प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब दुई–तिहाइ बहुमत हासिल गरेको पछिल्लो निर्वाचनले नेपालमा राजनीतिक स्थायित्व र नयाँ राजनीतिक दिशा तय गरेको सन्देश विश्व समुदायसमक्ष प्रस्तुत गरेका छन्।
संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले गत फागुन २१ गते सम्पन्न निर्वाचन नेपालको इतिहासमै सबैभन्दा शान्तिपूर्ण र निष्पक्ष भएको दाबी गरे। निर्वाचनबाट प्राप्त जनादेशले मुलुकमा नयाँ राजनीतिक परिस्थितिको आधार तयार गरेको उनको भनाइ थियो।
सम्बोधनका क्रममा उनले पछिल्लो समय नेपालमा आएको बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै यसको असर स्थानीय सीमाभन्दा बाहिरको विश्वव्यापी जलवायु सङ्कटसँग जोडिएको बताए। विपद्पछिको चुनौतीपूर्ण अवस्था पार गर्न नेपाललाई अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक रहेको उनले बताए।
प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण उत्पन्न सङ्कटका विषयमा नेपाल कसैलाई दोषारोपण गर्ने पक्षमा नरहेको स्पष्ट पारे। जलवायु मुद्दालाई भूराजनीतिक स्वार्थको विषय बनाउन नहुने भन्दै उनले हिमाल र पर्यावरणको दिगो संरक्षणका लागि विश्व समुदायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए।
उनले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव तीव्र बन्दै गएको उल्लेख गर्दै हिमालको संरक्षणलाई विश्वव्यापी प्राथमिकताको विषय बनाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे। नेपालले जलवायु न्याय, वातावरण संरक्षण र विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्यलाई महत्त्व दिएको उनको भनाइ थियो।















