शुक्रबार, ३० आश्विन, २०८३

सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय डीनमा डा. धामी नियुक्त


​
सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीन पदमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। विश्वविद्यालयले खुला प्रतिस्पर्धात्मक छनोट प्रक्रियामार्फत उनलाई डीनमा नियुक्त गरेको हो।

​चिकित्सा शिक्षा, अनुसन्धान, शैक्षिक नेतृत्व तथा सार्वजनिक प्रशासनमा लामो अनुभव संगालेका डा. धामीको नियुक्तिले सुदूरपश्चिम क्षेत्रमा गुणस्तरीय स्वास्थ्य शिक्षा, स्वास्थ्य सेवा तथा अनुसन्धान विस्तारमा गति दिने विश्वास लिइएको छ।

​बझाङको छविसपाथिभेरा गाउँपालिका–५ थलारा स्थायी ठेगाना भएका डा. धामीले क्लिनिकल फार्माकोलोजी तथा थेराप्युटिक्समा एमडी (MD) गर्नुका साथै सार्वजनिक प्रशासनमा स्नातकोत्तर (MPA) सम्मको अध्ययन पूरा गरेका छन्।

यसअघि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा लामो समय प्राध्यापन गराएका उनीसँग प्रतिष्ठानको सहप्राध्यापक, शिक्षाध्यक्ष (रेक्टर) तथा निमित्त उपकुलपतिको समेत जिम्मेवारी कुशलतापूर्वक सम्हालेको अनुभव छ।

​चिकित्सा शिक्षा, औषधिको तर्कसंगत प्रयोग, औषधि सुरक्षा, एन्टिमाइक्रोबियल प्रतिरोध र जनस्वास्थ्य अनुसन्धानमा रुचि राख्ने डा. धामीले डडेल्धुरालाई क्षेत्रीय स्वास्थ्य शिक्षाको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखेका छन्।

यसका लागि डडेल्धुरा अस्पतालसँगको सहकार्यलाई थप सुदृढ बनाउँदै गुणस्तरीय शैक्षिक कार्यक्रम, दक्ष प्राज्ञिक जनशक्ति, आधुनिक पूर्वाधार र स्थानीय स्वास्थ्य समस्याकेन्द्रित अनुसन्धान अघि बढाउने संकायको योजना छ।

​अन्य संकाय तथा केन्द्रमा पनि नयाँ पदाधिकारी
​विश्वविद्यालयले स्वास्थ्य विज्ञानसँगै अन्य संकाय र महत्त्वपूर्ण निकायहरूमा पनि खुला प्रतिस्पर्धाबाट नयाँ पदाधिकारी नियुक्त गरेको छ।

​विश्वविद्यालयका अनुसार व्यवस्थापन संकायको डीनमा सहप्राध्यापक डा. शिवप्रसाद सापकोटा, शिक्षाशास्त्र संकायमा सहप्राध्यापक डा. नाथुराम चौधरी, विज्ञान तथा प्रविधि संकायमा सहप्राध्यापक डा. प्रेमसिंह साउद र मानविकी तथा सामाजिकशास्त्र संकायको डीनमा प्राध्यापक डा. राजेन्द्रप्रसाद भट्ट नियुक्त भएका छन्।

​त्यसैगरी, अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रको निर्देशकमा सहप्राध्यापक डा. महेन्द्रराज जोशी, भाषा, साहित्य तथा संस्कृति केन्द्रको निर्देशकमा प्राध्यापक डा. हरिश्चन्द्र भट्ट र विश्वविद्यालयको केन्द्रीय क्याम्पसको प्रिन्सिपलमा डा. दीपकचन्द्र भट्ट नियुक्त भएका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार