बुधबार, २७ श्रावण, २०८३

जुम्लामा अब आउने ग्यास जिल्ला बाहिरका विद्यार्थीलाई वितरण गरिने

खाना पकाउने ग्यास नपाएर दाउरा खोज्न जंगल पुगेका विद्यार्थी दुर्घटनामा परेपछि जुम्लामा जिल्ला बाहिरबाट आएर अध्ययन गरिरहेका विद्यार्थीलाई प्राथमिकतामा राखेर ग्यास वितरण गरिने भएको छ।

जुम्लामा अब आउने एलपी ग्यासमध्ये जिल्ला बाहिरका विद्यार्थी तथा विभिन्न छात्रावासमा बस्ने विद्यार्थीलाई परिचयपत्र वा विद्यार्थी कार्डका आधारमा ग्यास उपलब्ध गराउने व्यवस्था मिलाइएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाका सभापति मक्करबहादुर भण्डारीको पहलमा जिल्ला प्रशासन, ग्यास व्यवसायी तथा सम्बन्धित शैक्षिक संस्थाबीच समन्वय भएपछि विद्यार्थीलाई प्राथमिकतामा राख्ने सहमति भएको हो।

जिल्ला बाहिरबाट आएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली प्राविधिक शिक्षालय, कर्णाली माध्यमिक विद्यालयको छात्रावास र जनता माध्यमिक विद्यालय महत गाउँको छात्रावासमा बस्दै अध्ययन गरिरहेका विद्यार्थीले अब ग्यास पाउनेछन्।

‘विद्यार्थीहरू ग्यास नपाएर खाना पकाउन दाउरा खोज्न जंगल जानुपर्ने अवस्था आउनु गम्भीर विषय हो,’ रास्वपा जुम्लाका सभापति भण्डारीले भने, ‘अब आउने ग्यासमा विद्यार्थीलाई प्राथमिकता दिने व्यवस्था मिलाएका छौँ। विद्यार्थीले आफ्नो परिचयपत्र वा कार्ड देखाएर ग्यास पाउनेछन्।’

जुम्लामा ग्यासको आपूर्ति नियमित नहुँदा केही सातादेखि विद्यार्थी तथा सर्वसाधारण समस्यामा छन्। ग्यासका लागि लामो समय कुर्नुपर्ने र कतिपय अवस्थामा खाली सिलिन्डर लिएर फर्किनुपर्ने अवस्था रहेको विद्यार्थीको गुनासो छ।

ग्यास अभावकै कारण कर्णाली प्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थी सन्तोष शाही केही दिनअघि दाउरा खोज्न जंगल गएका थिए। दाउरा काट्ने क्रममा लडेर घाइते भएका शाहीलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ।

विद्यार्थी ग्यास नपाएर जंगल जानुपर्ने र त्यसक्रममा दुर्घटनामा पर्ने अवस्था सार्वजनिक भएपछि ग्यास वितरणमा विद्यार्थीलाई प्राथमिकता दिनुपर्ने माग बढेको थियो।

जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद प्रसाईंले विद्यार्थीको समस्या तत्काल सम्बोधन गर्न प्राथमिकताका आधारमा ग्यास वितरणको व्यवस्था मिलाइएको बताए।

‘ग्यास नपाएर विद्यार्थी जंगलमा दाउरा खोज्न जानुपर्ने अवस्था आउनु दुःखद् हो,’ प्रसाईंले भने, ‘अब आउने ग्यासमा जिल्ला बाहिरबाट आएर अध्ययन गर्ने विद्यार्थी र छात्रावासमा बस्ने विद्यार्थीलाई प्राथमिकता दिने व्यवस्था गरिएको छ।’

उनका अनुसार सम्बन्धित शिक्षण संस्था र छात्रावासबाट विद्यार्थीको विवरण संकलन गरी कार्ड वा परिचयपत्रका आधारमा ग्यास वितरण गरिनेछ।

‘वास्तविक विद्यार्थीले ग्यास पाउने र अनावश्यक भण्डारण नहुने गरी वितरणलाई व्यवस्थित बनाइनेछ,’ प्रसाईंले भने, ‘जिल्लामा ग्यासको नियमित आपूर्तिका लागि पनि सम्बन्धित पक्षसँग समन्वय भइरहेको छ।’

जुम्लामा अध्ययनरत जिल्ला बाहिरका विद्यार्थीका लागि ग्यास अभाव केवल खाना पकाउने समस्यामा सीमित छैन। ग्यास नपाउँदा दाउरा खोज्न जंगल जानुपर्ने बाध्यता, त्यसबाट हुने दुर्घटनाको जोखिम र पढाइमा पर्ने असरले समस्या थप गम्भीर बनेको छ।

विद्यार्थीका लागि तत्काल राहतस्वरूप प्राथमिकतामा ग्यास दिने निर्णय भए पनि जुम्लामा देखिएको ग्यास अभावको दीर्घकालीन समाधान भने नियमित आपूर्ति र पारदर्शी वितरण प्रणालीमै निर्भर रहने देखिन्छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार