मंगलवार, २४ कार्तिक, २०८३

​‘आधा अध्याय’ले नेतृत्वको जिम्मेवारी र सुशासनको मर्म सिकाउँछ

सुशासन भाषणमा होइन, दैनिक साना निर्णय र व्यवहारमा परीक्षण हुने विषय हो। कठिन बाटोमा हिँड्ने साहस र अथक संघर्षले नै मानिसलाई समाजमा स्थापित नेतृत्व र वास्तविक पहिचान दिलाउँछ।

सबैभन्दा पहिले, लक्ष्मण दाइको जीवनका अनुभव र संघर्षलाई पुस्तकका रूपमा पाठकमाझ ल्याउन सहयोग गर्ने कुटीरो रिसर्च सेन्टर तथा प्रकाशन टोलीलाई विशेष धन्यवाद दिन चाहन्छु। उहाँहरूको सहयोगबिना यो जीवनकथा यसरी पुस्तकमा उतार्न सहज हुने थिएन।

मैले यो पुस्तकको सबै विषयवस्तु पढिसकेको छैन। तर म आफै कर्णालीबाट प्रतिनिधित्व गर्ने भएकाले लक्ष्मण दाइले कर्णालीमा गर्नुभएको संघर्ष र उहाँले भोग्नुभएका परिस्थितिलाई नजिकबाट महसुस गर्न सक्छु। दैलेखबाट प्रतिनिधित्व गर्ने व्यक्तिका रूपमा पनि जुम्लाको कर्णालीमा उहाँले गर्नुभएको संघर्ष र यात्रालाई बुझ्न सक्छु।

पुस्तक पल्टाउँदै गर्दा एउटा कुरा स्पष्ट देखिन्छ, संघर्षको बाटो सजिलो हुँदैन। तर त्यही कठिन बाटोमा हिँड्ने साहसले मानिसलाई समाजमा आफ्नो पहिचान बनाउन सिकाउँछ। लक्ष्मण दाइले आफ्नो राजनीतिक यात्रामा गर्नुभएको संघर्ष, पारिवारिक जीवन र उहाँकी जीवनसंगिनीले दिनुभएको साथ र सहयोगका विषय पनि पुस्तकमा समेटिएका रहेछन्। उहाँको सफलताको यात्रामा जीवनसंगिनीको साथ पनि उत्तिकै महत्त्वपूर्ण रहेको कुरा पुस्तकले उजागर गरेको छ।

पुस्तकमा एउटा प्रसङ्गले मलाई विशेष प्रभावित बनायो। उहाँले लेख्नुभएको छ,

‘यसरी हेर्दा सुशासन कुनै भाषणमा प्रयोग हुने शब्द रहेन, यो दिनदिनैको निर्माणमा परीक्षण हुने विषय बन्यो। कसको गुनासो सुन्ने, कसको दबाबमा नपर्ने, कुन निर्णय सार्वजनिक गर्ने, कुन गल्ती स्वीकार गर्ने, आम जनता र कर्मचारीहरूसँग कसरी व्यवहार गर्ने र विपक्षको आलोचनालाई कसरी लिने, यिनै साना निर्णयले शासनको संस्कारको निर्माण गर्दा रहेछन्।’

यो अंशले सुशासनको वास्तविक अर्थ र नेतृत्वको जिम्मेवारीलाई स्पष्ट पारेको छ। सफल नेतृत्व बन्नका लागि के गर्नुपर्छ र त्यसका लागि कस्ता संघर्ष पार गर्नुपर्छ भन्ने कुरा यस पुस्तकमा समेटिएको मैले पाएँ।

त्यसैले यहाँ उपस्थित सबैलाई मेरो आग्रह छ, यो पुस्तक एकपटक अवश्य पढिदिनुहोला। पुस्तक पढ्दै गर्दा लक्ष्मण दाइ राजनीतिमा आउनका लागि कस्तो संघर्ष गर्नुभयो, उहाँले आफ्नो राजनीतिक जीवनमा कस्ता चुनौती सामना गर्नुभयो र ती चुनौती पार गर्दै कसरी यहाँसम्म आइपुग्नुभयो भन्ने कुरा बुझ्न सकिन्छ।

उहाँले आफ्नो जीवनसंगिनीबाट प्राप्त गर्नुभएको साथ र सहयोगलाई पनि पुस्तकमा समेट्नुभएको छ। त्यो साथबिना लक्ष्मण बहादुर शाही आजको अवस्थामा आइपुग्न सक्नुहुन्थ्यो कि हुन्थेन भन्ने कुरा पनि पुस्तक पढ्दै गर्दा अनुभूत गर्न सकिन्छ।

लक्ष्मण दाइको संघर्ष, नेपाली राजनीति र नेपाली कांग्रेसमा उहाँले पुर्‍याउनुभएको योगदानको कदर गर्दै उहाँको आगामी यात्रा अझ सफल हुँदै जाओस् भन्ने शुभकामना व्यक्त गर्दछु।

यो उहाँको पहिलो पुस्तक हो। आगामी दिनमा यस्ता धेरै पुस्तकहरूको लोकार्पण कार्यक्रममा सहभागी हुन पाइयोस् भन्ने कामना गर्दै आफ्ना भनाइ यहीँ अन्त्य गर्दछु।

(यो कुटीरो रिसर्च सेन्टरद्वारा प्रकाशित लक्ष्मण बहादुर शाहीको पुस्तक ‘आधा अध्याय’ सार्वजनिक कार्यक्रममा नेपाली कांग्रेस संसदीय दलकी सचेतक बासना थापाले व्यक्त गर्नुभएको मन्तव्यको सम्पादित अंश।)

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार