नेपाल प्रहरी श्रीमती संघको ४२औँ वार्षिकोत्सवको अवसरमा सुर्खेतस्थित मानव सेवा आश्रममा रहेका ८३ जनालाई भोजन गराइएको छ।
कर्णाली प्रदेश श्रीमती संघको आयोजनामा मंगलबार वीरेन्द्रनगर नगरपालिका–१२, नेवारेस्थित मानव सेवा आश्रममा भोजन कार्यक्रम गरिएको हो।
वार्षिकोत्सवलाई सामाजिक सेवा र मानवीय सहयोगसँग जोड्दै आश्रममा रहेका व्यक्तिहरूलाई भोजन गराइएको आयोजकले जनाएको छ। कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) जयराज सापकोटा, कर्णाली प्रदेश श्रीमती संघकी सचिव भूमिका तारामी मगरलगायत प्रहरी अधिकारी तथा संघका पदाधिकारी सहभागी थिए।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोख्रेल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजाल, कर्णाली प्रदेश प्रहरी गण सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक प्रेमसागर केसी र कर्णाली प्रदेश प्रहरी अस्पताल सुर्खेतका प्रहरी नायब उपरीक्षक डा. अमृतकुमार ठाकुरलगायत १५ जनाको टोली सहभागी भएको प्रहरीले जनाएको छ।
टोलीले मानव सेवा आश्रममा आश्रित ८३ जनालाई भोजन गराएको थियो। बिहान १० बजे सुरु भएको कार्यक्रम १०ः२५ बजे सम्पन्न भएको थियो।
नेपाल प्रहरी श्रीमती संघले सामाजिक सेवा, मानवीय सहयोग तथा विपन्न र असहाय व्यक्तिको सहयोगलाई आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत प्राथमिकता दिँदै आएको जनाएको छ। वार्षिकोत्सवका अवसरमा गरिएको भोजन कार्यक्रमले आश्रममा आश्रित व्यक्तिहरूलाई प्रत्यक्ष सहयोग पुर्याउनुका साथै सामाजिक सेवाप्रतिको प्रहरी परिवारको प्रतिबद्धता झल्काएको आयोजकको भनाइ छ।
















