्दछ। तर ऐतिहासिक पहिचानको प्रचारप्रसार र सांस्कृतिक गतिविधिहरू भने तुलनात्मक रूपमा सिंजा गाउँपालिकाको नराकोट क्षेत्रमा बढी केन्द्रित भएको देखिन्छ।
सिंजा गाउँपालिकाको नामकरणमै ऐतिहासिक पहिचान जोडिएकाले यसलाई आफ्नो गौरवका रूपमा स्थापित गर्न सहज भएको छ। गाउँपालिकाले आयोजना गर्दै आएका सिंजा महोत्सव, सिंजा कप, खस भाषासम्बन्धी कविता प्रतियोगिता तथा विभिन्न सांस्कृतिक गतिविधिले यस क्षेत्रको पहिचान विस्तार गर्न योगदान पुर्याएका छन्। रारातर्फ यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि नराकोट परिचित गन्तव्य बन्दै जानु पनि यस्तै गतिविधिको परिणाम हो। आफ्नो नाम र पहिचानसँग जोडिएका कार्यक्रम सञ्चालन गर्न अग्रसर भएकोमा सिंजा गाउँपालिकालाई धन्यवाद दिनुपर्छ।
तर विडम्बना के छ भने खस सिंजा राज्यको ऐतिहासिक केन्द्र, नेपाली भाषा र सभ्यताको उद्गमस्थलका रूपमा चिनिएको भूभाग अहिलेको कनकासुन्दरी गाउँपालिकाभित्र पर्दछ। संघीय संरचनाअनुसार स्थानीय तह गठन हुँदा यहाँको नामकरणमा ऐतिहासिक पहिचानलाई प्राथमिकता दिन सकिएको भए ‘खस सिंजा’ नामले नै यस क्षेत्रको ऐतिहासिक गौरवलाई थप स्थापित गर्न सक्थ्यो। तर कनकासुन्दरी मन्दिरको नामबाट गाउँपालिकाको नामकरण गरियो। मन्दिरको आफ्नै धार्मिक तथा सांस्कृतिक महत्त्व छ, तर पालिकाको नामकरणमा ऐतिहासिक राज्य, भाषा र सभ्यताको पहिचान समेटिन नसक्नु एउटा गम्भीर अवसर गुमाउनु हो।
नामकरणले मात्रै इतिहासको महत्त्व निर्धारण गर्दैन। तर नामले कुनै क्षेत्रको पहिचान निर्माण गर्न, त्यसको प्रचारप्रसार गर्न र बाह्य जगत्मा परिचित गराउन महत्त्वपूर्ण भूमिका खेल्छ। त्यसैले स्थानीय तहको नामकरणदेखि नीति, कार्यक्रम र बजेट निर्माणसम्म ऐतिहासिक पहिचानलाई जोड्न आवश्यक हुन्छ।
कनकासुन्दरी गाउँपालिकाभित्र पाण्डव गुफा, विराट दरबार, कनकासुन्दरी मन्दिर, राजदरबार क्षेत्र र बुडुमस्टोलगायत ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेका सम्पदा छन्। यी स्थलको व्यवस्थित अध्ययन, संरक्षण र प्रचारप्रसार हुन सकेमा कनकासुन्दरी मात्र होइन, समग्र सिंजा क्षेत्रलाई ऐतिहासिक तथा सांस्कृतिक पर्यटनको महत्त्वपूर्ण गन्तव्यका रूपमा विकास गर्न सकिन्छ।
त्यस्तै, कनकासुन्दरी गाउँपालिका–६ मा रहेको जचौरी कुलो पनि ऐतिहासिक महत्त्व बोकेको स्थल हो। सामूहिक व्यवस्थापन र उपभोक्ता समितिको अवधारणाको प्रारम्भिक अभ्याससँग यस स्थानलाई जोडेर हेर्ने ऐतिहासिक मान्यता रहेको छ। यस्तो विषयमा तथ्यगत खोज, अभिलेखीकरण र अनुसन्धान हुन सकेमा यसले स्थानीय इतिहासमा थप महत्त्वपूर्ण योगदान पुर्याउन सक्छ। तर यस्ता सम्पदाको पहिचान र प्रचारप्रसारमा अपेक्षित चासो देखिएको छैन।
खस मल्ल राजाहरूले सिंजालाई राजधानी बनाएर शासन सञ्चालन गरेका थिए। उनीहरूको प्रभाव पश्चिममा कुमाउ–गढवालदेखि उत्तरमा तिब्बत र पूर्वमा नेपालको मध्यभागसम्म फैलिएको ऐतिहासिक विवरण पाइन्छ। सिंजा कुनै सामान्य गाउँ वा बस्ती थिएन। यो विशाल खस राज्यको राजनीतिक तथा प्रशासनिक केन्द्र मात्र नभई भाषा, साहित्य, कला, संस्कृति र धार्मिक सभ्यताको विकास भएको महत्त्वपूर्ण भूमि थियो। यहाँ विकसित खस भाषा र सभ्यताको प्रभावले नेपालको भाषिक तथा सांस्कृतिक इतिहासमा विशिष्ट स्थान ओगटेको छ।
यति महत्त्वपूर्ण ऐतिहासिक विरासत बोकेको क्षेत्रको संरक्षण र प्रवर्द्धनमा स्थानीय सरकारको भूमिका स्वाभाविक रूपमा अग्रस्थानमा हुनुपर्छ। ऐतिहासिक सम्पदाको संरक्षण गर्नु, तिनको अभिलेखीकरण गर्नु, नयाँ पुस्तालाई इतिहाससँग परिचित गराउनु र बाह्य जगत्मा यसको महत्त्व स्थापित गर्नु स्थानीय सरकारको प्रमुख दायित्व हो। यो जिम्मेवारी कुनै एक पालिका वा व्यक्तिको मात्र नभई समग्र सिंजावासीको साझा सरोकार पनि हो।
यसका लागि कनकासुन्दरी गाउँपालिकाले आफ्नो नीति, कार्यक्रम र बजेटमा खस सिंजाको इतिहास तथा सम्पदा संरक्षणलाई प्राथमिकता दिनुपर्छ। ऐतिहासिक स्थलको मर्मतसम्भार र संरक्षणसँगै पुरातात्त्विक तथा ऐतिहासिक अध्ययन, अनुसन्धानमूलक लेखन, वृत्तचित्र निर्माण र अभिलेख तयार गर्ने काम अघि बढाउनुपर्छ। खस भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धनका लागि साहित्य सम्मेलन, सांस्कृतिक महोत्सव, कविता प्रतियोगिता तथा अनुसन्धानमूलक कार्यक्रम सञ्चालन गर्न सकिन्छ।
त्यसैगरी, हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकाबीच साझा ऐतिहासिक पहिचानका आधारमा सहकार्य हुन आवश्यक छ। तीनवटै पालिकाले संयुक्त रूपमा खस सिंजा सभ्यता तथा सम्पदा संरक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गर्न सके यसको प्रभाव अझ व्यापक हुनेछ। प्रदेश र संघीय सरकारसँग समन्वय गरी ऐतिहासिक सम्पदाको संरक्षण, अनुसन्धान र पर्यटन पूर्वाधार विकासका लागि आवश्यक बजेट तथा प्राविधिक सहयोग जुटाउन पनि पहल गर्नुपर्छ।
आगामी स्थानीय निर्वाचनको सन्दर्भमा समेत यो विषय राजनीतिक दल र उम्मेदवारको प्राथमिकतामा पर्नुपर्छ। नेतृत्व चयन गर्दा व्यक्तिगत लोकप्रियता वा दलगत समीकरणभन्दा पनि ऐतिहासिक पहिचानको संरक्षण, विकासको स्पष्ट दृष्टिकोण र परिणाममुखी काम गर्ने क्षमता भएका व्यक्तिलाई प्राथमिकता दिन आवश्यक छ। सक्षम र दूरदर्शी युवा नेतृत्वको एकताले यस क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सक्छ।
खस सिंजाको इतिहास कुनै एक गाउँपालिका, समुदाय वा पुस्ताको सम्पत्ति होइन। यो नेपालको भाषा, सभ्यता र राष्ट्रिय पहिचानसँग जोडिएको साझा ऐतिहासिक विरासत हो। यसको संरक्षण गर्नु हाम्रो जिम्मेवारी हो भने त्यसलाई व्यवहारमा उतार्ने संस्थागत नेतृत्व स्थानीय सरकारको हो। इतिहासप्रति गर्व गरेर मात्र पुग्दैन, त्यसलाई संरक्षण र प्रवर्द्धन गर्ने ठोस काम पनि गर्नुपर्छ।
आजैदेखि खस सिंजाको इतिहास खोजौँ, सम्पदा जोगाऔँ र यसको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गरौँ। नत्र भोलिका पुस्ताले गौरव गर्नुपर्ने इतिहास हामीले नै ओझेलमा पारेको पश्चात्ताप गर्नुपर्नेछ।
(खस भाषाको उद्गम स्थल कनकासुन्दरीका लेखक थापा सामाजिक अभियन्ता हुनुहुन्छ।)















