शनिबार, २० भाद्र, २०८३

कृष्ण जन्माष्टमीमा प्रधानमन्त्री बालेनको सन्देश : ‘हामी रोकिँदैनौँ, सुरक्षित र उज्यालो नेपाल बनाउँछौँ’

प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट प्रभावित बालबालिकालाई सम्बोधन गर्दै विपद्को पीडामा रहेका नानीबाबुहरूको सुरक्षित भविष्यका लागि सरकार निरन्तर खटिरहेको बताएका छन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत दिएको सन्देशमा यस वर्षको कृष्ण जन्माष्टमीमा देशका धेरै बालबालिका राधाकृष्णको भेषमा सजिएर रमाइरहे पनि रसुवा–भोटेकोशी बाढी प्रभावित क्षेत्रका बालबालिकाले भने त्यस्तो खुसी मनाउन नसकेको उल्लेख गरेका छन्।

उनले बाढीका कारण कतिपय बालबालिकाले आफ्ना बाबुआमा तथा आफन्त गुमाएको र कतिपय अझै आफ्ना प्रियजनको खोजीमा रहेको भन्दै प्रभावित बालबालिकाप्रति गहिरो सहानुभूति व्यक्त गरेका छन्।

“आज देश दुःखी भएको छ। कति साथीहरू छुट्नुभयो, कति घर र बस्तीहरू खण्डहर बनेका छन्। खेल्ने–कुद्ने चौरहरू पुरिएका छन्,” प्रधानमन्त्री शाहले सन्देशमा भनेका छन्।

बाढीपछि गम्भीर घाइते, गर्भवती, सुत्केरी, अपाङ्गता भएका व्यक्ति तथा वृद्धवृद्धासँगै बालबालिकालाई उद्धारमा प्राथमिकता दिइएको उनले बताएका छन्। प्रभावित क्षेत्रमा सञ्चालन भइरहेका होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि सुरक्षित र सहज बसोबासको व्यवस्था गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन्।

प्रधानमन्त्री शाहले बालबालिकालाई देशका “भोलिका उज्याला झुल्का” भन्दै उनीहरूको सुरक्षित भविष्यका लागि सरकारले काम गरिरहेको बताएका छन्।

उनले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा विपद्को जोखिम बढ्दै गएको उल्लेख गर्दै आगामी दिनमा विपद्को जोखिम न्यूनीकरणका लागि सबै सजग र पूर्वतयार रहनुपर्नेमा जोड दिएका छन्।

प्रधानमन्त्रीले बालबालिकालाई घरमा ‘विपद् झोला’ तयार राख्न, सानैदेखि बचत गर्ने बानी बसाल्न तथा जलवायु परिवर्तन र विपद्का विषयमा अध्ययन, छलफल र जनचेतना फैलाउन आग्रह गरेका छन्।

सन्देशमा उनले विपद्का समयमा उद्धार तथा राहतमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत विज्ञ टोलीलाई धन्यवाद दिएका छन्। विदेशमा रहेका नेपाली, मित्र राष्ट्र तथा विकास साझेदार संस्थाहरूले गरेको सहयोगप्रति पनि उनले कृतज्ञता व्यक्त गरेका छन्।

“विपद्को भाषा विनाश र दुःख हो, तर यस्तो संकटका बेला हामीले एकता, सद्भाव र भ्रातृत्वको भावना मनमा राखेर काम गर्नुपर्छ,” प्रधानमन्त्री शाहले भनेका छन्।

श्रीकृष्णको शिक्षालाई स्मरण गर्दै उनले संघर्ष र विपद्को समयमा निराश भएर बस्नुभन्दा धैर्य, कर्तव्य र एकताका साथ अघि बढ्नुपर्ने सन्देश दिएका छन्।

प्रधानमन्त्री शाहले विपद्मा परेका १३ हजार ९५ जनाको उद्धार भइसकेको जानकारी दिँदै सबै मिलेर विपद्को सामना गरी सुरक्षित र उज्यालो नेपालको निर्माणमा जुट्न आह्वान गरेका छन्।

“हामी रोकिँदैनौँ,” उनले सन्देशको अन्त्यमा भनेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार