शरीरभित्र रहेका विभिन्न ऊर्जा केन्द्र अर्थात् चक्रको सन्तुलन बिग्रँदा शारीरिक तथा मानसिक समस्या देखिन सक्ने र त्यसलाई सन्तुलनमा ल्याउन ऊर्जा उपचार उपयोगी हुन्छ।
मानिस बिरामी हुँदा अस्पताल जान्छ, चिकित्सकलाई भेट्छ र औषधि सेवन गर्छ। आधुनिक चिकित्सा विज्ञानले रोगको पहिचानदेखि जटिल शल्यक्रियासम्मका क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको छ। तर, मानिसको स्वास्थ्य केवल शरीरसँग मात्र जोडिएको हुन्छ कि मन, भावना र आँखाले नदेखिने भनिएको ऊर्जा प्रणालीसँग पनि सम्बन्धित हुन्छ ?
यही प्रश्नको वरिपरि जुम्लामा दुईदिने प्राणिक हिलिङ अर्थात् प्राणिक उपचार पद्धतिसम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ। तालिममा शरीर, मन र ऊर्जा शक्तिबीचको सम्बन्धबारे सैद्धान्तिक तथा व्यावहारिक अभ्यास गराइएको थियो।
विगत १५ वर्षदेखि प्राणिक हिलिङको अभ्यास गर्दै आएकी प्रशिक्षक अन्जु लामा तालिमका क्रममा सहभागीहरूसँग एउटा फरक दृष्टिकोण प्रस्तुत गरिरहेकी थिइन्।
‘हामीले प्राण भन्ने शब्द धेरै पटक प्रयोग गर्छौं। मानिस जीवित रहनु, उसको शरीरमा जीवनशक्ति रहनु र सक्रिय हुनुमा प्राण ऊर्जाको अवधारणालाई जोडेर हेरिन्छ,’ उनले भनिन्, ‘प्राणिक हिलिङ भनेको यही जीवनशक्ति वा ऊर्जाको व्यवस्थापनसँग सम्बन्धित उपचार पद्धति हो।’
उनका अनुसार प्राणिक शब्द ‘प्राण शक्ति’ बाट बनेको हो। प्राण शक्ति अर्थात् जीवन ऊर्जा मानिससहित सबै जीवित प्राणीमा हुने विश्वास गरिन्छ। यही अवधारणाका आधारमा विकसित उपचार पद्धतिलाई प्राणिक हिलिङ भनिएको हो।
प्राणिक हिलिङप्रति मानिसको सबैभन्दा ठूलो जिज्ञासा नै ऊर्जा हो। आँखाले नदेखिने वस्तुले कसरी शरीरमा प्रभाव पार्न सक्छ भन्ने प्रश्न धेरैको हुन्छ। प्रशिक्षक लामाको तर्क छ, मानिसको आँखाले संसारका सबै वस्तु वा शक्ति प्रत्यक्ष देख्न सक्दैन।
‘हामी हावा देख्दैनौं, तर त्यसको अस्तित्व महसुस गर्छौं। त्यसैगरी ऊर्जा पनि प्रत्यक्ष आँखाले देख्न सकिने कुरा होइन,’ उनी भन्छिन्, ‘तर त्यसलाई अनुभूति गर्न र अभ्यासमार्फत बुझ्न सकिन्छ।’
प्राणिक उपचारका अभ्यासकर्ताहरू मानव शरीरको भौतिक संरचनासँगै एउटा सूक्ष्म ऊर्जा क्षेत्र पनि हुने विश्वास गर्छन्। शरीरभित्र रहेका विभिन्न ऊर्जा केन्द्र अर्थात् चक्रको सन्तुलन बिग्रँदा शारीरिक तथा मानसिक समस्या देखिन सक्ने र त्यसलाई सन्तुलनमा ल्याउन ऊर्जा उपचार उपयोगी हुन सक्ने उनीहरूको भनाइ छ।
यद्यपि आधुनिक चिकित्सा विज्ञानले प्राणिक हिलिङलाई सबै रोगको प्रमाणित उपचार विधिका रूपमा स्वीकार गरेको छैन। गम्भीर रोग, संक्रमण, मानसिक स्वास्थ्य समस्या तथा अन्य जटिल अवस्थाको उपचारका लागि चिकित्सकको सल्लाह र प्रमाणमा आधारित चिकित्सा सेवा आवश्यक हुने स्वास्थ्य क्षेत्रका विज्ञहरू बताउँछन्।
तर प्राणिक हिलिङका प्रशिक्षक तथा अभ्यासकर्ताहरूले यसलाई आधुनिक उपचारको विकल्पभन्दा पनि स्वास्थ्य, मानसिक सन्तुलन र सकारात्मक जीवनशैलीमा सहयोग गर्ने पूरक अभ्यासका रूपमा बुझ्नुपर्ने बताउँछन्।
हिलिङ भन्नेबित्तिकै धेरै मानिसको मनमा एउटा प्रश्न आउँछ, के यसका लागि जन्मजात विशेष शक्ति चाहिन्छ ? केही व्यक्तिमा मात्र हुने दैवी शक्ति, अलौकिक क्षमता वा विशेष दृष्टि भएकाले मात्र ऊर्जा उपचार गर्न सक्छन् भन्ने धारणा समाजमा अझै व्यापक छ।
प्रशिक्षक अन्जु लामा भने यसलाई गलत बुझाइ मान्छिन्। ‘प्राणिक हिलिङको विकास नै सामान्य मानिसले पनि सिक्न र प्रयोग गर्न सक्ने गरी गरिएको हो,’ उनी भन्छिन्, ‘यसका निश्चित चरण, प्रक्रिया र अभ्यास छन्। त्यसैले यसलाई वैज्ञानिक ढंगले व्यवस्थित गरिएको प्रशिक्षण पद्धति पनि भनिन्छ।’
उनका अनुसार प्राणिक उपचार सिक्न कुनै जन्मजात ‘हिलर’ हुनुपर्दैन। इच्छुक व्यक्तिले प्रशिक्षित प्रशिक्षकबाट औपचारिक तालिम लिएर क्रमशः अभ्यास गर्न सक्छन्। ‘हिलिङ भनेको केवल रहस्यमय वा अलौकिक कुरा होइन,’ उनी भन्छिन्, ‘सही प्रक्रिया, अनुशासन र नियमित अभ्यास आवश्यक पर्छ।’
प्राणिक हिलिङसम्बन्धी विभिन्न पुस्तक उपलब्ध भए पनि पुस्तक पढेर मात्र उपचार अभ्यास सुरु गर्न नहुने उनको सुझाव छ। ‘सिद्धान्त पुस्तकबाट बुझ्न सकिन्छ। तर कुन अवस्थामा कुन विधि प्रयोग गर्ने, कसरी गर्ने र अभ्यासमा कस्तो सावधानी अपनाउने भन्ने कुरा प्रशिक्षित व्यक्तिबाट सिक्नुपर्छ,’ उनले भनिन्।
प्राणिक हिलिङलाई एकातिर चरणबद्ध तथा व्यवस्थित पद्धति र अर्कोतर्फ आध्यात्मिक अभ्यास पनि भनिन्छ। यी दुई फरक अवधारणा एउटै उपचार विधिमा कसरी जोडिए ? प्रशिक्षक लामाका अनुसार यसको सम्बन्ध मानव शरीरको बाहिरी संरचनाभन्दा पनि मानिसको चेतना र आत्मपहिचानसँग जोडिएको छ।
‘मानिसको भौतिक शरीर छ। तर मानिसको अस्तित्व केवल भौतिक शरीरमा मात्र सीमित छ कि छैन भन्ने प्रश्न मानव सभ्यताले धेरै पुरानो समयदेखि उठाउँदै आएको छ,’ उनी भन्छिन्, ‘आत्मा, चेतना र जीवनको मूल प्रकृतिबारे बुझ्ने प्रयासलाई पनि यसले जोड्छ।’
उनका अनुसार प्राणिक हिलिङमा शरीरका ऊर्जा केन्द्र अर्थात् चक्र, ऊर्जा क्षेत्र तथा मानिसको आन्तरिक चेतनाबारे अध्ययन गरिन्छ।
‘आफू वास्तवमा को हो ? जीवनको उद्देश्य के हो ? मानिसको मूल प्रकृति के हो ? यस्ता प्रश्नमाथि पनि चिन्तन गर्न सिकाइन्छ,’ उनले भनिन्, ‘त्यसैले यसलाई उपचारसँगै आध्यात्मिक अभ्यास पनि भनिन्छ।’
प्राणिक हिलिङका अभ्यासकर्ताहरूका अनुसार मानिसको आन्तरिक ऊर्जा सन्तुलित र व्यवस्थित हुँदा मानसिक स्थिरता, सकारात्मक सोच तथा भावनात्मक सन्तुलन कायम राख्न सहयोग पुग्न सक्छ।
प्राणिक हिलिङका अभ्यासकर्ताहरूले सामान्य शारीरिक समस्यादेखि मानसिक तथा भावनात्मक समस्यासम्म ऊर्जा उपचार उपयोगी हुन सक्ने दाबी गर्छन्।
टाउको दुखाइ, माइग्रेन, ज्वरो, संक्रमण तथा विभिन्न पुराना स्वास्थ्य समस्यासँगै तनाव, डर, चिन्ता, निराशा र भावनात्मक असन्तुलनजस्ता समस्यामा पनि प्राणिक उपचारले सहयोग पुर्याउन सक्ने प्रशिक्षक लामाको दाबी छ।
‘अहिले मानिसहरू धेरै तनावमा छन्। कहिलेकाहीँ स्पष्ट कारण नहुँदा पनि निराशा महसुस हुन्छ। अनावश्यक डर, चिन्ता र बेचैनी बढिरहेको हुन्छ,’ उनी भन्छिन्, ‘यस्ता अवस्थामा शरीर र मनको ऊर्जात्मक सन्तुलनमा काम गर्ने अभ्यास उपयोगी हुन सक्छ।’
तर गम्भीर रोग तथा मानसिक स्वास्थ्य समस्यामा प्राणिक हिलिङलाई मात्र भरपर्दो उपचार मानेर अस्पताल वा चिकित्सकीय सेवा छोड्नु जोखिमपूर्ण हुन सक्छ। प्राणिक उपचारको प्रभावकारितासम्बन्धी वैज्ञानिक प्रमाणका विषयमा थप अध्ययन आवश्यक छ।
स्वास्थ्य समस्यामा कुनै पनि वैकल्पिक वा पूरक उपचार अपनाउँदा चिकित्सकको परामर्शलाई प्राथमिकता दिनुपर्ने हुन्छ।
दुईदिने तालिममा सहभागी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकि डा. तेन्जिन डोल्माले प्रशिक्षणअघि प्राणिक हिलिङबारे धेरै जानकारी नभएको बताइन। तर तालिममा सहभागी भएर अभ्यास गर्दै जाँदा शरीर, मन र ऊर्जा सम्बन्धी अवधारणालाई फरक ढंगले बुझ्न थालेको उनको अनुभव छ।
‘म यसअघि मेडिकल क्षेत्रमा काम गरिरहेको व्यक्ति हुँ। तर दुई दिनको तालिमपछि मैले दैनिक जीवनमा देखिरहेका कतिपय अनुभवलाई फरक दृष्टिकोणबाट हेर्न थालेँ,’ उनले भनिन्।
उनका अनुसार एउटै औषधि वा उपचारले फरक व्यक्तिमा फरक परिणाम दिने घटना स्वास्थ्य क्षेत्रमा पनि देखिन्छ।
‘कहिलेकाहीँ समान उपचार एक व्यक्तिमा प्रभावकारी हुन्छ, अर्कोमा अपेक्षित परिणाम आउँदैन। मानिसको शारीरिक अवस्थासँगै मानसिक अवस्था र समग्र परिस्थिति पनि महत्वपूर्ण हुन्छ भन्ने महसुस गरेको छु,’ उनले थपिन्।
तालिमले ऊर्जा प्रत्यक्ष आँखाले देख्न नसकिने भए पनि अभ्यासका क्रममा शरीरको संवेदना र हातको अनुभूतिमार्फत त्यसलाई बुझ्ने प्रयास गर्न सकिने तालिममा सहभागी उमेशवर प्रसाद ठाकुरको अनुभव छ। ‘म कसैलाई केवल विश्वास गर्नुस् भन्न चाहन्नँ,’ उनले भने, ‘आफै सिक्नुस्, अभ्यास गर्नुस् र अनुभवबाट निष्कर्ष निकाल्नुस्।’
प्राणिक हिलिङमा रुचि राख्ने व्यक्तिले औपचारिक प्रशिक्षण लिनुपर्ने प्रशिक्षक लामाको जोड छ। उनका अनुसार प्राणिक हिलिङका विभिन्न केन्द्र तथा संस्थाबाट आधारभूत र उन्नत तालिम सञ्चालन हुँदै आएका छन्।
‘ऊर्जासँग सम्बन्धित अभ्यास भएकाले सही विधि सिक्नु महत्वपूर्ण हुन्छ,’ उनी भन्छिन्, ‘अनुभवी र प्रशिक्षित प्रशिक्षकसँग चरणबद्ध रूपमा सिक्नुपर्छ।’
उनका अनुसार तालिममा ऊर्जा अनुभूति गर्ने अभ्यास, शरीरका ऊर्जा केन्द्रबारे जानकारी, व्यक्तिगत स्वास्थ्य तथा मानसिक सन्तुलनका लागि प्रयोग गर्न सकिने आधारभूत विधि सिकाइन्छ।
विशेषगरी अभिभावक, शिक्षक, स्वास्थ्यकर्मी तथा दैनिक जीवनमा मानसिक तनाव व्यवस्थापन गर्न चाहने व्यक्तिका लागि यस्तो अभ्यास उपयोगी हुन सक्ने सहभागीहरूको धारणा छ।
भौगोलिक रूपमा विकट कर्णालीका जिल्लामा स्वास्थ्य सेवा अझै पनि सहज पहुँचको विषय बनेको छैन। मानसिक स्वास्थ्यबारे खुला छलफल पनि अपेक्षाकृत कम हुने गरेको छ।
यस्तो अवस्थामा जुम्लामा आयोजित प्राणिक हिलिङसम्बन्धी तालिमले शरीरको स्वास्थ्यसँगै मानसिक शान्ति, भावनात्मक सन्तुलन र आत्मचेतनाको विषयलाई पनि बहसमा ल्याएको छ।
तालिमका सहभागीहरूले प्राणिक उपचारलाई चमत्कारी उपचारका रूपमा भन्दा पनि शरीर र मनबारे बुझ्ने एउटा वैकल्पिक दृष्टिकोणका रूपमा लिनुपर्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकि सहप्राध्यापक सिर्जना केसीले बताइन्। उनको भनाइमा, प्राणिक हिलिङको मूल उद्देश्य मानिसलाई अन्धविश्वासमा डुबाउनु होइन, आफ्नो शरीर, मन र जीवनशक्तिबारे सचेत बनाउनु हो।
‘मानिसले आफ्नो स्वास्थ्यप्रति आफै जिम्मेवार बन्नुपर्छ,’ उनी भन्छिन्, ‘शरीर स्वस्थ राख्न, मनलाई स्थिर बनाउन र जीवनलाई सकारात्मक दिशामा लैजान आत्मचेतना आवश्यक हुन्छ।’
















