बिहीबार, ४ भाद्र, २०८३

पातारासी -१ महिनावारी विभेदमुक्त वडा : घोषणाबाट व्यवहार परिवर्तनको प्रतिबद्धता

पातारासी -१ गडीगाउँकी काली बुढा महिला स्वास्थ्य स्वयंसेविका पनि हुन्। महिनावारी हुँदा आफूले समेत घट्ट र गोठमा बसेर दिन बिताएको अनुभव उनीसँग छ। तर, अब त्यो अभ्यासलाई निरन्तरता नदिने उनको प्रतिबद्धता छ।

जुम्लाको पातारासी गाउँपालिका–१ का महिला तथा किशोरीहरू हातमा सचेतनामूलक सन्देश बोकेर सडकमा निस्किए। उनीहरूको आवाजमा एउटै आग्रह थियो, महिनावारीलाई लाज, घृणा र विभेदको विषय होइन, प्राकृतिक र स्वास्थ्यसँग जोडिएको प्रक्रियाका रूपमा स्वीकार गरौँ।

‘महिनावारीका नाममा हुने विभेद अन्त्य गरौँ’ भन्ने नारासहित निकालिएको र्‍यालीले पातारासी–१ का सडक ततायो। महिला तथा किशोरीसँगै जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी, कर्मचारी, स्थानीय अगुवा र समुदायका सदस्यहरू पनि र्‍यालीमा सहभागी भए। उद्देश्य थियो, वर्षौंदेखि समाजमा जरा गाडेर बसेका महिनावारीसम्बन्धी कुरीति, अन्धविश्वास र विभेदविरुद्ध सामूहिक आवाज उठाउनु।

पातारासी गाउँपालिका–१ वडा कार्यालय र सर्वोदय नेपाल जुम्लाको समन्वय तथा सहकार्यमा आयोजित विशेष कार्यक्रममार्फत वडालाई ‘महिनावारी विभेदमुक्त वडा’ घोषणा गरिएको हो। तर, यो घोषणा औपचारिक कार्यक्रमभन्दा धेरै अर्थपूर्ण छ। किनकि महिनावारीसम्बन्धी विभेद अन्त्य गर्ने वास्तविक परीक्षा अब घोषणा पछिका दिनमा हुनेछ, समुदायको व्यवहारमा आउने परिवर्तनले।

नेपालका ग्रामीण तथा विकट क्षेत्रमा महिनावारी अझै पनि अनेकौँ सामाजिक मान्यता, अन्धविश्वास र निषेधसँग जोडिएको छ। कतिपय ठाउँमा महिनावारी भएका महिलालाई घरभित्रै अलग राख्ने, भान्सामा प्रवेश गर्न नदिने, धार्मिक तथा सामाजिक गतिविधिबाट टाढा राख्ने, गोठ वा छाप्रोमा बस्न बाध्य पार्ने तथा अपमानजनक व्यवहार गर्ने अभ्यास पूर्ण रूपमा हटिसकेको छैन।

यही वास्तविकताबीच पातारासी–१ ले महिनावारी विभेद अन्त्यलाई सार्वजनिक अभियानका रूपमा अघि बढाएको हो।

वडाको गडीगाउँकी काली बुढा महिला स्वास्थ्य स्वयंसेविका पनि हुन्। महिनावारी हुँदा आफूले समेत घट्ट र गोठमा बसेर दिन बिताएको अनुभव उनीसँग छ। तर, अब त्यो अभ्यासलाई निरन्तरता नदिने उनको प्रतिबद्धता छ।

‘पहिला महिनावारी हुँदा घट्ट र गोठमा बस्ने गर्थ्यौँ। त्यो हाम्रो चलनजस्तै भइसकेको थियो। तर अहिले बुझ्दै जाँदा महिनावारी प्राकृतिक प्रक्रिया रहेछ भन्ने थाहा भयो,’ बुढा भन्छिन्, ‘अब म आफै गोठमा बस्दिनँ र अरू महिला तथा किशोरीलाई पनि गोठमा बस्न दिन्नँ।’

कालीको यो व्यक्तिगत निर्णय होइन, समुदायमा परिवर्तन सुरु गर्ने प्रयास पनि हो। महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा गाउँमा स्वास्थ्यसम्बन्धी जानकारी पुर्‍याउने जिम्मेवारीसमेत भएकाले उनले महिनावारीका विषयमा आफूले जानेको कुरा अरू महिलासम्म पुर्‍याउने बताइन्।

‘हामीले वर्षौँदेखि गर्दै आएको कुरा सही नै हुन्छ भन्ने हुँदैन। गलत अभ्यास छ भने त्यसलाई परिवर्तन गर्नुपर्छ,’ उनी भन्छिन्, ‘अब छोरी–बुहारीलाई महिनावारी भएकै कारण घरबाट अलग राख्ने होइन, उनीहरूलाई सम्मान र सुरक्षित वातावरण दिनुपर्छ।’

सोही ठाउँकी ३१ वर्षीया फुलमाया ऐडीको अनुभव पनि यस्तै छ। महिनावारी हुँदा गोठमा बस्ने परम्परा उनले पनि भोगेकी छन्। तर, गोठमा बस्नु स्वास्थ्य र सुरक्षाका हिसाबले जोखिमपूर्ण भएको उनको बुझाइ छ।

‘महिनावारी हुँदा गोठमा बस्दा चिसो, असुरक्षा र अन्य समस्या हुन्छ। घरमा बस्दा केही हुँदैन,’ ऐडी भन्छिन्, ‘त्यसैले अब महिनावारी हुँदा गोठमा नबसी घरमै बस्ने प्रतिबद्धता गरेकी छु।’

फुलमायाका लागि घरमै बस्ने निर्णय सामान्य देखिए पनि सामाजिक सोच परिवर्तनका दृष्टिले यसको अर्थ ठूलो छ। किनकि पुस्तौँदेखि सामान्य मानिँदै आएको अभ्यास त्याग्न व्यक्तिगत साहससँगै परिवार र समुदायको समर्थन पनि आवश्यक हुन्छ।

उनको भनाइमा महिनावारी भएकी महिलालाई घरमा राख्दा कुनै अशुद्धता हुँदैन भन्ने कुरा समुदायमा बुझाउन आवश्यक छ। ‘हामीले पनि बुझ्नुपर्छ र अरूलाई पनि बुझाउनुपर्छ। महिनावारी भएकै कारण कसैलाई छुट्टै राख्नु हुँदैन,’ उनी भन्छिन्।

कार्यक्रममा पातारासी गाउँपालिकाकी उपाध्यक्ष जनमाया रोकायाले महिनावारीका नाममा हुने विभेद अन्त्य गर्न स्थानीय सरकार समुदायसँगै अघि बढिरहेको बताइन्। उनका अनुसार महिनावारीसम्बन्धी गलत धारणा परिवर्तन गर्न नीति, कार्यक्रम र घोषणा मात्र पर्याप्त हुँदैन। घर, विद्यालय र समुदायको व्यवहारमै परिवर्तन आवश्यक हुन्छ।

सर्वोदय नेपाल जुम्लाकी अध्यक्ष नारायणी चौलागाईंले महिलाले पुस्तौँदेखि भोग्दै आएको महिनावारी विभेदजस्तो हानिकारक अभ्यास अन्त्य गर्ने अभियान सुरु हुनु महत्वपूर्ण उपलब्धि भएको बताइन्। ‘महिनावारीसम्बन्धी विभेदले महिलाको सम्मान र आत्मविश्वासमा मात्र असर नगरी स्वास्थ्य, शिक्षा र सामाजिक सहभागितामा समेत प्रभाव पार्नेछ,’ उनले भनिन्।

सर्वोदय नेपाल जुम्लाका कार्यकारी निर्देशक कमलराज खत्रीले ‘महिनावारी विभेदमुक्त वडा’ घोषणा एउटा औपचारिक उपलब्धिमा सीमित हुन नहुने बताए। घोषणा पछिको निरन्तर अनुगमन, समुदायमा सचेतना, किशोरीमैत्री स्वास्थ्य सेवा, विद्यालयस्तरको शिक्षा र परिवारको व्यवहार परिवर्तनलाई अभियानको मुख्य आधार बनाउनुपर्नेमा उनले जोड दिए।

‘महिनावारी प्राकृतिक प्रक्रिया हो भन्ने वैज्ञानिक बुझाइ समुदायको प्रत्येक घरसम्म पुर्‍याउनुपर्छ। वडा घोषणा गर्नु सुरुवात हो, अन्तिम उपलब्धि होइन,’ खत्रीले भने, ‘अब कुनै महिला वा किशोरीले महिनावारी भएकै कारण घर, विद्यालय वा समुदायमा अपमान र विभेद भोग्न नपर्ने अवस्था सिर्जना गर्नु हाम्रो मुख्य जिम्मेवारी हो।’

कार्यक्रममा तातोपानी गाउँपालिकाकी उपाध्यक्ष रेवती रावलले महिनावारीसँग जोडिएका सामाजिक कुरीति अन्त्यका लागि स्थानीय तहहरूबीच सहकार्य र साझा प्रतिबद्धता आवश्यक रहेको धारणा राखिन्। एउटा स्थानीय तहको प्रयासले मात्र सामाजिक सोचमा दीर्घकालीन परिवर्तन ल्याउन कठिन हुने भएकाले यस्ता अभियान पालिकास्तर हुँदै जिल्लास्तरसम्म विस्तार गर्नुपर्ने उनको भनाइ थियो।

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण शर्माले महिनावारी विभेद अन्त्यका लागि स्वास्थ्य, शिक्षा र जनचेतनालाई एकसाथ अघि बढाउनुपर्ने बताए। महिनावारीलाई स्वास्थ्यको विषयसँग जोडेर वैज्ञानिक जानकारी दिन सके गलत धारणा, डर र अन्धविश्वास क्रमशः हटाउन सकिने उनको भनाइ छ।

पातारासी–१ का वडा अध्यक्ष लालसिं ऐडीले वडा तहबाटै महिनावारीसम्बन्धी विभेद अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे। प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले पनि सामाजिक कुरीति अन्त्यका लागि सरकारी निकायको प्रयाससँगै समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताए।

कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिए। झाँकीमार्फत महिनावारीका नाममा हुने विभेद, सामाजिक कुरीति र गलत मान्यताविरुद्ध सन्देश प्रवाह गरिएको थियो। सहभागीहरूले महिनावारीका कारण कुनै पनि प्रकारको विभेद नगर्ने प्रतिबद्धतासहित हस्ताक्षरसमेत गरे।

कार्यक्रमको अन्तिम चरणमा पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिं बोहोराले वडा नम्बर १ लाई औपचारिक रूपमा ‘महिनावारी विभेदमुक्त वडा’ घोषणा गरे। घोषणासँगै एउटा प्रश्न भने बाँकी छ, के अब पातारासी–१ का महिलाहरू र किशोरीहरूले महिनावारीकै कारण भोग्दै आएका सबै विभेद अन्त्य हुन्छन्?

यसको उत्तर घोषणा समारोहमा होइन, अबका दिनमा देखिने व्यवहारले दिनेछ। त्यसैले पातारासी–१ को ‘महिनावारी विभेदमुक्त वडा’ घोषणा एउटा कार्यक्रमको अन्त्य होइन, लामो सामाजिक यात्राको सुरुवात हो। अबको चुनौती स्पष्ट छ, घोषणालाई कागजमा होइन, समुदायको दैनिक जीवनमा उतार्नु पर्ने सर्वोदय नेपालका कार्यकारी निर्देशक खत्रीको भनाई छ।

उनका अनुसार त्यो चुनौती पूरा गर्न सके पातारासी–१ एउटा वडा मात्र रहने छैन, महिनावारीसम्बन्धी विभेद र कुरीति अन्त्यका लागि जुम्लाका अन्य गाउँबस्तीलाई समेत व्यवहारिक परिवर्तनको बाटो देखाउने उदाहरण बन्न सक्छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार