सत्ताको शिखर आफ्नै हातमा आउँदा पनि त्यसलाई त्याग्न सक्ने राजनीतिक संस्कार त्यतिबेला थियो। गणेशमान सिंहको त्यो निर्णय पद त्यागको घटना मात्रै थिएन, त्यो लोकतान्त्रिक संस्कार, सहकार्य र राजनीतिक उदारताको अनुपम उदाहरण थियो।
मह काड्नेले काडेको महको स्वाद त्यसका छोरानातिले हात चाट्दैमा आउँदैन। त्यसका लागि आफूले पनि मह काड्नुपर्छ, पसिना बगाउनुपर्छ र त्यसको मिठासका लागि मूल्य चुकाउनुपर्छ। राजनीति पनि त्यस्तै हो।
कुनै परिवार, वंश वा राजनीतिक विरासतको नाम जोडिँदैमा त्यसको गौरव स्वतः हस्तान्तरण हुँदैन। विरासतले अवसर दिन सक्छ, परिचय दिन सक्छ; तर सम्मान, विश्वास र नेतृत्वको अधिकार भने व्यक्तिको कर्म, चरित्र र योगदानले मात्र स्थापित गर्छ।
महर्षि पुलस्त्य, ऋषि विश्रवजस्ता विद्वान्, धार्मिक र सत्यवान् व्यक्तिहरूको कुलमा जन्मिएका रावणको चरित्र इतिहासले कसरी चित्रण गरेको छ, हामी सबैलाई थाहा छ। त्यसैले असल वंशमा जन्मिँदैमा व्यक्ति असल हुन्छ भन्ने हुँदैन। अन्ततः मानिसलाई उसको जन्मले होइन, कर्मले चिनाउँछ। परिवारले दिएको नामभन्दा आफ्नै आचरणले कमाएको नाम दीर्घजीवी हुन्छ।
नेपालको राजनीतिक इतिहासमा त्याग, निष्ठा र आदर्शका यस्ता अनेक उदाहरण छन्। भारतले सिक्किमलाई अधिग्रहण गर्दै गर्दा महामानव बी.पी. कोइरालालाई आजीवन नेपालको प्रधानमन्त्री बन्ने प्रस्ताव आएको प्रसंग हामीले पढेका, सुनेका छौँ।
तर बी.पी.ले पद, सुविधा र व्यक्तिगत सुरक्षाभन्दा राष्ट्र र राष्ट्रियतालाई माथि राख्नुभयो। जेल जीवन स्वीकार गर्न तयार हुनुभयो। राष्ट्रिय मेलमिलापको प्रस्तावसहित भारतीय भूमि छाडेर नेपाल फर्किनुभयो र काराबास भोग्नुभयो।
बी.पी.सँग पद थिएन होला, तर पदभन्दा ठूलो राजनीतिक उचाइ थियो। उहाँसँग तत्कालीन सत्ता थिएन होला, तर राष्ट्रप्रतिको अडान थियो। यही अडानले उहाँलाई इतिहासमा स्थापित गर्यो।
प्रश्न उठ्छ, आज उहाँकै राजनीतिक विरासत बोकेकाहरूले ती आदर्श कति आत्मसात् गरेका छन् ? २०४६ सालको जनआन्दोलनपछि बहुदलीय व्यवस्था पुनःस्थापित हुँदा प्रधानमन्त्री बन्ने अवसर आउँदा लौहपुरुष गणेशमान सिंहले आफू प्रधानमन्त्री बन्नुभन्दा कृष्णप्रसाद भट्टराई (किसुनजी)लाई प्रधानमन्त्री बनाउनुपर्ने अडान लिनुभयो।
सत्ताको शिखर आफ्नै हातमा आउँदा पनि त्यसलाई त्याग्न सक्ने राजनीतिक संस्कार त्यतिबेला थियो। गणेशमान सिंहको त्यो निर्णय पद त्यागको घटना मात्रै थिएन, त्यो लोकतान्त्रिक संस्कार, सहकार्य र राजनीतिक उदारताको अनुपम उदाहरण थियो।
आज त्यस्ता त्यागका प्रतिमूर्तिहरूबाट प्राप्त ज्ञान कहाँ हराउँदै गएको छ ? हाम्रा अग्रज नेताहरू राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र स्वतन्त्रताका लागि संघर्ष गरिरहँदा सायद गगन थापा, विश्वप्रकाश शर्मा लगायतका धेरै युवा जन्मिएकै थिएनन् होला।
यसमा उनीहरूको कुनै दोष छैन। नयाँ पुस्ता पुरानो पुस्ताको प्रत्यक्ष अनुभव बोकेर जन्मिँदैन। तर नयाँ पुस्तामाथि इतिहासबाट सिक्ने, त्यसलाई आत्मसात् गर्ने र आफूलाई अझ उन्नत राजनीतिक संस्कारमा ढाल्ने जिम्मेवारी अवश्य हुन्छ।
यसको अर्थ कोही कुनै खास परिवारमा जन्मिएको छैन भने ऊ ‘दुई नम्बरको रैती’ हो भन्ने होइन। बिल्कुल होइन। लोकतन्त्रमा जन्म होइन, क्षमता र योगदान निर्णायक हुनुपर्छ।
प्रश्न यति मात्र हो, एक नम्बरको हुनका लागि कोइराला, सिंह, निधि लगायत राजनीतिक योगदान गरेका परिवारमै जन्मिनुपर्ने हो भने राष्ट्रियता, लोकतन्त्र, समाजवाद र त्यागका आदर्शहरू अब केवल भाषण र नारामै सीमित हुने हुन् त?
राजनीतिक परिवारमा जन्मिनु अपराध होइन। पारिवारिक पृष्ठभूमिले राजनीतिमा प्रवेशको ढोका खोलिदिनु पनि अस्वाभाविक होइन। तर त्यही विरासतलाई जनताको विश्वासमाथि स्थायी हक ठान्नु भने लोकतन्त्रको मर्मसँग मेल खाँदैन। जनताले पुर्खाको योगदानका आधारमा होइन, वर्तमान पुस्ताको कर्मका आधारमा मत दिन्छन्।
यस्तै प्रवृत्तिको परिणाम होला, जीवनको उत्तरार्धमा लौहपुरुष गणेशमान सिंह र सन्तनेता कृष्णप्रसाद भट्टराईजस्ता महान् नेताहरूले आफ्नै पार्टी नेतृत्व र राजनीतिक संस्कारप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्नुपर्यो।
उनीहरूले जुन पार्टी निर्माणका लागि जीवन अर्पिए, त्यही पार्टीमा बढ्दै गएको गुटबन्दी, स्वार्थ र सत्ताकेन्द्रित प्रवृत्तिले उनीहरूलाई निराश बनायो भने त्यसबाट आजको पुस्ताले गम्भीर पाठ सिक्नुपर्छ।
हामीलाई लागेको थियो, नयाँ नेतृत्वले पार्टीलाई अझ एकीकृत, सुदृढ, जनमुखी र विचारप्रधान बनाउनेछ। पुराना कमजोरीमाथि आत्मसमीक्षा गर्दै नयाँ राजनीतिक संस्कारको सुरुवात हुनेछ। शेरबहादुर देउवाको रोहवरमा त्यसको सुरुवात होला भन्ने अपेक्षा पनि थियो। तर राजनीतिमा अपेक्षा र यथार्थबीचको दूरी कहिलेकाहीँ निकै ठूलो हुँदो रहेछ।
विनाशकाले विपरीत बुद्धि नहोस् ! आफ्नै मान–मर्दन, राजनीतिक साख र जनविश्वास क्रमशः खस्किँदै गएको पत्तै नपाउने अवस्था कुनै पनि नेतृत्वका लागि दुर्भाग्यपूर्ण हुन्छ। सत्ता प्राप्त गर्न सक्नु र जनताको मन जित्न सक्नु एउटै कुरा होइन। पदमा बसिरहन सक्नु र इतिहासमा सम्मानित भएर रहन सक्नु पनि एउटै कुरा होइन।
त्यसैले अहिले आवश्यक कुरा ‘गगन थापा हाय–हाय’ वा ‘गगन थापा बाई–बाई’ होइन। आवश्यक कुरा विचार, विवेक र आत्मसमीक्षा हो। नयाँ पुस्ताले पुरानो पुस्ताको नाम बेचेर होइन, आफ्नै कर्मले आफूलाई प्रमाणित गर्नुपर्छ।
परिवारवादको मोहले लोकतन्त्रलाई कमजोर बनाउँछ। राजनीतिक विरासतलाई व्यक्तिगत सम्पत्तिजस्तो व्यवहार गरियो भने जनताले एक दिन त्यसको हिसाब अवश्य माग्नेछन्। परिवारवाद बाई–बाई भन्ने समय टाढा छैन, समयमै विचार पुर्याऊँ।
राजनीति कुनै वंशको निजी विरासत होइन। यो जनताको विश्वासबाट प्राप्त जिम्मेवारी हो। पद पुस्तान्तरण हुन सक्छ, पार्टीको झण्डा पुस्तान्तरण हुन सक्छ, राजनीतिक नामसमेत पुस्तान्तरण हुन सक्छ; तर त्याग, निष्ठा, विचार र जनविश्वास पुस्तान्तरण हुँदैन।
त्यो आफैँले कमाउनुपर्छ । किनकि मह काडेको सम्झिँदै छोरानातिले हात चाट्दैमा गुलियो कहाँ आउँछ र !
(लेखक नेपाली काँग्रेस जुम्लाका उपसभापति हुनुहुन्छ भने निवर्तमान जिल्ला समन्वय समितिका उपप्रमुख समेत हुनुहुन्छ।)
















