सुर्खेतमा पछिल्लो २४ घण्टामा छुट्टाछुट्टै घटनामा दुई जनाको शव फेला परेको छ भने एक मजदुरको मृत्यु भएको छ।
बराहताल गाउँपालिका–४ घुमाउनेस्थित भेरी नदीमा मंगलबार साँझ करिब ५ः४५ बजे अन्दाजी २५–३० वर्षका जस्तो देखिने पुरुषको बेवारिसे शव फेला परेको थियो। स्थानीय नवीन काफ्लेले अस्थायी प्रहरी पोस्ट तरंगामा जानकारी गराएपछि प्रहरी सहायक निरीक्षक कृष्णबहादुर बिष्टको कमाण्डमा तीन जनाको टोली घटनास्थलमा पुगेको थियो। थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी निरीक्षक भूपेन्द्र शाहीको कमाण्डमा सात जनाको टोली खटिएको थियो।
प्रहरीका अनुसार उक्त शव पोस्टमार्टमका लागि मंगलबार राति ११ बजे प्रदेश अस्पताल कालागाउँ, सुर्खेत पठाइएको थियो। शव बुधबार बिहान १ः१० बजे अस्पतालको शवगृहमा राखिएको छ। मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
यसैबीच, चौकुने गाउँपालिका–९ सुनाकाँडास्थित निर्माणाधीन सूर्यतारा सिमेन्ट उद्योगमा काम गर्दै आएका एक मजदुरको मृत्यु भएको छ। रौतहटको देवाही गोनाही नगरपालिका–६ घर भएका अन्दाजी ३२ वर्षीय श्याम बाबु राम करिब दुई महिनादेखि उक्त उद्योगमा मजदुरी गर्दै आएका थिए।
बुधबार बिहान करिब ६ बजे छाती दुखेको भन्दै ओछ्यानमा सुतिरहेका रामलाई साथीहरूले हेर्दा मृत अवस्थामा फेला पारेका थिए। उद्योगका सुपरभाइजर बुद्धिराज रिमालले अस्थायी प्रहरी पोस्ट घाटगाउँमा खबर गरेपछि प्रहरी सहायक निरीक्षक सिंहबहादुर कडालको कमाण्डमा दुई जना प्रहरी घटनास्थलमा पुगेका थिए। थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी निरीक्षक भूपेन्द्र शाहीको कमाण्डमा छ जनाको टोली खटिएको प्रहरीले जनाएको छ। मृतकका परिवारलाई घटनाबारे जानकारी गराइएको छ।
त्यस्तै, बराहताल गाउँपालिका–४ तरंगा क्षेत्रमा बुधबार बिहान भेरी नदीको किनारमा एक महिलाको शव फेला परेको छ। बिहान करिब १०ः२५ बजे वीरेन्द्रनगर नगरपालिका–१० बस्ने ५७ वर्षीय भीमबहादुर थापाले महिलाको शव रहेको जानकारी गराएपछि अस्थायी प्रहरी पोस्ट तरंगाबाट प्रहरी सहायक निरीक्षक कृष्णबहादुर बिष्टको कमाण्डमा दुई जनाको टोली घटनास्थलमा पुगेको थियो।
प्रहरी टोलीले बिहान १०ः४५ बजे घटनास्थलमा बेवारिसे अवस्थामा महिलाको शव फेला पारेको जनाएको छ। प्रहरीका अनुसार शवको कम्मरभन्दा माथिको भाग सडिगलेको अवस्थामा रहेको थियो भने कम्मरमुनिको भाग देखिने अवस्थामा थियो। शव फेला परेको स्थान अस्थायी प्रहरी पोस्ट तरंगाबाट करिब एक किलोमिटर पूर्वमा रहेको छ।
महिलाको शवबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी निरीक्षक भूपेन्द्र शाहीको कमाण्डमा पाँच जनाको टोली घटनास्थलमा खटिएको छ। दुवै नदीजन्य घटनामा फेला परेका शवको पहिचान तथा घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
















