शुक्रबार, ३० आश्विन, २०८३

हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाहीको पुस्तक ‘आधा अध्याय’ सार्वजनिक

जुम्लाको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीको आत्मकथात्मक पुस्तक ‘आधा अध्याय’ बुधबार राजधानीमा आयोजित एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ। नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति मधु आचार्य, महामन्त्री उदयशमशेर राणा, लेखक तथा समीक्षकहरूले संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन्।

​कुटीरो रिसर्च सेन्टरले प्रकाशन तथा सम्पादन गरेको उक्त पुस्तकमा लेखक शाहीको बाल्यकाल, कर्णालीको सामाजिक यथार्थ, लोकतान्त्रिक आन्दोलनका संघर्ष, संगठन निर्माणका जटिलता र जनप्रतिनिधिका रूपमा स्थानीय सरकार सञ्चालन गर्दाका प्रत्यक्ष अनुभवहरू समेटिएका छन्।

​पुस्तक सार्वजनिक गर्दै नेपाली कांग्रेसका उपसभापति मधु आचार्यले कर्णालीको सभ्यता, संस्कृति र त्यहाँका नागरिकका समस्यालाई राष्ट्रिय राजनीतिसँग जोड्न पुस्तक उपयोगी हुने बताए। विकासलाई ठूला भाषण र सिद्धान्तमा मात्र सीमित नराखी नागरिकको दैनिक जीवनमा देखिने परिवर्तनसँग दाँज्नुपर्ने उनको भनाइ थियो।

​“खानेपानी, विद्यालयको पहुँच र बिरामी पर्दा सडकसम्म पुग्ने सहजता नै जनमुखी विकासका आधार हुन्,” उपसभापति आचार्यले भने, “काठमाडौंकेन्द्रित दृष्टिकोणबाट मात्रै नेपालको वास्तविक भूगोल र जीवन बुझ्न सकिन्न। स्थानीय तहमा जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने नेतृत्वले नै लोकतन्त्रलाई बलियो बनाउँछ।”

​कार्यक्रममा कांग्रेस महामन्त्री उदयशमशेर राणाले शाहीसँग नेपाल तरुण दलको नेतृत्व चयनका क्रममा जुम्लामा भएको पहिलो भेट स्मरण गरे। भूगोलमा रहेर संगठन र समाजका लागि निरन्तर खट्ने नेतृत्व नै राष्ट्रिय राजनीतिका लागि आवश्यक हुने बताउँदै राणाले भने, “काठमाडौंमा बसेर कर्णालीका समस्या र नागरिकका अपेक्षा बुझ्न सकिँदैन। गाउँबाट उठेका नेताहरूको अनुभव नीति निर्माण तहसम्म पुग्नुपर्छ।”

​कवि तथा लेखक महेन्द्र अतलले ‘आधा अध्याय’ पछिल्लो समय प्रकाशित हुने आत्मप्रशंसाले भरिएका आत्मकथाहरूभन्दा भिन्न रहेको टिप्पणी गरे। “पुस्तकमा आफ्ना कामको फेहरिस्त मात्र छैन, ती काम गर्दाका अप्ठ्यारा, सामाजिक परिवेश र राजनीतिक पराजयबाट सिकेका पाठ इमानदारीपूर्वक आएका छन्,” अतलले भने, “राजनीति पद पाउने माध्यम मात्र नभई सामाजिक उत्तरदायित्व पूरा गर्ने यात्रा हो भन्ने सन्देश यसले दिन्छ।”

​लेखक तथा समीक्षक मनऋषि धितालले पुस्तकले शाहीको नेतृत्व निर्माण र संघर्षलाई थप स्पष्ट पारेको बताए। धितालले भने, “शाहीको नेतृत्व कुनै आकस्मिक उपलब्धि होइन। विद्यार्थी जीवन, राजनीतिक आन्दोलन, संगठन निर्माण, निरन्तर मेहनत र स्थानीय समाजसँगको सम्बन्धले उनको व्यक्तित्व निर्माण गरेको हो।”

​राजधानीकेन्द्रित साहित्यिक अभ्यासको विकल्पका रूपमा कर्णालीका कृतिहरू आउनुपर्नेमा जोड दिँदै धितालले अगाडि भने, “काठमाडौंलाई मात्र ज्ञान र सिर्जनाको केन्द्र मान्ने प्रवृत्तिबाट बाहिर निस्कन यस्ता कृतिले ठूलो सहयोग गर्छन्। कर्णालीका अनुभव, संघर्ष र विचार अब राष्ट्रिय बहसमा प्रवेश गर्नुपर्छ।”

​लेखक शाहीले पुस्तकमा असाधारण उपलब्धिभन्दा पनि कर्णालीको गरिबी, भौगोलिक विकटता र राज्यका अवसरबाट वञ्चित नागरिकका दैनिक भोगाइलाई नीति निर्मातासम्म पुर्‍याउने प्रयास गरेको बताए।

दशैं मनाउन घर फर्कने क्रममा बाटोमै ज्यान गुमाएका आफ्ना कान्छा भाइ (नेपाली सेनाका जवान) स्वर्गीय सुरेन्द्र शाहीको स्मृति दिवस पारेर पुस्तक सार्वजनिक गरिएको जानकारी दिँदै उनले पुस्तकलाई पारिवारिक पीडा, व्यक्तिगत क्षति र सामाजिक जिम्मेवारीको साझा दस्तावेजका रूपमा अथ्र्याए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार