बाटोमा हिँड्दा देख्थेँ र नियाल्दथेँ
अभिभावक बनेर उभिएको देख्थेँ
यसैले त लुम्सेरीहरू यस रुख मुनी
भेलाभई सुखदुख साँटिरहेका हुन्थे ।
कसैलाई पनि काखापाखा गर्थेन
सबैलाई छहारी र ओत दिन्थ्यो
जसले लुम्सेरीको दु:ख बुझ्दथ्यो
सुखमा पनि सबैमा सुख साँट्थ्यो ।
लुम्सेरीहरूको अति प्रिय थियो
गर्मी हुँदा मनग्य छाँया दिन्थ्यो
झरीपर्दा ओतलाग्न दिइरहन्थ्यो
लुम्सेरीलाई निस्वार्थ माया गर्थ्यो ।
रखवारी पनि गरिरहन्थ्यो
लुम्सेरी र कुडारी दुबै ठाउँको
मान्छे भन्छन् दुईसय वर्ष पुरानो
यो देवदारले अभिभावकत्व दिन्थ्यो ।
दुई हजार सातसाल देखि
दुईहजार छयालिस सम्म र
दुईहजार छयालीस देखि
गत चुनाव सम्मको साक्षी थियो ।
धेरै नेताहरु फटालेको थियो
विकाश ल्याएको देखेको थिएन
बल्लतल्ल गाउँमा मा.वि. देख्यो
चौसट्ठी सालबाट सडक देख्यो ।
द्वन्द्वकालको हिंसा देख्यो
गाउँमा कठिन अवस्था देख्यो
मिलेर बसेका गाउँले बीच
आवेग र रिस पोखिएको देख्यो ।
आपसमा मन दुखेका गाउँलेहरू
फेरि गाउँमा मिली बसेका छन्
यसपल्ट दियार ढलेकोमा मन दु:खाएझैँ
अब गाउँ बनाउन लुम्सेरी एकजुट छन् ।
बुढो यो दियार रुख ढल्दा
गाउँलेको मन दु:खेको छ
लुम्सेरीको निशानी सम्झिएर
फेरीगाउँमा नयाँ दियार राेप्नुपर्छ ।
















