आईतवार, ३१ श्रावण, २०८३

हुम्लामा चौरीखर्कमा पुगेर बालबालिकालाई स्वास्थ्य सेवा

भौगोलिक रूपमा विकट मानिने हुम्लाको सिमकोट गाउँपालिका–८ चौरीखर्कमा स्वास्थ्यकर्मीको टोली पुगेर बालबालिकालाई स्वास्थ्य तथा खोपसम्बन्धी सेवा दिएको छ। स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका बालबालिकालाई नियमित सेवा र खोपको दायरामा ल्याउने उद्देश्यले ‘खोज र खोप (Search & Immunize), हरेक बालबालिकाको पहुँचमा पुगौँ (Reach Every Child)’ अभियानअन्तर्गत स्वास्थ्य सेवा पुर्‍याइएको हो।

सिमकोट गाउँपालिकाको आयोजनामा सञ्चालित अभियानअन्तर्गत स्याडा स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मीको टोली चौरीखर्क पुगेको थियो। स्याडा स्वास्थ्य चौकीका निमित्त स्वास्थ्य चौकी इन्चार्ज राजेन्द्र शाहीको नेतृत्वमा स्वास्थ्यकर्मीले करिब ५–६ घण्टाको पैदल यात्रा गरी दुर्गम बस्तीमा पुगेर बालबालिकाको स्वास्थ्य जाँच तथा खोपसम्बन्धी सेवा प्रदान गरेका हुन्।

भौगोलिक कठिनाइका कारण नियमित स्वास्थ्य सेवाको पहुँचमा पुग्न समस्या हुने चौरीखर्कजस्ता बस्तीमा स्वास्थ्यकर्मी स्वयं पुगेर सेवा दिन थालेपछि बालबालिकालाई आधारभूत स्वास्थ्य सेवामा जोड्ने प्रयास भएको गाउँपालिकाले जनाएको छ। अभियानले विशेषगरी नियमित खोपबाट छुटेका वा स्वास्थ्य सेवाको पहुँचमा नआएका बालबालिकाको पहिचान गरी आवश्यक सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ।

सिमकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नर भण्डारीले अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्य सेवाबाट टाढा रहेका बस्तीमा स्वास्थ्यकर्मीको टोली प्रत्यक्ष रूपमा पुगेर सेवा दिइरहेको बताए। उनका अनुसार हुम्लाको भौगोलिक विकटताका बाबजुद स्वास्थ्यकर्मीले कठिन यात्रा गरेर बालबालिकासम्म सेवा पुर्‍याउनु सकारात्मक प्रयास हो।

‘हरेक बालबालिका स्वास्थ्य सेवा र खोपको पहुँचमा पुग्नुपर्छ भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो,’ भण्डारीले भने, ‘दुर्गम बस्तीमा पुगेर सेवा दिने स्वास्थ्यकर्मीको सक्रियता र समर्पण प्रशंसनीय छ।’

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ट्रेन्डिङ

ताजा समाचार