तातोपानी गाउँपालिका–४ स्थित पाँच सय पाटनको गैरीगुम र भत्ते क्षेत्रमा भेडा चराउन गएका आठ जना गोठाला सम्पर्कविहीन भएका छन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार उनीहरू असोज ८ गते दिउँसो करिब ४ बजेदेखि वर्षासँगै हिमपात भएपछि सम्पर्कविहीन भएका हुन्। उनीहरू सम्पर्कविहीन भएको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय र कर्णाली विपद् व्यवस्थापन गुल्म जुम्लाबाट खोज तथा उद्धार टोली परिचालन गरिएको छ।
प्रहरीका अनुसार खोजी तथा उद्धारका लागि सात जना प्रहरी, एक जना नगर प्रहरी र दुई जना स्थानीयसहितको टोली परिचालन गरिएको छ। दुर्गम भूगोल, वर्षा र हिमपातका कारण खोज तथा उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
सम्पर्कविहीन हुनेमा चन्दननाथ नगरपालिका–८ धुपीढुस्काका ५२ वर्षीय कर्ण धराला, ३६ वर्षीय बिर्ख धराला, ३४ वर्षीय दान रोकाया, ६० वर्षीय लालु रावल, ५२ वर्षीय सुर रावल र ३३ वर्षीय हरिचन्द्र रावत छन्। त्यस्तै चन्दननाथ नगरपालिका–९ श्रीढुस्काका ३५ वर्षीय चन्द्रबहादुर रावल र ४१ वर्षीय लोके रावल रहेका छन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रवक्ता प्रहरी निरीक्षक शालिकराम खनालले सम्पर्कविहीन आठै जनाको खोजी तथा उद्धारका लागि सुरक्षा निकायको टोली परिचालन गरिएको बताए।
प्रहरीका अनुसार घटनाबारे थप विवरण तथा सम्पर्कविहीन व्यक्तिहरूको अवस्थाबारे खोजीपछि जानकारी प्राप्त हुनेछ।














