कुशले वैदिक संस्कारमा शुद्धताको प्रतीकात्मक भूमिका पनि निर्वाह गर्छ। पूजा, जप, तर्पण तथा श्राद्धमा कुशको औँठी अर्थात् पवित्र धारण गर्ने चलन छ। पितृकार्यमा कुशको प्रयोग विशेष महत्त्वपूर्ण मानिन्छ।
भाद्र कृष्ण औँसी। हिन्दु वैदिक परम्परामा यो दिनलाई कुशे औँसी, गोकर्ण औँसी तथा बुवाको मुख हेर्ने दिनका रूपमा स्मरण गरिन्छ। यस वर्ष भाद्र २६ गते परेको कुशे औँसीमा घरघरमा कुश भित्र्याउने, पितृको सम्झना गर्ने र बुबाप्रति सम्मान प्रकट गर्ने परम्परा छ। यही दिन नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यका समकालीन तथा नेपाली शृंगारिक कविताका अग्रणी कवि मोतीराम भट्टको जन्मजयन्तीसमेत मनाइन्छ।
बाहिरी आँखाले हेर्दा कुश सामान्य खर वा शिरुजस्तै देखिन्छ। तर वैदिक हिन्दु संस्कारमा यसको स्थान असाधारण छ। जन्मदेखि मृत्युसम्मका विभिन्न संस्कार, पूजा, श्राद्ध, यज्ञ, तर्पण र धार्मिक अनुष्ठानमा कुशको प्रयोग गरिन्छ। धार्मिक विश्वासमा कुशलाई पवित्रता, शुद्धता र संरक्षणको प्रतीक मानिन्छ।
कुशे औँसीका दिन वर्षभरिका धार्मिक कर्ममा प्रयोग गर्ने कुश घरमा भित्र्याउने चलन छ। नयाँ कुश नभएसम्म कुश आवश्यक पर्ने कर्म प्रारम्भ नगर्ने परम्परा कतिपय समुदायमा अझै कायम छ। यस दिन विधिपूर्वक संकलन गरिएको कुशको धार्मिक मान्यता एक वर्षसम्म रहने विश्वास गरिन्छ।
कुश संकलन गर्ने विषयमा पनि आफ्नै विधि र मान्यता छन्। बिहान स्नान गरी शुद्ध वस्त्र धारण गरेर कुश भएको स्थानमा जाने, पूर्व वा उत्तरतर्फ फर्किएर प्रार्थना गर्ने र त्यसपछि कुश ग्रहण गर्ने परम्परा छ। कुश उखेल्नुअघि ‘विरञ्चिना सहोत्पन्न परमेष्ठी निसर्गज, नुद सर्वाणि पापानि दर्भ स्वस्तिकरो भव’ मन्त्र उच्चारण गर्ने चलन पाइन्छ। यसको भावार्थ कुशलाई ब्रह्मासँगै उत्पन्न पवित्र वनस्पतिका रूपमा सम्बोधन गर्दै आफ्ना पाप नाश र कल्याणको कामना गर्नु हो।
कुश उखेल्ने कि काट्ने भन्ने विषयमा भने व्यवहार र परम्पराअनुसार फरक अभ्यास देखिन्छ। विशेषतः पितृकार्यका लागि जरासहितको कुश आवश्यक पर्ने भएकाले उखेल्ने परम्परालाई प्राथमिकता दिइन्छ। कतिपय स्थानमा फेदैदेखि काटेर पनि कुश प्रयोग गर्ने गरिएको पाइन्छ। शास्त्रीय विधिमा कुशलाई फलाम वा अन्य औजारले काट्नुको सट्टा दाहिने हातले एकै झट्कामा उखेल्ने उल्लेख पाइन्छ। तर कडा माटो, जरासहित उखेल्न कठिन हुने अवस्था, हातमा चोट लाग्ने जोखिम तथा अर्को वर्षको उत्पादनमा असर पर्न सक्ने कारण व्यवहारमा हँसिया वा आँसी प्रयोग गर्ने चलनसमेत विकसित भएको देखिन्छ।
कुशको उत्पत्तिबारे पनि विभिन्न धार्मिक आख्यान छन्। सबैभन्दा चर्चित मान्यतामध्ये एउटा भगवान् विष्णुको वराह अवतारसँग सम्बन्धित छ। हिरण्याक्ष दैत्यले पृथ्वीलाई समुद्रमा पुर्याएपछि भगवान् विष्णुले वराह अवतार लिएर पृथ्वीको उद्धार गरेको र त्यस क्रममा वराह भगवान्को शरीरबाट झरेका रौँबाट कुशको उत्पत्ति भएको धार्मिक विश्वास छ। कतिपय कथामा समुद्र मन्थनसँग कुशको उत्पत्तिलाई जोडिएको पाइन्छ भने श्रीस्वस्थानी व्रतकथामा वृन्दाको श्राप पूरा गर्न विष्णुले कुशको रूप धारण गरेको प्रसंग पनि उल्लेख छ। अर्को मान्यतामा सृष्टिकर्ता ब्रह्मासँगै कुशको उत्पत्ति भएको बताइन्छ।
कुशको नामकै व्युत्पत्तिसँग पनि धार्मिक अर्थ जोडिएको छ। ‘कु’ लाई पृथ्वी र ‘श’ लाई शयन वा अटाउने अर्थमा व्याख्या गर्दै पृथ्वीलाई धारण गर्ने वस्तुका रूपमा कुशलाई अर्थ्याइएको पाइन्छ। धार्मिक मान्यताअनुसार कुशको जरामा महाविष्णु, बीच भागमा केशव र टुप्पोमा ब्रह्माको वास हुन्छ। यही विश्वासका कारण कुशलाई त्रिदेवको प्रतीक मानेर पवित्र वस्तुका रूपमा ग्रहण गरिएको हो।
कुश पूजा सामग्री भने होइन, यसले वैदिक संस्कारमा शुद्धताको प्रतीकात्मक भूमिका पनि निर्वाह गर्छ। पूजा, जप, तर्पण तथा श्राद्धमा कुशको औँठी अर्थात् पवित्र धारण गर्ने चलन छ। पितृकार्यमा कुशको प्रयोग विशेष महत्त्वपूर्ण मानिन्छ। त्यसैले कुशे औँसी केवल एउटा धार्मिक पर्व नभएर प्रकृति, संस्कार, पितृस्मरण र पारिवारिक सम्बन्धसँग जोडिएको सांस्कृतिक अवसर पनि हो।
‘नमामि ईश्वरं वन्दे, नमामि जनकं यथा। नमामि जननीं पूज्यं, नमामि शिक्षकं तथा।’ अर्थात् जीवनका विभिन्न चरणमा ईश्वर, बुबा, आमा र गुरुजनप्रति श्रद्धा प्रकट गर्ने भावले यस दिनको सांस्कृतिक अर्थलाई अझ फराकिलो बनाउँछ।
परम्पराले कुशलाई पवित्र मानेको छ। आधुनिक दृष्टिले यो एउटा वनस्पति हो। तर पुस्तौँदेखि धार्मिक कर्मसँग जोडिँदै आएको यसको सांस्कृतिक अर्थ सामान्य वनस्पतिभन्दा निकै गहिरो छ। त्यसैले कुशे औँसीमा कुश घर भित्र्याउनु एउटा धार्मिक कर्म मात्र नभई प्रकृति, पितृ, संस्कार र पुस्तान्तरणप्रतिको सम्मानको प्रतीकसमेत बनेको छ।
















