जुम्ला प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक जना र लागुऔषध सेवन परीक्षणमा पोजेटिभ देखिएका अर्का एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार २०८३ भदौ २९ गते चन्दननाथ नगरपालिका–६ लाइज्युलाबाट तातोपानी गाउँपालिका–२ डाँगीवाडा जाने क्रममा प्रहरीले तातोपानी गाउँपालिका–२ का वीरबहादुर शाहीका छोरा २२ वर्षीय रोशन शाहीलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा शाहीको साथबाट कालो प्लास्टिकभित्र लुकाएर राखिएको ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ फेला पारेको थियो। बरामद पदार्थलाई मान्यता प्राप्त तराजुमा तौल गर्दा शुद्ध ७० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।
शाहीलाई पक्राउ गरी जिल्ला अदालत जुम्लाबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
त्यसैगरी सोही दिन दिउँसो ३ः१५ बजे चन्दननाथ नगरपालिका–६ स्थित ट्राफिक कार्यालय नजिकैको नाग्मा–जुम्ला सडकखण्डमा पनि प्रहरीले अर्का एक जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको ट्राफिकसहितको प्रहरी टोलीले नाग्माबाट जुम्ला बजारतर्फ आउँदै गरेको सवारीसाधनका चालक तातोपानी गाउँपालिका–६ का २५ वर्षीय जयप्रकाश खत्रीलाई चेकजाँच गरेको थियो। लागुऔषध परीक्षण किटबाट परीक्षण गर्दा उनी पोजेटिभ देखिएपछि प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लिएको जनाएको छ।
खत्रीलाई जिल्ला अदालत जुम्लाको आदेशअनुसार तीन दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शैलिकराम खनालले लागुऔषध नियन्त्रण तथा ओसारपसारविरुद्ध प्रहरीले निगरानी र कारबाहीलाई निरन्तरता दिइरहेको जानकारी दिएका छन्।
















