सोमबार, २५ श्रावण, २०८३

ग्यासको लाइनमा विद्यार्थीको पीडा : ‘धेरै जना मिलेर एउटा सिलिन्डर बाँड्छौं’

जुम्लामा खाना पकाउने ग्यासको अभाव चुलिँदै जाँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीको दैनिकी प्रभावित हुन थालेको छ । बजारमा खोज्दा समेत सहज रूपमा ग्यास नपाइएपछि विद्यार्थीहरू धेरै जना मिलेर एउटा सिलिन्डर बाँडेर प्रयोग गर्नुपर्ने अवस्थामा पुगेका छन् ।

बीपीएचका विद्यार्थी मोहम्मद नियाज आलम, रञ्जन मिर्शा तथा एमबीबीएसका विद्यार्थी मोहम्मद अरमानका अनुसार ग्यासका लागि बजारमा घण्टौं खोज्दा पनि सहजै पाइँदैन ।

सीमित मात्रामा ग्यास उपलब्ध हुँदा धेरै विद्यार्थी मिलेर एउटै सिलिन्डर प्रयोग गर्नुपर्ने बाध्यता रहेको उनीहरूले बताए ।
‘पढ्न जुम्ला आएका हौं, तर अहिले पढाइभन्दा खाना कसरी पकाउने भन्ने चिन्ता हुन थालेको छ,’ विद्यार्थीहरूको गुनासो छ ।

ग्यास अभावका कारण नियमित खाना पकाउन नसक्दा विद्यार्थीको स्वास्थ्य र पठनपाठनसमेत प्रभावित हुन थालेको उनीहरूको भनाइ छ । उनीहरूले विद्यार्थी परिचयपत्रका आधारमा ग्यास उपलब्ध गराउन वा विद्यार्थीका लागि छुट्टै कोटा निर्धारण गर्न माग गरेका छन् ।

ग्यास अभावको मौका छोपेर कालोबजारी, कृत्रिम अभाव र बढी मूल्य असुली हुन सक्ने भन्दै युवा जागरण अभियान, जुम्ला र पीडित विद्यार्थी समूहले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

अभियानले जुम्लामा कति परिमाणमा ग्यास भित्रिन्छ, कसरी वितरण हुन्छ र उपभोक्तासम्म पुग्ने आधार के हो भन्ने विवरण सार्वजनिक गर्न माग गरेको छ । सीमित ग्यास लुकाउने वा पहुँचका आधारमा वितरण गर्ने प्रवृत्ति रोक्न नियमित बजार अनुगमन गर्नुपर्ने उनीहरूको माग छ ।

दुर्गम हिमाली जिल्ला भएकाले ग्यास आपूर्ति सहज बनाउन संघ र प्रदेश सरकारसँग समन्वय गर्न तथा तत्काल आपूर्ति सहज नभए विद्युतीय चुलो प्रयोग गर्न विद्युत् सेवा नियमित र भरपर्दो बनाउनसमेत प्रशासनसँग आग्रह गरिएको छ ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार