जनस्वास्थ्यको आधारभूत सिद्धान्तअनुसार सुरक्षित खानेपानी सुविधा होइन, नागरिकको आधारभूत अधिकार हो। संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गरेकाले स्थानीय सरकारले गुणस्तरीय खानेपानी उपलब्ध गराउनु, नियमित परीक्षण गर्नु र जोखिम देखिएमा तत्काल सुधारात्मक कदम चाल्नु अनिवार्य जिम्मेवारी हो।
वर्षायाम सुरु भएसँगै झाडापखालाका बिरामीहरूको संख्या बढ्ने गरेको छ। पछिल्लो समय जुम्लाका विभिन्न क्षेत्रमा दूषित खानेपानीका कारण झाडापखालाका बिरामी बढिरहेका छन्। विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला र दीर्घरोग भएका व्यक्तिहरू बढी जोखिममा पर्छन्।
झाडापखाला विशेषगरी पाँच वर्षमुनिका बालबालिकामा मृत्यु र कुपोषणको प्रमुख कारणमध्ये एक हो। पटक–पटक हुने झाडापखालाले बालबालिकाको पोषण अवस्था बिगार्ने, शारीरिक तथा मानसिक विकासमा असर पार्ने र परिवारको आर्थिक बोझ बढाउने गर्दछ। त्यसैले यसलाई सामान्य रोगका रूपमा लिनु जनस्वास्थ्यका दृष्टिले ठूलो भूल हुनेछ।
जुम्ला हिमाली जिल्ला भए पनि सबै नागरिक सुरक्षित खानेपानीको पहुँचमा छैनन्। धेरै स्थानमा मुहान वा वितरण प्रणालीको पानी कुनै प्रभावकारी शुद्धीकरण प्रक्रियाबिना उपभोग भइरहेको छ।
वर्षायाममा वर्षाको पानीसँगै फोहोर, मानव तथा पशुको दिसाजन्य प्रदूषण खानेपानीका स्रोतमा मिसिने सम्भावना बढ्छ। यदि पानीको नियमित गुणस्तर परीक्षण, क्लोरिनेसन वा अन्य समुदायस्तरको शुद्धीकरण प्रणाली प्रभावकारी रूपमा सञ्चालन नभए संक्रमण फैलिन धेरै समय लाग्दैन।
झाडापखाला प्रायः ब्याक्टेरिया, भाइरस वा परजीवीले दूषित पानी र खानामार्फत फैलिन्छ। वर्षाका बेला मुहान, पाइपलाइन तथा पानीका स्रोतहरू फोहोर र ढलसँग मिसिन सक्ने भएकाले संक्रमणको जोखिम बढ्छ। समुदायस्तरमा सुरक्षित खानेपानीको व्यवस्थापन कमजोर भएका स्थानहरूमा यो समस्या अझ गम्भीर बन्न सक्छ।
झाडापखालाबाट बच्न उमालेर वा सुरक्षित रूपमा शुद्ध गरिएको पानी मात्र पिउनुपर्छ। खाना खानुअघि, खाना बनाउनु अघि र शौचालय प्रयोगपछि साबुनपानीले हात धुनुपर्छ।
खाना राम्रोसँग पकाएर ताजा अवस्थामा खानुपर्छ। फलफूल र तरकारी सफा पानीले राम्ररी धोएर मात्र प्रयोग गर्नुपर्छ। घर, आँगन र खानेपानीका भाँडाहरू सफा राख्नुपर्छ। शौचालयको नियमित प्रयोग गर्नुपर्छ र खुला दिसा गर्नु हुँदैन।
बच्चालाई झाडापखाला भएमा तुरुन्त ओआरएस (ORS) दिन सुरु गर्नुपर्छ। स्तनपान गराइरहेका शिशुलाई स्तनपान निरन्तर गराइरहनुपर्छ। पर्याप्त तरल पदार्थ र उमेरअनुसारको खाना दिइरहनुपर्छ। स्वास्थ्यकर्मीको सल्लाहअनुसार जिंक (Zinc) सेवन गराउनुपर्छ। चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक प्रयोग गर्नु हुँदैन।
बारम्बार बान्ता हुने, पानी पिउन नसक्ने, आँखा भासिने, मुख सुक्ने, पिसाब कम हुने वा बच्चा धेरै सुस्त हुने, दिसामा रगत देखिने, उच्च ज्वरो आउने, झाडापखाला लगातार रहिरहने वा अवस्था बिग्रँदै जाने जस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जानुपर्छ।
झाडापखाला व्यक्तिगत समस्या मात्र होइन, यो जनस्वास्थ्यको महत्वपूर्ण चुनौती हो। सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छता (WASH) सेवाको अभाव हुँदा समुदायमा रोग छिटो फैलिन सक्छ। जुम्लाका स्थानीय तहहरूमा समुदायस्तरको खानेपानी शुद्धीकरण प्रणाली पर्याप्त रूपमा उपलब्ध नहुँदा दूषित पानीबाट हुने रोगको जोखिम बढ्न सक्छ।
त्यसैले स्थानीय तह, सम्बन्धित निकाय, स्वास्थ्य संस्था र समुदायबीच समन्वय गरी सुरक्षित खानेपानीको व्यवस्था, नियमित पानीको गुणस्तर परीक्षण, पानीका स्रोतहरूको संरक्षण, जनचेतना अभिवृद्धि तथा आवश्यक परेमा अस्थायी पानी शुद्धीकरणका उपायहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नु आवश्यक छ।
सुरक्षित पानी, सरसफाइ र समयमै उपचार नै झाडापखालाबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय हुन्। प्रत्येक नागरिक, समुदाय र स्थानीय सरकारको साझा प्रयासबाट मात्र झाडापखालाको प्रकोपलाई नियन्त्रण गर्न सकिन्छ।
जनस्वास्थ्यको आधारभूत सिद्धान्तअनुसार सुरक्षित खानेपानी कुनै सुविधा होइन, नागरिकको आधारभूत अधिकार हो। संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको अवस्थामा प्रत्येक स्थानीय सरकारले गुणस्तरीय खानेपानी उपलब्ध गराउनु, पानीको नियमित परीक्षण गर्नु र जोखिम देखिएमा तत्काल सुधारात्मक कदम चाल्नु आफ्नो प्राथमिक जिम्मेवारीका रूपमा लिनुपर्छ।
















