रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि जुम्लाको गुठिचौर गाउँपालिकाले १२ लाख ६७ हजार ३ सय ४८ रुपैयाँ सहयोग गर्ने भएको छ।
गाउँपालिकाको गाउँ कार्यपालिकास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। सहयोग रकममा जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट संकलित रकम समावेश गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले भोटेकोशी क्षेत्रमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएकामा दुःख व्यक्त गर्दै ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ। घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको छ।
कार्यवाहक अध्यक्ष शान्तिकुमारी मल्लले विपद्को पीडामा परेका नागरिकलाई स्थानीय तहको तर्फबाट सक्दो सहयोग गर्नु मानवीय दायित्व भएको बताइन्। रसुवामा भएको क्षतिले देशभरका नागरिकलाई दुःखी बनाएको उल्लेख गर्दै उनले प्रभावित परिवारको उद्धार र पुनःस्थापनामा सहयोग पुग्ने उद्देश्यले रकम उपलब्ध गराउने निर्णय गरिएको बताइन्।
प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापले विपद्का बेला राहत र उद्धारका कामलाई प्रभावकारी बनाउन सबै पक्षबीच समन्वय आवश्यक रहेको बताए। गाउँपालिकाले उपलब्ध स्रोतबाट सहयोग जुटाएर पीडितसम्म राहत पुर्याउने प्रयास गरेको र आगामी दिनमा पनि आवश्यक सहयोग तथा समन्वयका लागि तयार रहेको उनले बताए।
गाउँपालिकाले आफ्ना नागरिकका हकमा पनि खोज तथा उद्धारका लागि थप सहयोग गर्ने निर्णय गरेको छ। विज्ञप्तिअनुसार जन्मघर गाउँपालिकासँग सम्बन्धित एक जनालाई ७५ हजार रुपैयाँका दरले ९ जनालाई जम्मा ६ लाख ७५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको छ।
गाउँपालिकाले विपद् प्रभावितप्रति एक्यबद्धता जनाउँदै नागरिक तथा सहयोगी निकायलाई समेत राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्न आग्रह गरेको छ।
















