नदीलाई किन सम्मान गर्नुपर्छ भन्ने कुरा हाम्रा पुर्खाले वातावरणीय कानुन पढेर बुझेका थिएनन्। तर उनीहरूले नदीलाई जीवन र सभ्यताको आधार माने। जंगल संरक्षणका लागि उनीहरूसँग आधुनिक संरक्षण नीति थिएन, तर वनलाई धर्म, संस्कृति र सामाजिक अनुशासनसँग जोडे।
नेपालमा हरेक वर्ष वर्षायामसँगै एउटा परिचित दृश्य दोहोरिन्छ। नदीहरू उर्लिन्छन्, पहाडहरू भासिन्छन्, बस्तीहरू डुब्छन्, सडकहरू अवरुद्ध हुन्छन् र राज्यको सम्पूर्ण संयन्त्र उद्धार, राहत र क्षतिको विवरण संकलनमा केन्द्रित हुन्छ। विपत्ति टरेपछि केही समय बहस हुन्छ, जलवायु परिवर्तन, अव्यवस्थित विकास, कमजोर पूर्वाधार, नदी अतिक्रमण र वन विनाशबारे। अनि अर्को वर्ष फेरि उही चक्र दोहोरिन्छ।
तर हरेक विपत्तिपछि हामीले एउटा अलि असहज प्रश्न पनि सोध्नुपर्छ, के आधुनिक विकासको यात्रामा हामीले प्रकृतिसँग सहअस्तित्वमा बाँच्ने आफ्नै पुर्खाको ज्ञान बिर्सियौँ? यो प्रश्न आधुनिकता त्यागेर अतीतमा फर्किने आग्रह होइन। न त पुर्खाको जीवनशैलीलाई पूर्ण र त्रुटिरहित ठहर गर्ने प्रयास नै हो। बरु प्रश्न यति मात्र हो, हजारौँ वर्षको अनुभवबाट विकसित भएको स्थानीय ज्ञानलाई हामीले आधुनिकताको नाममा कति हल्कासित पन्छायौँ?
हाम्रा पुर्खासँग आजको जस्तो जलवायु विज्ञान थिएन, भूगर्भीय नक्सा थिएन, उपग्रहबाट मौसम हेर्ने प्रविधि थिएन। तर उनीहरूसँग प्रकृतिलाई निरन्तर पढ्ने लामो अनुभव थियो। उनीहरूले नदीको स्वभाव बुझ्थे, पहाडको कमजोरी चिन्दथे, मौसमको परिवर्तन नियाल्थे र भूगोलअनुसार आफ्नो जीवनलाई अनुकूल बनाउँथे।
विशेषगरी हिमाली र पहाडी समाजमा ऋतु र भूगोलअनुसार बसाइँसराइ गर्ने परम्परा त्यसको एउटा उदाहरण हो। बर्खाको समयमा तुलनात्मक रूपमा सुरक्षित माथिल्लो भूभाग वा लेकतिर बस्ने र मौसम परिवर्तनसँगै क्रमशः बेँसीतिर झर्ने अभ्यास केवल सांस्कृतिक परम्परा थिएन। त्यसमा मौसम, पानीको बहाव, पशुपालन, खेतीपाती र प्राकृतिक जोखिमबारे पुस्तौँको अनुभव समेटिएको थियो।
मानिसले प्रकृतिलाई नियन्त्रण गर्न सक्दैन भन्ने चेतना उनीहरूको जीवनपद्धतिको आधार थियो। त्यसैले उनीहरूले आफ्नो जीवनलाई प्रकृतिको लयसँग मिलाउने प्रयास गरे। आज हामी त्यसैलाई जलवायु अनुकूलन, मौसमी बसाइँसराइ, परम्परागत वातावरणीय ज्ञान र विपद् जोखिम न्यूनीकरणका वैज्ञानिक अवधारणाबाट व्याख्या गर्छौँ। शब्दावली नयाँ हुन सक्छ, तर प्रकृतिलाई बुझ्ने मूल ज्ञान नयाँ होइन।
हाम्रो आधुनिक ज्ञान प्रणालीको एउटा कमजोरी के रह्यो भने हामीले प्रमाणित विज्ञान र स्थानीय अनुभवलाई प्रायः दुई फरक संसारका रूपमा बुझ्यौँ। विश्वविद्यालयमा उत्पादन भएको ज्ञानलाई वैज्ञानिक र समुदायमा पुस्तौँदेखि अभ्यास हुँदै आएको ज्ञानलाई परम्परा भन्ने प्रवृत्ति बलियो रह्यो। जबकि स्थानीय ज्ञान पनि निरन्तर अवलोकन, अनुभव र परीक्षणबाट बनेको ज्ञान हो।
नदीलाई किन सम्मान गर्नुपर्छ भन्ने कुरा हाम्रा पुर्खाले वातावरणीय कानुन पढेर बुझेका थिएनन्। तर उनीहरूले नदीलाई जीवन र सभ्यताको आधार माने। जंगल संरक्षणका लागि उनीहरूसँग आधुनिक संरक्षण नीति थिएन, तर वनलाई धर्म, संस्कृति र सामाजिक अनुशासनसँग जोडे। पानीका मुहानलाई फोहोर गर्न नहुने, केही वनलाई पवित्र मानेर संरक्षण गर्ने, नदी खोलालाई सम्मान गर्ने अभ्यास केवल धार्मिक संस्कार थिएनन्; ती प्राकृतिक स्रोत संरक्षणका सामाजिक संस्थाहरू पनि थिए।
आधुनिक समाजले यस्ता अभ्यासलाई कहिलेकाहीँ अन्धविश्वासको सूचीमा राखेर अस्वीकार गर्यो। तर प्रश्न विश्वास वा अन्धविश्वासको होइन। प्रश्न हो, त्यस्ता अभ्यासले समाज र प्रकृतिबीच कस्तो सम्बन्ध निर्माण गरेका थिए?
आज हामी नदीलाई ‘जलस्रोत’ भन्छौँ, जंगललाई ‘प्राकृतिक सम्पत्ति’, पहाडलाई ‘पूर्वाधार निर्माणको सम्भावना’ र जमिनलाई ‘रियल स्टेट’। भाषाको परिवर्तनसँगै हाम्रो दृष्टिकोण पनि बदलिएको छ। प्रकृति जीवनको सहयात्रीबाट क्रमशः आर्थिक स्रोतमा सीमित हुँदै गएको छ। यही दृष्टिकोण आधुनिक विकासको एउटा गम्भीर संकट हो।
विश्वव्यापी औद्योगिकीकरणले मानव सभ्यतालाई अभूतपूर्व सुविधा दिएको छ। विज्ञान, प्रविधि, स्वास्थ्य, सञ्चार र उत्पादनमा भएको प्रगतिलाई अस्वीकार गर्न सकिँदैन। तर जीवाश्म इन्धनमा आधारित आर्थिक विस्तार, अत्यधिक उपभोग र प्राकृतिक स्रोतको अनियन्त्रित दोहनले पृथ्वीको जलवायु प्रणालीमा गम्भीर दबाब सिर्जना गरेको छ। विश्व तापक्रम वृद्धि र जलवायु परिवर्तन त्यसकै परिणाम हुन्।
विडम्बना के छ भने जलवायु परिवर्तनको सबैभन्दा गम्भीर असर ती समाज र देशहरूले भोगिरहेका छन्, जसको ऐतिहासिक रूपमा विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा योगदान न्यून छ। नेपाल त्यसको एउटा उदाहरण हो। विश्व कार्बन उत्सर्जनमा हाम्रो योगदान अत्यन्तै कम छ, तर हिमालदेखि तराईसम्म जलवायु परिवर्तनको असर तीव्र रूपमा अनुभव गरिरहेका छौँ।
हिमनदी पग्लिरहेका छन्, वर्षाको स्वरूप बदलिँदै गएको छ, छोटो समयमा अत्यधिक वर्षा हुने घटना बढिरहेका छन् र बाढी तथा पहिरोको जोखिम थप जटिल बन्दै गएको छ। तर नेपालका हरेक विपत्तिको जिम्मा जलवायु परिवर्तनलाई मात्र दिएर हामी उम्किन सक्दैनौँ। प्राकृतिक जोखिमलाई मानवीय विपत्तिमा बदल्ने काम हामी आफैँले पनि गरिरहेका छौँ।
नदीको प्राकृतिक बहाव क्षेत्र अतिक्रमण गरिएको छ। खोलाको किनारमा बस्ती विस्तार भएको छ। पहाड काटेर सडक बनाइएको छ, तर पानीको निकास र भूगर्भीय स्थिरताको पर्याप्त अध्ययन गरिएको छैन। जंगल फँडानी भएका छन्। प्राकृतिक पानीका मार्ग कंक्रिटले ढाकिएका छन्। सहरहरू विस्तार भइरहेका छन्, तर पानी कहाँ जान्छ भन्ने प्रश्नलाई योजनाको केन्द्रमा राखिएको छैन।
जब नदीलाई आफ्नो ठाउँ दिइँदैन, उसले एक दिन आफ्नो बाटो आफैँ खोज्छ। जब पहाडको भौगोलिक क्षमताभन्दा बढी हस्तक्षेप गरिन्छ, पहाड भासिन्छ। जब माटोको पानी सोस्ने क्षमता कंक्रिटले ढाकिन्छ, पानी सडक र घरभित्र पस्छ।
प्रकृतिले प्रतिशोध लिन्छ भन्ने भाषा वैज्ञानिक नहुन सक्छ। तर प्रकृतिको नियमलाई बेवास्ता गर्दा परिणाम आउँछ भन्ने कुरा निश्चय नै वैज्ञानिक हो। त्यसैले प्रश्न विकासको विरोध गर्ने कि समर्थन गर्ने भन्ने होइन। प्रश्न हो, हामीले विकासलाई कसरी बुझिरहेका छौँ?
नेपालमा विकासलाई प्रायः कंक्रिटको मात्रासँग मापन गर्ने प्रवृत्ति छ। धेरै सडक, धेरै भवन, धेरै पुल र धेरै संरचना निर्माण हुनु नै विकासको प्रमाण मानिन्छ। तर एउटा संरचना बनाउँदा त्यसले नदीको बहाव, जमिनको स्थिरता, पानीको निकास, जंगल र स्थानीय समुदायको सुरक्षामा कस्तो असर पार्छ भन्ने प्रश्नलाई कम महत्व दिइन्छ। यही कारण विकास र विनाशबीचको सीमा कतिपय अवस्थामा अस्पष्ट बन्दै गएको छ।
दिगो विकासको अर्थ विकास रोक्नु होइन। यसको अर्थ प्रकृतिको क्षमताभित्र रहेर विकास गर्नु हो। नदीलाई साँघुरो बनाएर पुल निर्माण गर्नु विकास होइन। नदीको स्वाभाविक बहावलाई बुझेर सुरक्षित संरचना बनाउनु विकास हो। पहाडलाई अन्धाधुन्ध काटेर सडक पुर्याउनु विकास होइन। भूगोलको अध्ययन गरेर दीर्घकालीन रूपमा सुरक्षित सडक निर्माण गर्नु विकास हो। आधुनिक विज्ञान र परम्परागत ज्ञानबीच प्रतिस्पर्धा होइन, संवाद आवश्यक छ।
हामीसँग आज आधुनिक इन्जिनियरिङ छ, भूगर्भ विज्ञान छ, जलवायु विज्ञान छ, मौसम पूर्वानुमान प्रणाली छ, उपग्रह प्रविधि छ र विपद् पूर्वसूचना प्रणाली छ। यी सबै अत्यन्त आवश्यक छन्। तर स्थानीय समुदायसँग रहेको भूगोलको अनुभव पनि उत्तिकै महत्वपूर्ण हुन सक्छ।
कुन ठाउँमा वर्षायाममा पानी जम्छ, कुन भिरालो जमिन कमजोर छ, कुन खोलाले दशकौँपछि पनि पुरानो बाटो समात्न सक्छ, कुन मुहान सुक्दै गएको छ, यस्ता धेरै कुरा स्थानीय समुदायले पुस्तौँदेखि अनुभव गरेका हुन्छन्। दुर्भाग्य, हाम्रो विकास योजना बनाउँदा यस्ता ज्ञानलाई प्रायः ‘अनौपचारिक’ भनेर पन्छाइन्छ।
हामीलाई सायद फेरि सिक्नुपर्ने एउटा सामान्य सत्य छ, नदीलाई ठाउँ चाहिन्छ। पहाडलाई जंगल चाहिन्छ। माटोलाई पानी सोस्ने क्षमता चाहिन्छ। पानीलाई प्राकृतिक निकास चाहिन्छ। र मानिसलाई सुरक्षित भूगोल चाहिन्छ।
हाम्रो पुर्खाको ज्ञानको सबैभन्दा महत्वपूर्ण पक्ष यही थियो कि उनीहरूले प्रकृतिको सीमालाई स्वीकार गरेका थिए। उनीहरूले नदीलाई आफ्नो इच्छाअनुसार बगाउन खोजेनन्। पहाडलाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा ल्याउने कल्पना गरेनन्। मौसमसँग लड्नेभन्दा त्यसअनुसार जीवनलाई ढाल्ने प्रयास गरे।
आज हामीसँग प्रविधि छ। तर प्रविधिले प्रकृतिमाथि पूर्ण नियन्त्रण दिन्छ भन्ने भ्रम पनि बढेको छ। सायद हाम्रो सबैभन्दा ठूलो कमजोरी यही हो। हामीले नदीलाई बाँध्न सक्छौँ, पहाड काट्न सक्छौँ, जंगल फँडानी गर्न सक्छौँ र सहरलाई कंक्रिटले ढाक्न सक्छौँ। तर त्यसको अर्थ हामीले प्रकृतिको नियम परिवर्तन गर्यौँ भन्ने होइन।
हामीले केवल जोखिमको स्वरूप परिवर्तन गरेका हुन्छौँ। नेपालजस्तो भौगोलिक रूपमा संवेदनशील देशका लागि विकासको प्रश्न अझ गम्भीर छ। यहाँ हिमाल, पहाड र तराईको प्राकृतिक सम्बन्धलाई छुट्टाछुट्टै बुझ्न सकिँदैन। हिमालमा भएको परिवर्तनको असर नदीमार्फत तराईसम्म पुग्छ। जंगल विनाशको प्रभाव पानीको बहावमा देखिन्छ। पहाडको अनियन्त्रित कटानको असर तल्लो बस्तीमा पुग्छ।
त्यसैले विकासको योजना पनि टुक्राटुक्रामा होइन, सम्पूर्ण पारिस्थितिक प्रणालीलाई बुझेर बनाउनुपर्छ। अब हामीले पुर्खाको ज्ञानलाई संग्रहालयमा राख्ने वस्तुजस्तो मात्र व्यवहार गर्न मिल्दैन। त्यसको वैज्ञानिक पक्ष खोज्नुपर्छ। कुन परम्परा वातावरण संरक्षणसँग जोडिएको थियो? कुन जीवनशैली भूगोलअनुकूल थियो? कुन स्थानीय अभ्यासले विपद् जोखिम कम गर्थ्यो? यस्ता प्रश्नमाथि अनुसन्धान हुनुपर्छ।
सबै पुरानो कुरा राम्रो हुँदैन। सबै आधुनिक कुरा खराब पनि हुँदैन। तर सबैभन्दा ठूलो गल्ती पुरानोलाई अन्धविश्वास र नयाँलाई स्वतः प्रगति ठान्नु हो। दिगो भविष्य अतीत र आधुनिकतामध्ये एउटालाई रोज्नुमा छैन। भविष्य दुवैका उपयोगी ज्ञानलाई जोड्नुमा छ।
हाम्रा पुर्खाले अनुभवबाट सिकेका थिए। हामीले विज्ञानबाट सिकेका छौँ। अबको चुनौती अनुभव र विज्ञानलाई एउटै विकास दर्शनमा जोड्नु हो। नेपालमा प्रत्येक बाढी र पहिरोपछि राहत बाँड्नेभन्दा महत्वपूर्ण काम अर्को छ, विपत्तिलाई निम्त्याउने हाम्रो विकास मोडेलमाथि प्रश्न उठाउनु।
किनकि नदीलाई नदीकै रूपमा बग्न नदिएर, पहाडलाई उसको क्षमताभन्दा बढी काटेर, जंगललाई विकासको अवरोध ठानेर र सुरक्षित भूगोललाई बेवास्ता गरेर बनाइएको विकास अन्ततः विकास होइन, भविष्यका विपत्तिको पूर्वाधार बन्न सक्छ।
आजको सबैभन्दा महत्वपूर्ण प्रश्न सायद यही हो, हामी प्रकृतिलाई जित्न खोजिरहेका छौँ कि बुझ्न? हाम्रा पुर्खाले दोस्रो बाटो रोजेका थिए। सम्भवतः अब हामीले पनि त्यही पाठ फेरि सिक्नुपर्ने समय आएको छ।
















