बिहीबार, १८ भाद्र, २०८३

रसुवा बाढीपीडितका लागि शाही युवा शक्तिको राहत

बाढीले घरबार, सम्पत्ति र दैनिक जीवन गुमाएका रसुवाका भोटेकोशी क्षेत्रका पीडित नागरिकसम्म राहत सामग्री पुर्‍याउने अभियानमा शाही युवा शक्ति नेपाल जुटेको छ। प्राकृतिक विपत्तिपछि तत्काल आवश्यक खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा र अन्य सामग्री लिएर संगठनको टोली प्रभावित क्षेत्रमा पुगेको हो।

शाही युवा शक्ति नेपालले राजी राणा निजी गुठीसँगको सहकार्यमा रसुवा भोटेकोशी बाढीप्रभावित क्षेत्रका तीन सयभन्दा बढी नागरिकलाई राहत वितरण गरेको जनाएको छ। संगठनका अनुसार विदुर, दुंगे तथा विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका बाढीपीडित परिवारलाई मंगलबार राहत सामग्री उपलब्ध गराइएको हो।

शाही युवा शक्ति नेपालका महामन्त्री रेशम चन्द मल्लले विपत्तिको घडीमा पीडित नागरिकलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले राहत अभियान सञ्चालन गरिएको बताए। उनका अनुसार राहत सामग्री काठमाडौंबाट तीनवटा ठूला र चारवटा साना गरी सातवटा सवारीसाधनमा प्रभावित क्षेत्रमा पुर्‍याइएको थियो।

राहत सामग्रीमा चामल, दाल, नुन, तेल, ग्यास चुलो सेट, अत्यावश्यक भाँडाकुँडा, लत्ताकपडा, त्रिपाल तथा खानेपानीलगायत सामग्री समावेश गरिएको संगठनले जनाएको छ। पीडित परिवारको तत्कालीन आवश्यकता र प्रभावित क्षेत्रमा देखिएको अवस्थालाई ध्यानमा राखेर राहत सामग्री छनोट गरिएको महामन्त्री मल्लको भनाइ छ।

संगठनका अनुसार राहतस्वरूप १ सय ३० वटा ग्यास चुलो सेट, ५० दर्जनभन्दा बढी मिनरल वाटर तथा अन्य दैनिक उपभोग्य सामग्री वितरण गरिएको छ। बाढीका कारण विस्थापित भएर अस्थायी बसोबासमा रहेका नागरिकको दैनिक जीवन सहज बनाउन खाद्यान्नसँगै खाना पकाउने सामग्री र अन्य अत्यावश्यक वस्तु उपलब्ध गराइएको हो।

‘हामी राहत सामग्री लिएर प्रभावित क्षेत्रमै पुग्यौं र पीडित परिवारका हातहातमा सामग्री उपलब्ध गरायौं,’ महामन्त्री मल्लले भने, ‘बाढीपहिरोबाट धनजनको क्षति व्यहोरिरहेका नागरिकलाई विपत्तिको प्रारम्भिक अवस्थामा तत्काल राहत मिलोस् भन्ने उद्देश्यले यस कार्यलाई प्राथमिकता दिएका हौं।’

उनका अनुसार राहत वितरण केवल सामग्री हस्तान्तरणमा सीमित नभई प्रभावित नागरिकको तत्कालीन अवस्था बुझ्ने र आवश्यकताअनुसार सहयोग पुर्‍याउने प्रयाससमेत हो। बाढीले जनजीवन अस्तव्यस्त बनाएको अवस्थामा विभिन्न संघसंस्था, निजी क्षेत्र र सामाजिक समूहबाट भइरहेको सहयोगले पीडितलाई केही राहत पुगेको उनले बताए।

हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको एजेन्डासहित गठन भएको शाही युवा शक्ति नेपालले सामाजिक तथा मानवीय संकटका बेला पनि आफ्नो उपस्थिति देखाउँदै आएको जनाएको छ। संगठनले रसुवा भोटेकोशी बाढीपीडितलाई सहयोग गर्नु मानवीय दायित्वको रूपमा लिएको बताएको छ।

बाढीपहिरोबाट प्रभावित नागरिक अझै सुरक्षित बसोबास, खाद्यान्न, लत्ताकपडा र पुनःस्थापनाको चुनौतीसँग जुधिरहेका बेला विभिन्न व्यक्ति तथा संस्थाबाट भइरहेको राहत सहयोगले पीडित परिवारलाई तत्कालका लागि केही सहारा मिलेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार